ad ad

लुम्बिनी


रुपन्देही सीमामा सुरक्षा कडा

रुपन्देही सीमामा सुरक्षा कडा

रुपन्देहीको सीमा नाका बेलहिया। तस्बिर : रासस


नेपालखबर
मंसिर ३, २०७९ शनिबार ८:४२, भैरहवा

आइतबार हुने मतदानलाई लक्ष्य गरी रुपन्देहीको सीमा नाका बेलहियामा सुरक्षा कडा बनाइएको छ। सीमामा कडाइ गरिएसँगै दुवैतर्फ मालवाहक गाडीको लामो लाइन लागेको छ। नेपालबाट भारत जाने खाली गाडीका साथै नेपाल भ्रमणमा आएका भारतीय पर्यटक र नेपालमा मतदानका लागि आउँदै गरेका नेपाली पनि रोकिएका छन्।

मङ्सिर १ गते राति १२ बजेदेखि नेपाल–भारत सीमा बन्द हुने भनिए पनि व्यावहारिक रूपमा त्यो सम्भव नहुने देखेपछि कडा जाँच गरी सुरक्षाकर्मीले दुवैतर्फका सर्वसाधारणलाई आवागमन गर्न दिएका छन्। 

रुपन्देहीको सीमा नाका बेलहिया। तस्बिर : रासस

सीमामै भेटिएका रुपन्देहीका सशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठले बिरामी, बिरामी बोकेको गाडी, अत्यावश्यक सामान बोकेका मालवाहक गाडी, नेपालमा रहेका भारतीय र भारतमा रहेका नेपाली मतदातालाई केही बेर ‘होल्ड’ गरी आवागमन गर्न दिइएको बताए। 

सीमामा नेपालबाट भारत फर्किने मालवाहक ट्रकको लामो लाइन लागेको छ। ती ट्रकलाई भारतको समन्वयमा भारत पुर्‍याउने तयारी भइरहेको छ। शुक्रबार र शनिबार केही छुट रहे पनि मतदानको दिन भने पूर्ण रूपमा आवागमन ठप्प बनाउने श्रेष्ठले बताए। “भारतीय गाडी नेपालमा राख्दा सुरक्षा चुनौती त हुन्छ नै उनीहरूलाई पनि अप्ठ्यारो हुन्छ”, श्रेष्ठले भने, “भारतीय सुरक्षा निकायको समन्वयमा यिनीहरूलाई पठाउने व्यवस्था हुन्छ।” 

नेपाल र भारतका सुरक्षाकर्मीसँगै भारतीय उच्च अधिकारीले पनि सीमामा निगरानी गरिरहेका छन्। भारत महाराजगन्जका सहायक डिस्ट्रिक्ट मजिस्ट्रेट दिनेशकुमार मिश्रले पनि नेपालमा हुने निर्वाचनका क्रममा भारतबाट पूर्ण रूपमा सहयोग र समन्वय रहने बताए।

रुपन्देहीमा करिब ६० किलोमिटर नेपाल र भारतबीच खुला सीमा छ। यी सीमा नाकामा अहिले सशस्त्र प्रहरीसँगै नेपाल प्रहरी पनि खटेको छ। मङ्सिर ४ गते हुने आमनिर्वाचनलाई लिएर रुपन्देहीका विभिन्न मतदान केन्द्रको निर्माण तीव्र बनाइएको छ। 

रुपन्देहीका सात सय दुई मतदान केन्द्रमा आठ कर्मचारीका दरले बिहीबारदेखि नै कर्मचारी मतदान केन्द्र पुगिसकेको जिल्ला निर्वाचन अधिकृत अयोध्याप्रसाद भण्डारीले जानकारी दिए। फिल्डमा सुरक्षाकर्मीसहित पुगेको मतदान अधिकृतको टोलीले निर्वाचनलाई सफल बनाउन विभिन्न मुचुल्का बनाई टाँस गरेको छ।

मतदान अधिकृतको टोलीले स्थानीय राजनीतिक दलहरूसँग शुक्रबार सर्वदलीय छलफलसमेत गरेको बेलहिया माविमा खटेका मतदान अधिकृत जगतबहादुर बस्नेतले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .