ad ad

लुम्बिनी


बालबालिका खेल्ने र रमाउने थलो ‘स्केट जोन’प्रति युवा र ज्येष्ठ नागरिकको पनि आकर्षण बढ्दो

बालबालिका खेल्ने र रमाउने थलो ‘स्केट जोन’प्रति युवा र ज्येष्ठ नागरिकको पनि आकर्षण बढ्दो

सुशीला रेग्मी/रासस
भदौ २२, २०८१ शनिबार ८:७, रामपुर (पाल्पा)

‘स्केट जोन’ बालबालिका खेल्ने र रमाउने थलो बनेको छ। पाल्पाको रामपुर नगरपालिका–५ बेझाड बजारमा सञ्चालनमा आएको रामपुर स्केट जोनमा बालबालिका मात्र नभई यतिबेला युवा तथा ज्येष्ठ नागरिकको पनि आकर्षण बढ्दो छ। यहाँ दैनिक खेल्नेको उत्साहजनक रूपमा सहभागिता बढेको छ।

फुर्सदको समय निकालेर स्केट जोनमा आएर खेल खेल्ने गरेको रामतलुसी नमुना माविमा कक्षा ९ मा पढ्ने छात्रा साकिया बानु बताउँछिन्। उनी विद्यालय खुलेका बेला साँझ-बिहान तथा बिदाका दिन दिउँसोमा यहाँ आएर खेल्ने गर्छिन्। ‘खेल खेल्दा शारीरिक तथा मानसिक रूपमा नै आनन्द महसुस हुन्छ, यहाँ खेल खेलेर घर गएपछि लेखपढ गर्न उत्साह थपिएको अनुभूति गरेको छु, समय मिलाएर आइराख्ने गरेको छु’, बानुले भनिन्। 

मदरसा नुरुल आधारभूत विद्यालयमा कक्षा ८ मा पढ्ने छात्रा अदिबा अन्जुम पनि घरमा गृहकार्य सकिएपछि पढाइ नबिग्रने गरी एक घण्टाको समय यहाँ आएर खेल्छिन्। अनावश्यक समय गाउँघरमा खेलेर, डुलेर, मोबाइल, टीभी हेरेर समय बिताउनभन्दा केही समय यहाँ आएर खेलेपछि उनलाई आनन्द लाग्ने गरेको छ। 

तीन महिनादेखि स्केट जोन सञ्चालनमा आएको छ। रामपुरका ६ युवाले आफ्नै गाउँठाउँमा नयाँ व्यवसाय गर्ने सोचका साथ दुई रोपनी जग्गा १० वर्षसम्मका लागि भाडामा लिएर व्यवसाय सुरु गरेका हुन्। करिब रु एक करोडको लगानीमा उक्त व्यवसाय सुरु गरिएको हो।

यहाँ दैनिक ७० देखि ८० जनासम्म खेल्न आउँछन्। बिदाका दिन दुई सयभन्दा व्यक्ति बढी आउने गरेको सञ्चालक अशोक श्रेष्ठ बताउँछन्। उनका अनुसार पाल्पाको रामपुर नगरपालिकासहित निस्दी गाउँपालिका, छिमेकी जिल्ला स्याङ्जाको चापाकोट, तनहुँको घिरिङ गाउँपालिकाबाट खेल्न आउने गरेका छन्। रामपुर सहरीकरणतर्फ उन्मुख हुँदै गएकाले नयाँ व्यवसायका रूपमा स्केट जोन सुरुवात गरेको सञ्चालक श्रेष्ठ बताउँछन्। 

‘व्यवसाय सुरु भएको करिब तीन महिना भएको छ, रामै्र चलेको छ, बालबालिका, युवा, ज्येष्ठ नागरिक सबै उमेर समूहको आकर्षण बढ्दो छ’, उनले भने, ‘जनघनत्व बढ्दै गएको रामपुरमा स्केट जोन सुरुआत गरेपछि मोबाइल, टीभी हेरेर समय बिताउने बालबालिका समय मिलाएर फुर्सदको समय यहाँ खेल्न व्यस्त बनेका छन्।’

रामपुरमा पहिलो र नौलो व्यवसाय भएकाले यहाँ खेल्न मात्रै नभई हेर्न पनि आउने गरेका छन्। बालबालिका, युवा, ज्येष्ठ नागरिक सबै उमेर समूहका नागरिक उत्साहका साथ खेल अवलोकन गर्न र खेल्न आउने गरेका छन्। 

टिकटको मूल्य एक घण्टाका लागि रु एक सय ५० कायम गरिएको छ। ग्राहकलाई ध्यानमा राख्दै आगामी दिनमा प्याकेजको कार्यक्रम ल्याउने तयारी रहेको सञ्चालक श्रेष्ठ बताउँछन्। व्यवसाय सञ्चालन गर्न आठ कर्मचारीको व्यवस्था गरिएको छ। यहाँ बिहान ७ देखि साँझ ९ बजेसम्म खेल्ने व्यवस्था छ। खेल खेल्दा सुरक्षाका लागि हेल्मेट, जुत्ता, हातखुट्टामा लगाउने सेफ्टी गार्डको व्यवस्था गरिएको छ। खेल्ने क्रममा चोटपटक लागेमा रु एक लाखसम्मको दुर्घटना बिमा समेत सञ्चालक श्रेष्ठ बताउँछन्। 

स्केट जोनमा आएर खेल्दा मन भित्रैदेखि आनन्दित हुने गरेको प्रवीण सेन बताउँछन्। उनी बेलाबेला यहाँ आएर खेल खेलेर आनन्द लिने गर्छन्। यो खेल स्वास्थ्यका लागि फाइदाजनक रहेको उनको भनाइ छ। ‘स्केट जोन रामपुरमा खुल्नु नै हाम्रो लागि खुसीको कुरा हो, खेल सकिएपछि शरीर फुर्तिलो र मन प्रफुल्ल हुन्छ’, उनले भने। 

बालबालिका विद्यालय छुट्टी भएपछि घरमा मोबाइल र टेलिभिजनमा व्यस्त हुन्थे। केही बालबालिका कुलतमा फस्ने स्थितिलाई यहाँ स्केट जोन सुरुवात गरिएपछि खेल्नतर्फ उनीहरूको ध्यान तानिएको छ। अहिले बालबालिकाको ध्यान बढी मोबाइलमा, टेलिभिजनमा केन्द्रित भएकाले त्यो बानी हटाउन स्केट जोन थालनी गरिको सञ्चालक सन्तोष पोखरेल बताउँछन्। 

उनी भन्छन्, ‘विद्यालय बिदाको दिन, साँझ सबहान समय मिलाएर बालबालिका आउने गर्छन्, शान्त वातावरण आनन्दले खेल खेलेर फर्कने गरेका छन्, फुर्सदको समय खेलमा बितेको छ।’

साथै सोही ठाउँमा रामपुर भीआर जोन सञ्चालन गर्ने उनको तयारी छ। रु २५ लाखको लगानीमा दसैँभन्दा अघि सञ्चालनमा ल्याउने गरी काम भइरहेको सञ्चालक पोखरेल बताउँछन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .