ad ad

लुम्बिनी


उद्घाटन भएको ५ महिना बितिसक्दा पनि सञ्चालनमा आएन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

मासिक खर्च १२ लाख
उद्घाटन भएको ५ महिना बितिसक्दा पनि सञ्चालनमा आएन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

सुदीप भण्डारी
माघ १७, २०७९ मंगलबार १९:३२, बुटवल

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटन भएको ५ महिना भइसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन। गत भदौ ११ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गरेका थिए। 

उद्घाटन समारोहमै यसको सञ्चालनमा ढिलाइ हुन नहुने, कार्यविधि छिटो बन्नुपर्ने कुरा उठेको थियो। तर हालसम्म कार्यविधि बन्न नसक्दा बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा कार्यक्रमहरु हुन सकेको छैन।

भदौमा भएको उद्घाटन समारोहपछि सम्मेलन केन्द्रमा गत पुस १५ र १६ गते रोट्याक्ट क्लबहरुको सम्मेलन भएको थियो। त्यसबेला सरसफाइ, सुरक्षा लगायतको व्यवस्थापन समेत आयोजकले नै गर्ने गरी रोट्याक्टलाई कार्यक्रम गर्न दिइएको थियो। कार्यविधि नबनेको र हलको स्वामित्व कसैले नलिएको अवस्थामा कार्यक्रमको लागि दिन गाह्रो हुने गर्दछ। 

१ अर्ब ११ करोडको लागतमा तयार भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले विजनेस नपाउँदा टाढाबाट फोटो खिच्ने ठाउँ जस्तो मात्र भएको छ। 

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कशजुले सम्मेलन केन्द्र सञ्चालन नभई वेवारिसे जस्तो बन्दा दुःख लागेको बताए। 

‘त्यतीका लगानी भएको, केही कार्यक्रम हुन सकेको छैन। कसरी चलाउने हो छिटो भन्दा छिटो चलाउन पर्यो भनेर हामीले कुरा गरिरहेका छौं’ उनले भने, ‘छिटो सञ्चालन भएर केही राष्ट्रिय र दुई चारवटा अन्तर्राष्ट्रिय कार्यक्रम हुन्थ्यो भने आर्थिक मन्दीमा बुटवलका व्यवसायीलाई पनि राहात हुन्थ्यो।’ 

बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले आफूहरुलाई दिएमा चलाउन तयार रहेको भन्दै अरु प्रक्रियाबाट सञ्चालन हुने भएपनि ढिलाइ हुन नहुने बताए। 

‘हामीलाई चलाउन दिए तयार छौं भनेर उहिले भनेका हौं। उहाँहरुले चलाउने भएपनि छिटो चलाए हुने’ उनले भने, ‘सञ्चालन नहुँदा परिसर जीर्ण होला, उपकरणहरु काम नलाग्ने होला। त्यसैले छिटो निर्णय गर्दा हुन्थ्यो।’ 

शहरी विकास मन्त्रालयले यसको कार्यविधिको मस्यौदा बनाएर सहमतिको लागि अर्थ मन्त्रालयमा पठाएको मन्त्रालयका भवन शाखाका सिनियर डिभिजन इन्जिनियर चन्द्रशेखर महतोले बताए। 

‘विभागबाट आएको कार्यविधि सहमतिको लागि अर्थ मन्त्रालयमा पठाएका छौं। अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएको छैन’ उनले भने, ‘सहमति प्राप्त भएपछि मन्त्रिपरिषदमा स्वीकृतिको लागि पठाइन्छ। स्वीकृत भएपछि सञ्चालनमा आउने हो।’ 

भवन डिभिजन विभागले गत जेठ महिनामा सम्मेलन केन्द्र सञ्चालनको लागि कार्यविधिको मस्यौदा बनाएको थियो। त्यसबेला रायसुझावको आधारमा यहाँको बुटवल उपमहानगरपालिकालाई सञ्चालन गर्न दिने गरि कार्यविधि बनाइएको र पछि परिवर्तन भएको आयोजना प्रमुख पन्थीले बताए। 

‘कार्यविधिको लागि हामीले रायसुझाव मागेका थियौं। बुटवल उपमहानगरपालिकाले पनि सञ्चालन गर्न तयार छौं भनेको थियो। त्यही अनुसार प्रस्ताव गरेका थियौं’ उनले भने, ‘पछि सभाहल सञ्चालनको मापदण्ड अनुसार कार्यविधि परिवर्तन गर्नुपर्यो।’ 

सभाहल सञ्चालन सम्बन्धी सरकारले बनाएको मापदण्ड अनुसार ५ सय सिट क्षमतासम्मको सभाहललाई गाउँपालिका वा नगरपालिकाले सञ्चालन गर्ने उल्लेख छ। त्यस्तै, उपमहानगरलाई ७ सय सिट क्षमतासम्मको र महानगरपालिकालाई १ हजार सिट क्षमताको सभाहल सञ्चालन गर्न दिन सक्ने उल्लेख छ।

त्यो भन्दा माथिको विकास समिति मार्फत सञ्चालन गर्न सकिने मापदण्ड छ। 

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको मुख्य हल एक हजार सिट क्षमताको छ। मापदण्ड अनुसार उपमहानगरले ७ सय सिट क्षमताको हल मात्र सञ्चालन गर्न पाउने भएपछि विकास समिति मार्फत सञ्चालन गर्ने गरि कार्यविधि परिवर्तन गरेको सम्मेलन केन्द्रका आयोजना प्रमुख धर्वेन्द्र पन्थीले बताए। 

‘महानगरपालिका भए बुटवलले सञ्चालन गर्न सक्ने अवस्था हुन्थ्यो। उपमहानगर भएकाले मापदण्ड अनुसार विकास समिति मार्फत चलाउनुपर्ने भयो’ उनले भने।  

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालनमा नआउँदा पनि रेखदेख र सरसफाइ खर्च हुने गर्दछ। सम्मेलन केन्द्र परिसरमा दुबो कटिङ र पानी हाल्ने, रुखहरुको गोडमेल गर्ने, सरसफाइ र रेखदेखको लागि सुरक्षा गरेर १८ जना कर्मचारी खटिएका छन्। त्यस्तै, जडान भएको बिजुली नबालेपनि महिनाको ८४ हजार प्राधिकरणलाई तिर्नुपर्ने हुन्छ। 

यहि अवस्थामा पनि अहिले मासिक खर्च १२ लाख जति हुन्छ। दुबो कटिङ, अन्य मर्मत सम्भार लगायतका काम एक वर्षसम्म निर्माण कम्पनीकै तर्फबाट हुने सम्झौता भएको छ। 

‘अहिलेलाई निर्माण कम्पनीले गरेपनि असारपछि हल कसैको स्वामित्वमा गएन भने खर्च धान्न गाह्रो हुन्छ’ आयोजना प्रमुख पन्थीले भने।      
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .