लुम्बिनी


अर्घाखाँची दुर्घटनाका घाइतेको बयान- देउसी खेल्ने र हेर्नेलाई बसले सोहोरेर लग्यो, म दुई पांग्राबीच परेर बाँचेँ

अर्घाखाँची दुर्घटनाका घाइतेको बयान- देउसी खेल्ने र हेर्नेलाई बसले सोहोरेर लग्यो, म दुई पांग्राबीच परेर बाँचेँ

घाइते प्रकाश बेल्बासे सन्धिखर्कस्थित अर्घाखाँची अस्पतालमा। तस्बिर : अर्घाखाँची बुलेटिनको भिडिओबाट।


नेपालखबर
कात्तिक १९, २०८१ सोमबार २३:४४, काठमाडौँ

पात्रोमा तिहार सकिइसकेको थियो। यमपञ्चकलाई देशले बिदा गरिसकेको थियो। तर अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा पर्ने खिल्जी र असुरकोटको संगमस्थल उदयठाटीमा चौथी मेला लागिरहेको थियो।

मेलामा गाउँभरका आमा समूह, महिला, युवा समूह गरी करिब २५ वटा समूहका भैलो कार्यक्रम तथा नाचगान प्रदर्शन गरिएको थियो।

सडकभरि नाच्नेगाउने र रमाउनेको भिड थियो। देउसीका गीतमा चलिरहेको नृत्य हेर्न धेरैतिरबाट आएका स्थानीयहरू झुम्मिएका थिए। साँझको करिब ४ बजेको थियो। अचानक एउटा बस धुलो उडाउँदै आयो।

बस नियन्त्रणमा थिएन। बस नजिकै आइसकेपछि नाचिरहेका केही युवती भागेर ज्यान जोगाए। तर मेला भर्न आएका कयौँ दर्शक र देउसी समूहका सदस्यहरूले हुलमूलमा त्यहाँ के भइरहेको छ भन्नेसम्म थाहा पाएनन्। एकैपटक दर्जनौँ मान्छेलाई सोहोरेर बस अघि बढ्यो।

भूमिकास्थान नगरपालिका ६, खिल्जीका ३५ वर्षीय प्रकाश बेल्बासे पनि त्यहीँ देउसीभैलोको नृत्य हेरेर रमाइरहेका थिए। अकस्मात् बस उनी भएठाउँ आइपुग्यो। उनका आँखाकान एकसाथ बन्द भए। के भयो भन्ने थाहै पाएनन्। होस् नै उड्यो।

जब कसैले उनका खुट्टा तान्न थाल्यो, दुखेजस्तो अनुभव भयो। होसमा आउँदा त उनी बसको मुनि थिए।

उनले अर्घाखाँची अस्पतालको शय्यामै रहेर स्थानीय सञ्चारमाध्यमलाई भनेका छन्, ‘म देउसी हेर्दै थिएँ। बसले आएर सबैलाई सोहोर्दाखेरि म बीचमा परेँ। दुईवटा टायरको बीचमा परेँछु। माथिबाट बस गुडेछ। म होसमा आउँदा कसैले खुट्टामा समातेर बाहिर तान्दै थियो।’

सायद भाग्यले हात थापेको यसैलाई भन्छन्। आफूमाथिबाट बस गुड्दा पनि उनको ज्यान जोगियो। यति मात्र होइन, ठूलो चोट पनि सहनुपरेको छैन।

‘एक्सरे गरेर पनि हेरियो, मलाई खासै ठूलो चोट लागेको छैन,’ बेल्बासेको भनाइ छ, ‘सामान्य चोटपटक छ। मलाई चोट लागेको बसले नभएर दुर्घटनास्थलबाट उठ्दाखेरि खुट्टा घस्रिएको हो। भाग्यले मलाई टायरले छोएन।’ 

ठूलो भिडभाडका बीच रमिता हेरिरहेकाले उक्त घटना कसरी भयो भन्नेसम्म पत्तो नपाएको उनको भनाइ छ।

‘म बाँचेँछु। बस कसरी आयो भन्ने पनि जानकारी भएन। हामी अगाडिपट्टिबाट भैलो हेर्दै थियौँ,’ उनले भने।

सन्धिखर्कबाट प्युठान जाँदै गरेको ना ३ ख २४७१ नम्बरको यात्रुवाहक भैलो खेलिरहेको समूहकै बीचबाट अनियन्त्रित तवरले अघि बढ्दा यो दुर्घटना भएको थियो। घटनामा २ जनाको ज्यान गएको छ। कम्तीमा ३४ जना घाइते छन्। घाइतेमध्ये गम्भीर अवस्थाका १० जनालाई बुटवल रेफर गरिएको छ। एक जना डिस्चार्ज भएका छन् भने बाँकीलाई अर्घाखाँची अस्पतालमा राखेर उपचार भइरहेको छ।घाइतेका हातखुट्टा भाँचिएका र शरीरका विभिन्न भागमा घाउ तथा चाेटपटक रहेको छ। 

गाडी चालक फरार छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad