लुम्बिनी


राप्ती नदीको सतह उच्च, नागरिकलाई आश्रयस्थलतर्फ जान अनुरोध

राप्ती नदीको सतह उच्च, नागरिकलाई आश्रयस्थलतर्फ जान अनुरोध

नेपालखबर
असोज २१, २०७९ शुक्रबार १८:५३, काठमाडौँ

तीन दिनको झरीसँगै आज बिहानदेखि परेको भीषण वर्षाले राप्ती नदीको सतह ह्वात्तै बढेपछि तटीय क्षेत्रका नागरिक त्रसित भएका छन् । वर्षाका कारण राप्ती नदीमा खतराको तह पार भई आकस्मिक साइरन बजेको छ । स्थानीय प्रशासनले बाढी आउने निश्चित भइसकेकाले अग्लो तथा आश्रयस्थलमा जान आग्रह गरेको छ ।  

वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतह आठ मिटर पार गरेको छ । राप्ती नदीमा पानीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ । आज शुक्रबार बिहान विस्तारै घटे पनि भारी वर्षा भएपछि दिउँसोदखि कुसुममा नदीको सतह अहिले आठ मिटर पुगेको बाँकेस्थित जलमापन केन्द्रले जनाएको छ । 

नदीको बहाव उच्चरूपमा बढेपछि जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले शुक्रबार एक सूचना निकालेर नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले सूचना जारी गर्दै राप्ती नदी तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरे । प्रजिअ खत्रीले नदी किनारको तल्लो तटीय क्षेत्रमा नदी किनारमा जाने, दाउरा छोप्ने, नुहाउने, माछा मार्नेजस्ता कार्य नगर्न सबैमा आग्रह गरे । साथै होचो तथा डुबान हुने, बाढीको उच्च जोखिम पहिचान भएका समुदाय सुरक्षित स्थान पहिचान भएको आश्रयस्थलमा जानसमेत उनले आग्रह गरे । 

राप्ती नदीको माथिल्लो तटीय तथा तल्लो तटीय क्षेत्रसमेतमा भारी वर्षा भइरहेकाले पश्चिम राप्तीमा पानीको सतह थप बढ्ने पूर्वानमान रहेकाले आसपासका नागरिकलाई उच्च सतर्कताका लागि सूचना प्रवाह गरिएको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । राप्ती नदीको बाढीले नदी आसपासको क्षेत्र डुडुवा, नरैनापुर र राप्तीसोनारी गाउँपालिकाका अधिकांश गाउँ डुबानमा पर्ने गर्दछन् । 

बाढी र डुबान शुरु भएपछि त्यस आसपास क्षेत्रका सर्वसाधारण त्रसित बनेका छन् । भारी वर्षाले नेपालगञ्ज नगरका अधिकांश स्थान जलमग्न भएका छन् । नेपालगञ्जको न्युरोड, एमपी स्कुलरोड, फुल्टेक्रा, सेतु विक चोक, धम्बोझी बेलासपुर, कोरियनपुर, कारकादो, रानीतलाउलगायतका स्थान तथा सडक जलमग्न भएपछि सर्वसाधारणलाई आवत जावतमा समस्या भएको छ । 

वर्षाले नरैनापुर, खजुरा, कोहलपुर, जानकी, बैजनाथ गाउँपालिकाका अधिकांश स्थान जलमग्न भएको प्रहरीले जनाएको छ । बाढी र डुबानबाट बचाउन तथा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहितको उद्धार टोली खटाई उच्च सतर्कता अवस्थामा राखिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad