रूपन्देहीको भैहरवामा प्युठानकी एक युवतीको रहस्यमय मृत्यु भएको छ। सिद्धार्थनगर–१३ हाटबजारमा प्यूठान नगरपालिका–५ जुम्रिकाँढा पूर्णगाउँकी २२ वर्षीया लालमती खत्री क्षेत्री एक हप्ताअघि मृत फेला परेकी थिइन्।
उनको शव झुण्डिएको अवस्थामा फेला परेको थियो। परिवारले लालमतीको हत्या भएको दाबी गरेको छ। हत्या भएको भन्दै सिद्धार्थनगर नगरपालिका–१ का ३० वर्षीय जोर्डनविक्रम श्रेष्ठको नाममा परिवारले किटानी जाहेरी गरेपनि प्रहरीले दर्ता गर्न मानेको छैन।
लालमतीले २ वर्षदेखि भैरहवामा लक्ष्मी बुटिक टेलरिङ सेन्टर सञ्चालन गर्दै आएकी थिइन्।
बहिनीले आफ्नै कारणले आत्महत्या नगरेको भन्दै कोठामा भेटिएका प्रमाणसहित ८ दिनदेखि न्यायको खोजीमा भौतारिएको कान्छो दाइ टेकराज केसीले बताए।
‘हामीले पटक–पटक आग्रह गर्दा पनि किटानी जाहेरी दर्ता गर्न प्रहरीले मानेको छैन’ उनले गुनासो गरे।
लालमती घरकी राइली छोरी हुन्।
पर्याप्त प्रमाण नभएको भन्दै जाहेरी लिन नमानेको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक दीपक कुँवरले आत्महत्या दुरूत्साहनमा किटानी जाहेरी परे पनि आवश्यक कागजात नपुगेको र घट्नाको अनुसन्धान भइरहेको बताए।
लालमती बस्ने कोठामा आरोपित व्यक्तिको नेपाली नागरिकता र सेतो गन्जीको कपडा भेटिएको छ।
बहिनी र आरोपित व्यक्तिको बीचमा भिडियो च्याटको कुराकानी, बहिनी बस्ने कोठामा भेटिएको कपडा लगाएर बनाएको भिडिओ र सार्थक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भैरहवामा दुवै जनाले गरेको बचत पासबूक परिवारले प्रहरीलाई दिएका छन्।
छिमेकीका अनुसार अघिल्लो साँझसम्म आरोपित व्यक्ति मृतकको कोठामा थिए। १ महिनादेखि विवाह गरेको भनेर सँगै बस्दै आएको लालमतीले छिमेकीसँग भन्दै आएकी थिइन्।
आरोपित युवा र मृतक युवतीबीच गरिएका भिडिओ, म्यासेजमा गरिएका कुराकानी, सँगै बसेका फोटा लगायत प्रमाणले उनीहरू प्रेम सम्बन्धमा रहेको बुझिएको छ। युवतीको शव अहिले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ।
Shares

प्रतिक्रिया