लुम्बिनी


घनश्याम भुसालको टिकट खोसेर दीपक बोहोरालाई !

घनश्याम भुसालको टिकट खोसेर दीपक बोहोरालाई !

नेपालखबर
असोज २२, २०७९ शनिबार १२:०, बुटवल

गत ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमाले नेता घनश्याम भुसालले रुपन्देही ३ बाट राप्रपाका नेता दीपक बोहोरालाई संसदमा आउनबाट रोकेका थिए । भुसालले ३२ हजार ८६६ मत ल्याएर जित्दा बोहोराले २७ हजार ४२२ मत ल्याए र हारे ।

आगामी मंसिर ४ मा हुने आम निर्वाचनमा भने एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका नेता भुसालको टिकट खोसेर नामूद पञ्च बोहोरालाई सघाउने निर्णय गरेका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग तीन सिटमा चुनावी तालमेल गर्ने क्रममा ओलीले भुसालको टिकट खोसेर राप्रपा नेता बोहोरालाई सघाउने निर्णय लिएका हुन् ।

झापा क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष लिङदेनलाई सघाएर क्षेत्र नम्बर ५ को भोट आफूले लिने र जित्ने रणनीति अन्तर्गत ओलीले राप्रपालाई उपयोग गर्ने नीति ०७४ सालदेखि नै लिँदै आएका छन् । यसक्रममा झापा ५ मा आफ्नो सिट सुरक्षित गर्दै ओलीले रुपन्देही ३ मा घनश्याम भुसालको सिट दाऊमा लगाइदिएका हुन् ।

एमाले अध्यक्ष ओलीले बाँकेमा नेपालगञ्जका पूर्वमेयर समेत रहेका राप्रपा नेता धवलशमशेर जबरालाई पनि सघाउने निर्णय गरेका छन् । लिङदेन, बोहोरा र जबरासमेत तीन जनालाई एमालेले प्रतिनिधिसभामा ल्याउने जिम्मा लिएको छ ।

राप्रपाले यी तीन सिटबाहेक देशैभरि उम्मेदवारी दिने र कम्तिमा आधादर्जन सिटका साथ राष्ट्रिय पार्टी बनेर संसदबाट राजतन्त्रको नारा बुदल्न गर्ने नीति लिएको छ । राप्रपाको यो दक्षिणपन्थी यात्रालाई ओलीले साथ दिने भएका छन् ।

पूर्वपञ्च दीपक बोहोरा नेपाली राजनीतिका एक विकृत पात्र मानिन्छन् । पञ्चायतकालमा मात्र होइन, बहुदल आइसकेपछि पनि उनी निरन्तर सत्तामा छन् । आपूर्ति मन्त्री भएका बेला आयल निगमको जग्गा खरीद प्रकरणमा भ्रष्टाचार गरेको आरोप उनीमाथि लागेको छ ।

तर, रुपन्देही ३ का एमाले कार्यकर्ताले अब आफ्ना निवर्तमान सांसद घनश्याम भुसालको साटो उनै पूर्वपञ्च बोहोरालाई मतदान गर्नुपर्ने भएको छ । सायद राजनीतिमा कहिलेकाहीँ यस्तो पनि हुँदोरहेछ ।

एमालेका बैचारिक एवं सादगी नेता भुसाललाई रुपन्देही ३ बाट कार्यकर्ताहरुले उम्मेदवार बनाउन केन्द्रमा सिफारिस पठाएका थिए । तर, स्थानीय पार्टीको निर्णय सुनुवाई नगरी केन्द्रले भुसालको ठाउँ राप्रपालाई छाडिदिने निर्णय गर्यो ।

त्यसो त भुसालको ठाउँमा बोहोरालाई उठाउने निर्णय लिनमा एउमाले नेता विष्णु पौडेलको पनि हात रहेको बताइन्छ । स्थानीय एमाले नेताका अनुसार पौडेलको सम्बन्ध आफ्नै पार्टीका नेता भुसालसँग भन्दा दीपक बोहोरासँग राम्रो रहँदै आएको छ ।

एमालेले रुपन्देही ३ को साटो चितवन ३ मा विक्रम पाण्डेलाई सघाएको भए पनि रापैपाले मान्ने नेताहरु बताउँछन् । तर, प्रचण्डले छाडिसकेको चितवन ३ मा विक्रम पाण्डेलाई सघाउन ओली सहमत भएनन् बरु घनश्याम भुसाललाई साइड लगाउने गरी उनले रुपन्देही ३ मा बोहोरालाई सघाउने निर्णय लिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .