ad ad

लुम्बिनी


अझै सञ्चालनमा आएन ओलीले उद्घाटन गरेको ११ तले यो भ्यु टावर

अझै सञ्चालनमा आएन ओलीले उद्घाटन गरेको ११ तले यो भ्यु टावर

सुदीप भण्डारी
असार २८, २०७९ मंगलबार ११:१०, बुटवल

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण गरिएको भ्यु टावर गत चैत १५ गते नेकपा एमालेका अध्यक्ष केपी ओलीले उद्घाटन गरे। शंकरनगर बनविहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) परिसरमा निर्मित तिलोत्तमा बहुद्देश्यीय टावर (भ्यु टावर) तामझामका साथ उद्घाटन गर्दै ओलीले टावरमा चढेर परपरका दृश्य हेरेका थिए। 

त्यो ११ तले भ्यु टावर उद्घाटन भएको साढे ३ महिना हुन लाग्दा पनि सर्वसाधारणका लागि खुला गरिएको छैन। शंकरनगर वनवाटिकाको पार्क घुम्न आउने पर्यटकले भ्यु टावर चढ्न अझै केही महिना पर्खिनुपर्नेछ।

किनकि टावर भित्र र बाहिर अझै धेरै निर्माणका काम बाँकी छन्। मंगलबार बिहान कामदारहरूले भ्यु टावरको भवनका झ्यालमा सिसा जडान गरिरहेका थिए। केही ग्रिलको काम गर्दै थिए। भ्यु टावरको थप निर्माण र मर्मतका लागि करिब १५ जना कामदार खटिरहेका छन्।​

भ्यु टावरको भवनभित्र भुइँतलामा निर्माणका सामग्री थुपारिएका थिए। बाहिर निर्माण सामग्रीसँगै निर्माणमा प्रयोग हुने औजार र सवारीसाधन समेत थिए। 

शंकरनगर बनविहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) का अध्यक्ष बेलप्रसाद शर्माले भ्यु टावर सर्वसाधारणका लागि खुला हुन अझै केही महिना लाग्ने बताए। ‘अझै निर्माणका कार्य भइरहेको छ। भित्र मार्बल टायल, फिनिसिङका काम भइरहेका छन्। सञ्चालनमा आउन अझ केही महिना पर्खनुपर्छ’, उनले भने। 

भवनबाहेक बाहिर बाउन्ड्री, पार्किङ, स्विमिङ पुल, वाटर फाउन्टेनलगायतका संरचना बनाउन छुट्टै ठेक्का लगाइएको छ। त्यो ठेक्काको म्याद अझै ८ महिना बाँकी छ। तर बाहिरी संरचनाको निर्माण सम्पन्न नहुँदै पनि भ्यु टावर पर्यटकका लागि खुला हुन सक्ने तिलोत्तमा नगरपालिकाका प्राविधिक प्रमुख इन्जिनियर प्रदीप बनले बताए।

 

भ्युटावर भएको भवनको ठेक्का सम्झौताको समय सकिए पनि अझै केही काम बाँकी छन्। नगरपालिकाले गर्नुपर्ने फिनिसिङलगायत ५–७ प्रतिशत काम बाँकी छ। त्यसबाहेक अरू सजावट लगायतका काम भ्यु टावर सञ्चालन गर्ने कम्पनीले गर्नेछ। 

भ्यु टावर सञ्चालन गर्ने कम्पनीको टुंगो लागिसकेको तर दुई पक्षबीच हस्ताक्षर हुन बाँकी रहेको तिलोत्तमा नगरपालिकाका प्राविधिक प्रमुख बनले बताए। ‘हामी एग्रिमेन्टको अन्तिम चरणमा पुगेका छौं। मूल्यांकनको काम सकेर सञ्चालन गर्ने कम्पनीले पैसा पनि जम्मा गरिसकेको छ’, उनले भने, ‘अब सम्झौतामा हस्ताक्षर गर्न मात्र बाँकी छ। सम्झौताअनुसार उक्त कम्पनीले वार्षिक ४० लाख तिलोत्तमा नगरपालिकालाई बुझाउनुपर्नेछ।’ 

वनवाटिकामा ११ करोडको लागतमा बहुद्देश्यीय टावर बनाइएको हो। भ्यु टावरको योजना बन्दा सुरुमा तिलोत्तमा नगरपालिकाको ७० प्रतिशत र शंकरनगर बनविहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) को ३० प्रतिशत लगानी हुने र सञ्चालनबाट प्राप्त प्रतिफल पनि त्यहीअनुसार लिनेगरी सम्झौता भएको थियो। तर कोरोना महामारीका कारण वनवाटिकाले भनेजति लगानी गर्न सकेन। नगरपालिको धेरै लागत परेको छ। टावर सञ्चालनमा आएपछि वनवाटिकाले ३० प्रतिशत सेयर पुर्याउन सुरुको आम्दानीबाट कट्टा गर्न सक्ने वनवाटिकाका अध्यक्ष बेलप्रसाद शर्माले बताए। 

बहुद्देश्यीय टावर दृश्यावलोकन सहित व्यावसायिक प्रायोजनका लागि निर्माण गरिएको हो। जसमा ८ वटा कोठामा होटल सञ्चालन गर्न सकिनेगरी बनाइएको छ। सोरुमहरू, लाइब्रेरी, रिसर्च सेन्टर क्याफ्टरिया अर्थात् कफी सप चलाउन सक्नेगरी संरचना निर्माण गरिएको छ। भ्यु टवार सञ्चालन गर्ने कम्पनीले अरू केही फिचर थपेर पनि चलाउन सक्ने तिलोत्तमाका प्राविधिक प्रमुख इन्जिनियर प्रदीप बनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .