ad ad

लुम्बिनी


तीन महिनामा लुम्बिनी आए ९० हजार पर्यटक, अधिकांश बस्दै नबसी फर्किए

तीन महिनामा लुम्बिनी आए ९० हजार पर्यटक, अधिकांश बस्दै नबसी फर्किए

सुदीप भण्डारी
चैत २३, २०७९ बिहिबार ११:२३, बुटवल

शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा तेस्रो मुलुकका पर्यटकको चहलपहल बढेको छ।

सन् २०२३ को तीन महिनामा करिब ९० हजार विदेशी पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्। जनवरी सुरु भएयता ६१ हजार १२२ भारतीय पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्। नेपाल र भारतबाहेक तेस्रो मुलुकबाट मात्र २८ हजार ८०६ जनाले लुम्बिनी भ्रमण गरेका छन्। यो संख्या अघिल्लो वर्षभरका कुल विदेशी पर्यटकभन्दा ५ हजार हो। 

सन् २०२२ मा २३ हजार ९४२ तेस्रो मुलुकका पर्यटक लुम्बिनी आएका थिए।

No description available.

जनवरी महिनामा तेस्रो मुलुकबाट ३ हजार ९८७ पर्यटक लुम्बिनी आएका थिए। फेब्रुअरीमा १२ हजार ५२२ र मार्चमा १२ हजार २९७ विदेशी पर्यटक आएको लुम्बिनी विकास कोषले जनाएको छ। 

एक वर्षअघि २०२२ को फेब्रुअरीमा ३०६ र मार्चमा ६२६ विदेशी पर्यटक मात्रै लुम्बिनी भ्रमणमा आएका थिए। 

लुम्बिनीमा तेस्रो मुलुकका पर्यटकको आगमन बढे पनि कोरोना सुरु हुनु अघिको अवस्थामा भने पर्यटन क्षेत्र पुगेको छैन। 

सन् २०१९ को फेब्रुअरीमा २५ हजार र मार्चमा २९ हजार राहादानी वाहक विदेशी पर्यटक लुम्बिनी आएका थिए। २०२० मा फेब्रुअरीमा २१ हजार विदेशी पर्यटक लुम्बिनी आएकोका थिए। चीनमा कोरोनाको प्रभाव बढ्दा मार्चमा उक्त संख्या ८ हजारमा झरेको थियो। कोरोनासँगै लकडाउनको कारण सोही वर्ष अप्रिलबाट भने लुम्बिनीको पर्यटन पनि ठप्प भयो।

त्यस बीचमा लकडाउन खुकुलो हुँदा नगन्य मात्रामा पर्यटक आएका थिए। २०२१ को वर्षभर विदेशी पर्यटक आगमन ११ सय मात्र रह्यो। 
३ वर्ष सुस्ताएको बुद्धजन्मस्थल लुम्बिनीको पर्यटन क्षेत्रमा अहिले आशाको किरण देखा परेको छ। 

अहिले सबैभन्दा बढी थाइल्याण्डबाट ७ हजार ७६० पर्यटक आएका छन्।

श्रीलंकाका ५ हजार १५८, म्यानमारका ४ हजार ३४२, भियत्नामबाट २ हजार ९११ र दक्षिण कोरियाका २ हजार ८८५ जनाले लुम्बिनी भ्रमण गरेका छन्। अरु मुलुकको संख्या हजारभन्दा कम छ।

चिनियाँ पर्यटकको संख्या भने बढ्न सकेको छैन। यो अवधिमा चीनबाट ३६९ जना पर्यटक मात्रै नेपाल आए।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले कोषले हालै गरेको केही कार्यक्रमले पनि विदेशी पर्यटकको आगमन बढेको बताए। ‘कोरियन र थाइ पर्यटकलाई केन्द्रीत गरेर कार्यक्रम गरेका थियौँ। यसले पनि पर्यटकहरुको संख्या बढेको छ,’ उनले भने ‘आगामी दिनमा पर्यटकको संख्या अझै बढ्ने संकेत देखिएको छ।'

No description available.

यो तीन महिनामा मुलुकभित्रैबाट ३ महिनामा १ लाख ७६ जना लुम्बिनी घुम्न आएका छन्।  

पर्यटकहरुको आगमनले लुम्बिनीको होटल पनि पहिले भन्दा केही चलायनमान देखिएका छन्। तर आएर अडिने खालका पर्यटक खासै नआएको होटल संघ लुम्बिनीका अध्यक्ष गोबिन्द ज्ञवालीले बताए। उनकाअनुसार अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि होटल थपिए तर विमानस्थल पूर्ण सञ्चालन नआउँदा पर्यटक बस्दै नबसी फर्किन थालेका हुन्। पर्यटकको संख्या बढे पनि होटलका भने ५० प्रतिशत कोठा खाली नै हुने गरेको व्यवसायीले बताएका छन्। 

‘भारतीयसँगै तेस्रो मुलुकका पर्यटकको लुम्बिनीमा चलायमान भएको छ। तर 'स्टे' छैन। आएर फर्किहाल्ने खालका छन्,’ उनले भने ‘होटलका ५० प्रतिशत कोठा पनि छैन। तर केही आशलाग्दो छ।’ 

पर्यटनविद् डा. गीतु गिरीले कोभिड जस्तो संक्रमण नफैलिए र यहाँ पर्यटकीय वातावरण तयार गरेमा लुम्बिनीमा पर्यटनको संकेत राम्रो देखिएको बताए। ‘अहिले भैरहवाबाट लुम्बिनी जाने पुलहरू नबन्दा अफ्ठ्यारो अवस्था छ। अन्तराष्ट्रिय विमानस्थल चल्नुपर्यो। पर्यटकहरुलाई गर्ने व्यवहार र सद्भाव पनि राम्रो हुनुपर्यो।’ 

भैरहवामा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल तयार भए पनि पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन। कुवेतको जजिरा एयरले हप्तामा ३ पटक उडान गरेको छ। अरु उडानहरु पनि थपेर अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउने हो भने लुम्बिनीमा खर्च गर्ने खालका गुणस्तरीय पर्यटक आउने भैरहवाका पर्यटन व्यवसायी तथा सोसाइटि अफ ट्राभल एन्ड टुर अप्रेटर (सोटो)का लुम्बिनी प्रदेश अध्यक्ष सञ्जय बजिमयको भनाइ छ।

‘एयरपोर्ट राम्रोसँग नचल्दासम्म हप्तादिन बस्नेगरी क्वालिटी टुरीष्ट आउँदैन। अहिले जति आएको छ धेरै उतीखेरै फर्किने खालका छन्,' उनले भने ‘फ्लाइटमा आउने पर्यटक त होटल बुकिङ गरेर भिसा लिएर केही दिन बस्ने गरि आउँछन्।’ स्थलमार्ग भएर आउने विदेशी पर्यटक कम खर्चालु हुने बजिमयको भनाइ छ। 

लुम्बिनीमा फेब्रुअरी, मार्च, अक्टोवर र नोभेम्वर महिना पर्यटक आगमनको राम्रो सिजन मानिन्छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .