समाज


तापक्रम अझै बढ्ने, पाँचदिने चेतावनी जारी

तापक्रम अझै बढ्ने, पाँचदिने चेतावनी जारी

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
बैशाख १५, २०८१ शनिबार १९:४१, काठमाडौँ

एक हप्तायता देशभर दिनप्रतिदिन तापक्रम बढिरहेको र आगामी ५ दिन विशेषगरी तराई क्षेत्रमा अत्यधिक गर्मी भई तातो हावा चल्ने सम्भावना रहेकाले यसको असरबाट बच्ने उपाय अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। 

शनिबार (वैशाख १५ गते) अपराह्न ४ बजे ‘विशेष बुलेटिन : तातो दिन तथा तातो लहर सम्बन्धी बुलेटिन–२’ जारी गरी मौसम महाशाखाले वैशाख १६ देखि २० गतेसम्म तराईमा तातो हावा चल्ने तथा पहाडका समेत उपत्यका र खोँचमा तापक्रम वृद्धि हुने भएकाले सजग रहन सुझाव दिएको हो। 

महाशाखाका अनुसार केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ। लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि उक्लिएको छ। 

‘आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ’, विशेष बुलेटिनमा भनिएको छ, ‘तसर्थ, ती भूभागमा आगामी ५ दिन (वैशाख १६ गतेदेखि २० गतेसम्म) तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

साथै पहाडी भूभागका पनि उपत्यका तथा खोँचमा समेत तापक्रम क्रमिक रूपमा बढ्न सक्ने सम्भावना रहेकाले मौसम महाशाखाबाट जारी हुने सूचना तथा बुलेटिन नियमित रूपमा हेर्न आग्रह गरिएको छ। 

मौसम महाशाखाका अनुसार तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तीर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता हुने आदि समस्या हुनसक्छ। 

महाशाखाका  अनुसार बच्ने उपाय यस्ता छन्ः 
‘तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नबस्ने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटकपटक) पानी तथा झोल पदार्थ (जुस, सर्बत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनुपर्छ।’ 

हेर्नुहोस् विशेष बुलेटिन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .