NepalKhabar NepalKhabar

साहित्य


गौँथलीको कथा

गौँथलीको कथा

लेखक


गीतु गैरे
असार ३२ , काठमाडौँ

हस्पिटलको ड्युटी सकेर भर्खर आइपुगेको थिएँ।

लेख्नु, पढ्नु, चिन्तन , मनन मेरा बानी बनिसकेका थिए तर, मेरो व्यस्तता यति उग्र भएको थियाे कि  खाना पनि आरामसँग नपाएको हप्ता दिनजस्तो भएको थियो। 

परिवारलाई राम्रोसँग समय नदिएको, बच्चासँग समय नबिताएको भनेर श्रीमतीज्यूको दिनदिनको किचकिचले वाक्क पारेको थियाे।  

डाक्टरी पेसा, सजिलो कहाँ छ र? आफैँलाई त समय दिन सकेको थिइनँ।  

यसैयसै विरक्त लागेको थियो,असहज र निराश थिएँ।  जीवनदेखि थाकेजस्तो अनुभूति गरेको थिएँ।

आफैँदेखि रिसाउने भएको थिएँ। बदलामा म सानी छोरीसँग समेत बेलाबेला झर्कने भएको थिएँ।  

परिवार ,बालबच्चा,काम, जिम्मेवारी, जागिर यस्ता विषयको सायद असल व्यवस्थापन गर्न चुकेको हुनुपर्छ।  यस्तो बेला म कि अक्षरमा भावना पोख्थेँ की कुनै शान्त ठाउँतिर मेरा पाइला अघि सर्थे। 

आज भने केही लेखेर मन हल्का गर्छु भन्ने सोचेर डायरी नै लिएर बसेँ तर एक शब्द लेख्न सकिनँ। झन् निराश हुन थालेँ। निराशपनले गाँजेको बेला म जहिले भूकम्प जाँदाको समय सम्झिन्थेँ र केही राहत मिल्थ्यो। यत्तिकैमा झट्ट दिमागले सोच्यो- यही कुरा किन नलेख्ने बरु ? यसरी मैले डायरीका पानाहरू भरे।

हस्पिटलको कोलाहल पूर्ण पर्यावरण र संवेदनाका पोकाहरु , यसले फैलाउने छुट्टै गन्ध, सधैँको काम र एकनासको  जीवनशैलीले  गर्दा पढाइ सक्नेबित्तिकै यो भीडभन्दा,सहरभन्दा केही पर गएर बाँचौ केही समय त  भन्ने लागेको थियो।

भर्खर मात्र एमडी सकेँ। अब पेपरमा उतार्नुपर्ने परीक्षा सकिए, बल्ल जीवनको परीक्षा सुरु भएको महसुस भयाे।

यत्रो वर्षसम्मको मिहिनेतले केही त बने तर मलाई अब समाजलाई केही दिनु थियो। प्रकृतिको न्यानोपनलाई स्पर्श गर्न मलाई हतारो थियो। समाज बुझ्नु थियो- जसले मेरो दुवै सपनालाई टेवा पुर्‍याउँथ्यो। एमडीको परीक्षा सकिएपछि रिजल्टको पर्खाइमा मेरो दिनचर्या यिनै कुरालाई सोची बस्दै बित्थ्यो।

दुईचार पुस्तक पढ्यो, दुईचार शब्द कोर्यो, दिन ढल्किहाल्थ्यो।

झन्डै दुई दर्जन नयाँ पुराना नेपाली किताब पढिसकेको थिएँ। आफ्नो किताबलाई पनि केही समय दिइरहेको थिएँ। खाका कोर्दे थिएँ।

दिनहरू राम्रो चल्दै थिए। मेरो जीवनको मालिक मै हुँ भन्ने बल्लतल्ल आभास गर्दै थिएँ। यत्तिकैमा रिजल्ट आयो। एक हिसाबले यत्रो वर्षदेखि मेहनत खुसी त थिएँ नै तर अब फेरि किताबलाई समय दिन नपाउँदा दु :खी भएँ।

परिवारसँग खुसी साटेर , खाइवरी आफ्नो कोठामा के पुगेको थिए, प्लस टु पढ्दाको निकै मिल्ने साथी सफलले कल हान्यो।
निकै समय भएको थियो कुराकानी नभएको पनि , व्यस्त थियो सायद , नामजस्तै जीवन बनाउनका लागि हेल्लो (अ बधाइ छ है डाक्टर साप 
-उसले सुरुमै बधाई दियो, फेसबुकमा पोस्टाउन भ्याइसकेको थिएँ सायद बधाइ दिन फोन गरेको होला भन्ने अक्कल काटेँ। म  धन्यवाद , के छ तेरो खबर?

सफल- ठीकै छ यार , सुन न बरु एउटा कुरा थियो, म त कामको अफर गर्न लागेको। भूकम्प प्रभावित क्षेत्रमा जान पर्यो त हाम्रो आइन्जिओमार्फत। समय पनि छ महिना हो खर्चपानीको राम्रो व्यवस्था छ। 

अन्य केही सामान्य गफगाफपछि भोलि खबर गर्छु भनेर फोन राखेँ।

भोलिपल्ट हामी केही समय भेटेरै पनि कुरा गर्यौँ। उसको अनुरोधलाई नकार्न मन लागेन।

मलाई पनि अस्पतालभन्दा केही पर रहेर काम गर्न मन थियो, प्रत्यक्ष रुपमा समाजसँग नजिकिएर काम गर्ने मौका, मेरो लेखनीलाई पनि समय हुने ,फेरी रकम पनि त मोटै छ। यसरी सफललाई हुन्छ भनेर त्यसको दुई दिनमै म सिन्धुपाल्चोक आएँ।

भूकम्पलगत्तै  यहाँको पर्यावरण र मानिसको अवस्था, परिस्थितिले जोसुकैको मुटु भक्कानिन्थ्यो। यत्रो जमिन हल्लियो, तर पृथ्वी कति सहजै आफ्नो लयमा फर्कियो। तर मानिसहरुको पीडाका दृश्य हेरिरहँदा पहिलोपटक मानिस कमजोर भएको आभास भयो।

म अवलोकन गर्दै थिएँ , मैले त  मानसिक रुपले विक्षिप्त भएकालाई उपचार गर्नु थियो। एक्कासि एउटा बन्दै गरेको घरको छेउमा एउटा ४/५ वर्षको बालक काखमा च्यापेर टोलाइरहेका बालाई देखेँ। केही नसोची म उनको नजिक  पुगेँ।

 विनम्र हुँदै बोलाएँ : बा...?

उनी झसंग​ र आँखामा आँसु टिलपिल गर्दै बोले : मलाई मेरो छोरोले पनि यस्तै गरी.....

​केही समय म मौन रहेँ। अवस्था बुझे तर के बोलौँ, कसो गरौँ, अलिक रनभुल्लमा परेँ। पढाइलाई कापीमा उतार्नु र जीवनमा उतार्नुको फरकपन महसुस गरेँ। जीवनमा पास हुन सजिलो चाहि रैनछ भन्ने लाग्यो।

केही समयपछि बासँग लामो  भलाकुसारी भयो। एक्लोपनले पिल्सिएका बालाई  सामान्य लयमा फर्कन गाह्रो भएको रहेछ।  श्यामबहादुर बाको काखको बच्चा नाति रैछ। उहाँकी श्रीमती, छोरो र बुहारी तीनै जनाको ज्यान भूकम्पले  लगेछ। कत्रो बज्रपात!

‘यो नाति नभाको भए म उहिल्यै आत्महत्या गर्ने थिएँ बाबु , म बाँच्नुको कुनै कारण देख्दिनँ। यसैको पीरले लाचार जीवन बाचेको छु, कुनै सारविहीन। यो बिचरोलाई राम्ररी पालन पोषण नी गर्न सकेको छैन , चिन्ता नै चिन्ताको चाङले जीवनको ज्योती पुरिदिएको छ।’

आँखाबाट उदासीन र विरक्तिको भावस्वरुप आखाबाट आँसुका थोपा बरर्र... केही बेरसम्म।

केही समयपछि चिया खाऊ है बाबु ! नाति केटोलाई पनि दूध खुवाउने बेला भयो भनेर भत्केको घरछेउको भान्सामा चियाको दिउरी बसालेँ।

केही समयको बसाइपछि श्यामबहादुर बालगायतका मानसिक समस्यामा परेका बिरामीलाई उचित परामर्शपछि औषधी दिएर म ६ महिनामा काठमाडौँ फर्केँ।

त्यसको ठीक तीन महिनापछि म स्थितिबारे जानकारी लिन फेरि फर्कें। 

सबै बिरामीमा केही सुधाराेन्मुख थियो तर श्यामबहादुर बालाई झन दु:खी देखेर आफैँ झस्केँ। नजिक गएर बोलाएँ। बाले आफ्नो जिन्दगीलाई अझ धिक्कारे । म छक्क परेँ। 

केही समयपछि बाबु म अब पूर्ण रुपले ठीक हुन्छु यी औषधि को पनि कुनै आवश्यकता हुँदैन भन्दा म दंग परे। 

तिमी छक्क नपर, म तिमीलाई मलाई परिवर्तन गर्ने कथा सुनाउँछु भनेर श्यामबहादुर बाले आफ्नो कुरा यसरी राखे। 

'भूकम्प जानुपूर्व पुरानो घरमा गौँथलीको गुँड थियो। आफ्नो बच्चाहरुलाई गौँथलीले औधी प्रेम गर्थ्यो।

भूकम्पमा परेर गौँथलीका सन्तानहरूको, ती बच्चाहरुको ज्यान गयो। मेरो त बरु नाति छ तर गौंथली त एक्लो भयो।  

लगाातार चार दिनसम्म गौंथली मेरो घर आउँथ्यो। चारैतिर डुल्थ्यो, आफ्नो बचेराहरु नदेखेपछि दु:खी हुँदै फर्किन्थयो।​ तर पाँच दिनदेखि गौंथली आएन। मैले कतै देखिनँ।

आफ्नो पीडा थेग्न नसकेर गौँथलीले आफ्नो जीवन समाप्त पार्यो। मैले यस्तै सोचे। आखिर मलाई पनि त त्यो सोच एक/दुईपटक होइन, पटकपटक आएको थियो।

एवम् प्रकारले दिनहरू बित्दै थियो। एकदिन बजार झरेको थिएँ बिहानतिर, फर्कँदा १ बजिसकेको थियो होला, थकान र गर्मी लागेकाले त्यही तलको चौतारीमा  एकछिन आराम गरेको थिएँ। पसिना पुछ्दै गर्दा मैले त्यही गौंथली देखेँ, जसको मैले मेरो सोचद्वारा मृत्यु गरिदिएको थिए।

माथि फर्केर हेरेको त मेरो घरमा भन्दा ठूलो गुँड बनाइसकेको रैछ। म आफैंप्रति हीनताबोध बढेर आयो। गौँथलीलाई हेर्छु, आफूलाई हेर्छु, नातिको अबोध अनुहार सम्झन्छु अनि मौन रहन्छु।

गौँथलीले नयाँ घर बनाएर आफ्नो सन्तानको विस्तार गर्‍यो।

मैले भत्किएको पुरानो घरलाई स्याहारसम्भार गरेर नयाँ बनाउन सकिनँ यतिका समयसम्म पनि।

पृथ्वी आफ्नो लयमा फर्कियो, गौँथली फर्कियो, अन्य पशुपन्छी फर्किए तर मानिस फर्कन सकेनन् म फर्किन सकिनँ। ​

कस्तो बिडम्वना!

गौँथली जसलाई दु:खमा रोइरहने फुर्सद थिएन।

म जसलाई रुँदारुँदा हाँस्ने फुर्सद थिएन।

यति भनेर आफ्ना गहभरिका आँसुलाई पुनः एकपटक बग्न दिएँ र गौँथलीलाई धन्यवाद दिएँ।

मलाई लाग्यो- मेरो औषधिभन्दा कैयौँ गुणा सहज गौँथलीले गरिदियो। एकताका लाग्यो- विज्ञानभन्दा कति अगाडि प्रकृति छ जसले मानिसलाई बाँच्न सिकाउँछ। मानिसभन्दा कति बहादुर जीव जीवात्मा जसलाई दु:खी भइरहने फुर्सद नै छैन। 

असार ३२, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.