साहित्य


लघुकथा : पौरख

लघुकथा : पौरख

ईश्वर पोखरेल
कात्तिक २८, २०८२ शुक्रबार १७:१७, काठमाडौँ

'जेन–जी’ आन्दोलनमा बस्दैआएको घर परेर डेरामा सिफ्ट भएको केही दिनपछि श्रीधनलाई लाग्यो; युरोप र जापानबाट फर्केका छोराबुहारीलाई आफ्नो पौरखको कथा सुनाउने ठिक समय यही हो ।

एक दिन बैठक कोठामा सबै बसेको बेला श्रीधनले भन्यो– 'गाउँमा गरिबै परिवार हो– हाम्रो । खान पुग्ने; बेच्न नपुग्ने । धेरै दाजुभाइ ।... सोेझो औलाले घ्यु नआउने।'

लौ, यहाँ सोझो औँलाको कुरा कसरी फुत्क्यो! हुर्केका छोराहरू छन्; विदेशमा पढेलेखेका बुहारीहरू छन्। आफ्नो विगत पनि राम्ररी सम्पादन नगरी बताउनु नहुने पो रहेछ ए!

श्रीधन घोरियो । अनि फेरि थप्यो– 'पछि राजनीतिमा लागेँ। राजनीतिमा नेताको नजरमा पर्न कम्ती गाह्रो थिएन; तर परियो। एकदुई पटक पदमा पनि पुगियो; मन्त्री पनि भइयो। अनि घर बनाइयो। त्यो अर्को घर चै सरकार छाडेपछि फुर्सदमा बनाएको। यी जो जोडियो/कमाइयो; कम्ता दुःखले जोडिएको हो र!'
 

एउटा छोराले भन्यो– 'कमाउनु त सबैले पर्छ। मैले पनि पर्छ।' फेरि के सोच्यो; एकपटक श्रीमतीतर्फ हे¥यो। अनि सोध्यो– 'पैसा उसै झर्ने कुरा होइन।... पैसा कसरी कमाइन्छ? हजुरले कसरी कमाउनु भयो? जान्न पाए हामीलाई पनि केही आइडिया हुने थियो नि!'

सन्दर्भ यसरी विकास होला भनेर श्रीधनले सोचेको थिएन।

दाजुभाइलाई अंशमा मारेको, राख्न दिएको पैसै खाइदिएको कुरा दाजुभाइ मिल्नु पर्छ भनेर च्याटमा दिनहुँजसो छोराहरूलाई अर्ती दिने श्रीधनले तिनै छोराहरूकै अगाडि कसरी गरोस्! नेताको अन्धभक्त भएको, अनि नजरमा परेको र मन्त्री भएको, मन्त्री भएपछि ठेकदारसँग सोझै बार्गेनिङ गरेको, आयातनिर्यातको लाइसेन्स बेचेको, पैसा लिएको केही दिनमै पद खुस्केर व्यापारीेले कठालो समातेको जस्ता कुरा श्रीधनले बुहारीहरूको सामु कसरी खोलोस्!

पढालेखा छोराबुहारीहरूका सामुमा श्रीधनले यो सबै मन्त्रीको शुद्ध तलब, भत्ता, सुविधा र विदेशभ्रमणबाट फर्किदा आएको पैसाले जोडियो भन्न पनि सकेन । 

राति अकस्मात् निन्द्रा खुल्यो। श्रीधनको मनमा साँझमा परिवारका बीचमा भएका कुराकानी झ्वाट्टै आए। मनमा तिनै कुरा मडारिई रहे । श्रीधन धेरै बेरसम्म निदाउन सकेन ।

मनमनमा भन्यो– 'कसैलाई आफ्नो पौरख बताउन खोज्दा मुख सुकेर प्याकप्याक हुने! छ्या; कस्तो जीवन पो बाँचिएछ ए!'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad