ad ad

लुम्बिनी


न्यायिक समिति गठन विवादले पारित भएन तिलोत्तमाको बजेट

न्यायिक समिति गठन विवादले पारित भएन तिलोत्तमाको बजेट

सुदीप भण्डारी
असार ३२, २०७९ शनिबार १४:८, बुटवल

नेपाली कांग्रेस र नेकपा एमालेको विवादका कारण रुपन्देहीको तिलोत्तमा नगरपालिकाको बजेट पारित हुन सकेको छैन।

शुक्रबार बजेट पारित गर्न नगरसभाको बैठक बोलाइएको थियो।  

एमालेबाट निर्वाचित नगर सभा सदस्यहरुले उक्त बैठकमा न्यायिक समिति लगायत चारवटा विषयगत समिति गठनलाई पनि कार्यसूचीमा राख्न आग्रह गरेको थियो।

तर नगरप्रमुख रामकृष्ण खाणले बजेटको प्रक्रिया मात्र अघि बढाउन खोजेका थिए।  

एमालेका जनप्रतिनिधिहरु नमान्दा नगरप्रमुख खाणले गणपूरक संख्या नपुगेको भन्दै शुक्रबार को बैठक स्थगित गरेका थिए। 

कांग्रेसबाट निर्वाचित तिलोत्तमा २ का वडाध्यक्ष डिल बहादुर भट्टराईले एमालेका नगर सभा सदस्यहरुले बैठकमा उपस्थित नजनाउँदा बैठक स्थगित भएको बताए।

'१ बजे बैठक बोलाइएको थियो। साढे दुई तिन बजेतिर आए पनि बैठकमा सहभागी हुनुभएन। नगर प्रमुखले बैठक स्थगित गरे।' उनले भने। 

नगरप्रमुख खाणले बैठक स्थगित गरेर साउन १ गते बैठक बोलाएपछि यसै आर्थिक वर्षभित्र बजेट पारित हुन सकेन। 

यता एमालेले भने नगर प्रमुखले फर्जी माइन्युट देखाएर गणपूरक संख्या नपुगेको देखाएर बैठक स्थगित गरेको आरोप लगाएको छ।  

नगर सभा बैठकको माइन्यूटमा ८८ जनाको हस्ताक्षर भएकोमा नगरप्रमुख खाडले नगरसभाको हल बाहिर छुट्टै फर्जी माइन्यूट खडा गरी ४१ जनाको हस्ताक्षर गराएर गणपूरक संख्या नपुगेको भन्दै नगर सभा स्थगित गरेको नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले जानकारी दिइन्। 

नगरसभाले गठन गर्नुपर्ने विषयगत समितिलाई बेवास्ता गर्ने गरी वैधानिक व्यवस्था विपरित अघि खोजेको उनले आरोप लगाइन्।

तर वडाध्यक्ष भट्टराईले भने सुरुमा ४१ जनाको हस्ताक्षर भएको र बैठक पछि माइन्युटमा थपेको प्रतिक्रिया दिए।

बजेट पारितमा विवाद हुन नसक्नुको मुख्य विवाद न्यायिक समितिको विषयमा हो।

न्यायिक समितिमा उपप्रमुख सहित ३ सदस्य हुन्छन् ।

त्यसमा कांग्रेसको एक जना राख्नुपर्ने नगरप्रमुख खाणको दाबी छ।

तर एमालेले नगरसभाको बहुमतबाट निर्णय गर्नुपर्ने भन्दै तीनै जना आफ्नै राख्न खोजेको छ।

तिलोत्तमामा मेयर कांग्रेसले जितेको भएपनि उपप्रमुख सहित नगरसभामा एमालेको बहुमत छ। 

असार १० गते उपप्रमुख चौधरीले नगरसभामा बजेट प्रस्तुत गरेपछि त्यसका लागि छलफल तथा पारित गर्न असार २१ गते नगरसभाको बैठक आह्वान गरिएको थियो।

तर बैठक पटक पटक स्थगित हुँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .