ad ad

लुम्बिनी


दाइले टिकट नपाएपछिका बागी सुरेन्द्र : पहिलो पटक संसद् पुग्दा राज्यमन्त्री, दोस्रोचोटि मन्त्री

दाइले टिकट नपाएपछिका बागी सुरेन्द्र : पहिलो पटक संसद् पुग्दा राज्यमन्त्री, दोस्रोचोटि मन्त्री

सुदीप भण्डारी
बैशाख २४, २०८० आइतबार १९:१९, बुटवल

२०४८ र ०५१ को दुईवटै संसदीय चुनावमा विष्णुराज आचार्य तत्कालिन कपिलवस्तु क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए। २०५६ सालमा विष्णुराजले टिकट पाएनन्। कांग्रेसले वीरेन्द्र कनोडियालाई उम्मेदवार बनायो। दाइ विष्णुले टिकट नपाएपछि भाइ सुरेन्द्र बागी उठे। तर कपिलवस्तु ३ मा कनोडियाले नै चुनाव जिते।

दोस्रो पटक २०७० सालको संविधान सभाको चुनावमा सुरेन्द्रराज आचार्यलाई कांग्रेसले टिकट दियो र विजयी पनि भए। सो कार्यकालको २०७३ मा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा सुरेन्द्रराज सिंचाइ राज्यमन्त्री भएका थिए।

सभासद र राज्यमन्त्री हुनुभन्दा अघि २०६७ सालमा कांग्रेस कपिलवस्तुको जिल्ला सभापति भइसकेका थिए। कांग्रेसको १२ औं महाधिवेशनबाट जिल्ला सभापति भएका आचार्य १३ औं महाधिवेशनमा पनि सोहि पदमा दोहोरिए।

कांग्रेसको विधानले तेस्रो पटक जिल्ला सभापति हुन दिएन। त्यसैले आचार्य प्रदेश समितितर्फ लागे। २०७८ सालमा भएको १४ औं महाधिशनमा कांग्रेसको लुम्बिनी प्रदेश महामन्त्री बने। आचार्यले पार्टी राजनीतिसँगै संसदीय राजनीतिमा पनि फड्को मारे।

२०७४ सालको चुनावमा कपिलवस्तु क्षेत्र नम्बर २ मा एमालेको सूर्य चिह्नबाट चुनाव लडेका बृजेशकुमार गुप्तासँग आचार्य पराजित भएका थिए। २०७९ साल मंसिरमा भएको संसदीय चुनावमा अघिल्लो नतिजा उल्टाउँदै आचार्यले गुप्तालाई हराए।

संसदीय चुनाव जितेको ५ महिनापछि यस पटक उनी मन्त्री बनेका छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनेका सुरेन्द्रराज आचार्यले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेका छन्।

कांग्रेसभित्र सुरेन्द्रराज बिगतदेखि नै वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल निकट हुन्। १४ औं महाधिवेशनको प्रदेश अधिवेशन हुँदासम्म देउवाइतर पक्षलाई पौडेल–कोइराला गुट भन्ने गरिन्थ्यो। उनी पौडेल–कोइराला गुटबाट चुनाव जितेर महामन्त्री भएका थिए। संस्थापन इतर भने पनि सुरेन्द्रराजलाई अहिले पनि रामचन्द्र पौडेल निकट मानिन्छ।

प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसले किस्ता किस्तामा मन्त्रीहरु पठाउँदा यो पटक सुरेन्द्रराज मन्त्री भएका छन्। कांग्रेसबाट कोइराला गगन पक्षले ३ मन्त्री दाबी गरेपनि २ मन्त्री मात्र पाएको थियो। गगन थापाले आफ्नो पक्षबाट बद्री पाण्डे, जीवन परियार र प्रदीप पौडेल मध्येबाट मन्त्री बनाउन खोजे पनि सफल भएनन्।

अर्कोतर्फ कांग्रेसले बनाएका मन्त्री मध्ये लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व नभएको कुरा पनि उठेको थियो। कपिलवस्तुका सुरेन्द्रराज मन्त्री हुँदा लुम्बिनी प्रदेशको प्रतिनिधित्व पनि भएको छ।

संयोग के परेको छ भने ७ वर्षअघि सुरेन्द्रराज राज्यमन्त्री बन्दा पुष्पकमल दाहाल प्रचण्ड नै प्रधानमन्त्री थिए। अहिले मन्त्री बन्दा पनि उनै प्रचण्डले सरकारको नेतृत्व गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .