नेपाली साहित्यमा स्त्री चेतनालाई आध्यात्मिक धरातलमा राखेर व्याख्या गर्ने प्रयास विरलै पाइन्छ। कवि तथा साहित्यकार सीमा आभासको नवीनतम उपन्यास ‘महायुग’ यही अभावलाई तोड्ने कृति हो। उपन्यासले स्त्री चेत, उनीहरूको धरातल र योगदानबारे चर्चा गर्छ।
‘हामीले समाजमा अन्याय, विभेदका कुरा धेरै लेख्यौँ, तर स्त्रीभित्रकै शक्ति के हो भनेर खोजेनौँ। महायुग त्यसैको खोज हो,’ उनी भन्छिन्।
उपन्यास दुई खण्डमा विभाजित छ। पहिलो भागमा नीलाञ्जना नामकी पात्रको कथा काठमाडौँको विष्णुमती किनारका सुकुम्बासी बस्ती, ठमेल र पशुपतिनाथ क्षेत्रसँग गाँसिएको छ। यो कथा अहिलेभन्दा करिब चार पुस्ताअघिको सामाजिक पृष्ठभूमिबाट आरम्भ हुन्छ, जहाँ नीलाञ्जना र उसका आमा–हजुरआमाका सङ्घर्षले कथा बुनिन्छ।
दोस्रो भागमा कथा भौतिक सीमाबाट आध्यात्मिक यात्रातिर पुग्छ। हराएकी आमाको खोजी, पशुपतिनाथ वरिपरिका रहस्यमयी साधुहरूको संसार र स्त्री चेतनाको अदृश्य शक्तिको उद्गम त्यहीँबाट आरम्भ हुन्छ।
‘मान्छेले आफूभित्रको शक्ति चिन्न सकेपछि मात्र समाज परिवर्तन सम्भव हुन्छ’ भन्ने विचार नै उपन्यासको केन्द्रीय दर्शन हो। पात्र नीलाञ्जनाको जागृति कुनै व्यक्तिगत अनुभूति मात्र होइन, शताब्दीयौँदेखि स्त्री आत्मामा सुप्त रहँदै आएको चेतनाको पुनरुत्थान हो।
सीमाले स्त्रीका पवित्र अवस्थाहरूमध्ये विशेष गरी गर्भ र रजस्वला अवस्थाका समयहरूमा निहित शक्तिलाई आध्यात्मिक रूपमा व्याख्या गरेकी छन्। उनको तर्कअनुसार यो शक्ति केवल सन्तान उत्पादनमा सीमित छैन। यो सृष्टि र पुनर्जन्मको शक्ति हो, जसले समाज, समय र मानव चेतनालाई रूपान्तरण गर्न सक्छ।
उपन्यासका पात्रहरू वास्तविक र अलौकिक दुनियाँको सङ्गम हुन्। एकातिर सुकुम्बासी बस्तीका जीवित पात्रहरू छन्, अर्कोतिर हिमालयका गुफाहरूमा शताब्दीयौँदेखि प्रतीक्षारत देवीदेवता समान आत्माहरू। कथा पशुपति क्षेत्रदेखि लिँदै हिमालयसम्मको यात्रा हो, जहाँ स्त्री आत्माहरूलाई पुनर्जीवन दिने अद्भुत शक्ति कार्यरत देखिन्छ।
महायुग लेख्न पच्चीस वर्षदेखिको सामाजिक अनुभवले प्रेरित गरेको उपन्यासकारको भनाइ छ। उपन्यासमा अलग लिपि, स्त्री सम्वत र आफ्नै मुद्रासम्म परिकल्पना गरिएको छ। यो केवल साहित्यिक कथा होइन, वैकल्पिक सभ्यता र चेतनाको कल्पना हो, जहाँ स्त्रीलाई शक्ति स्वरूप देखिन्छ र पुनर्जन्मको चक्रमा ऊ नै सृष्टिको केन्द्र बन्छे।
सीमा भन्छिन्, ‘अब समाज परिवर्तनको कुरा कर्मकाण्डले होइन, चेतनाको जागरणले मात्र सम्भव छ। त्यो चेतना स्त्रीभित्रै छ, त्यसलाई जागृत गराउनुपर्छ।’
पाठकको बुझाइ
सीमा आभासको पहिलो उपन्यास हो महायुग। यसअघि कविता र कथा–सङ्ग्रहमार्फत नेपाली साहित्यमा स्थापित उनको यो चौथो कृति हो।
‘साँझको संघारबाट’, ‘टापुका स्वरहरू’ र ‘म स्त्री अर्थात् आइमाई’ जस्ता कृतिबाट आफ्ना शब्दको संसार निर्माण गरिसकेकी सीमा यस पटक अझ गहिरो र दीर्घ यात्रामा निस्केकी हुन्। स्त्री चेतना, आत्म जागृति र विराट युगीन रूपान्तरणको कथा उनको उपन्यासमा पाइन्छ।
महायुगको केन्द्रमा स्त्री शक्तिको पुनर्परिभाषा छ। परम्परागत समाजले महिलालाई जसरी सीमित, असहाय वा निर्बलको रूपमै चित्रित गरेको छ। तर, आभास त्यस धारणालाई तोड्दै नारीलाई अनन्त शक्ति र आत्म जागृतिको स्रोतका रुपमा व्याख्या गर्छिन्।
उपन्यासले एक पात्रको आत्म जागृति मात्र होइन, चार पुस्तासम्म फैलिएको स्त्री अनुभवलाई समेट्छ। एक पुस्ताले भोगेका दुःख, सङ्घर्ष र हुङ्कार अर्को पुस्ताको चेतनामा रूपान्तरित हुँदै जान्छ। यसरी महायुग केवल व्यक्तिगत कथा नभई सामूहिक स्त्री अनुभव र ऐतिहासिक चेतनाको महाख्यान बनेको समीक्षकहरूको बुझाइ छ।
कवि टीका आत्रेयले सीमालाई सरस्वतीले लेख्नका लागि पठाएकामध्ये एक भन्दै उनको प्रशंसा गरिन्। उनको दृष्टिमा, सीमा आभास बेग्लै ब्रह्माण्डको परिकल्पना गर्ने चेत भएकी स्रष्टा हुन्। महायुगलाई उनले स्त्री चेतनाको सकारात्मक ऊर्जा, पुरुष विरोधी नभई सार्वभौम चेतनाको उद्घोष ठहराएकी छन्।
त्यस्तै, डा राजेन्द्र उप्रेतीलाई यो पुस्तक आध्यात्मिक यात्राको साथी लाग्यो। सुरुमा लय गडबड भएजस्तो अनुभूत भए पनि पछि कथा निरन्तर एकोहोरो पढ्न बाध्य बनाएको अनुभव उनले बाँडे। अन्तिम खण्डले सम्पूर्ण कृतिलाई पूर्णता दिँदै पाठकलाई तृप्त तुल्याएको उनको टिप्पणी छ।
उनी भन्छन्, ‘महायुगलाई कलेजको पाठ्यक्रममा समावेश गर्न सकिन्छ र लेखिकाले आफैँ पढाएमा अझ ठूलो योगदान पुग्नेछ।’
लेखनमा सीमा
ओखलढुङ्गाको बरुणेश्वर–४, लामिडाँडामा जन्मिएकी सीमा आभास अहिले विराटनगरमा बस्छिन्। सोधा र एकराज दाहालकी छोरी उनी गाउँकै विद्यालय बरुणेश्वर माविबाट एसएलसी उत्तीर्ण गरेर विराटनगर पुगिन्। महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा स्नातक सकिन् र राजधानी कीर्तिपुरमा गएर स्नातकोत्तर पनि पूरा गरिन्। पढाइसँगै साहित्यप्रतिको आकर्षणले उनलाई बाल्यकालमै मोहनी लगायो। पाठ्यपुस्तकका साहित्यिक रचनाले उनलाई लोभ्याउँथे। आफ्नी आमाले कविता लेख्ने गरेको देख्दा लेखनमा निरन्तर तानिन्थिन्।
सुरुमा कविता लेख्ने सीमा पछि गजलतिर मोडिइन्। गजल लेख्दा कथा नलेखी पुग्दैन भन्ने लाग्यो। कथा लेख्दा नाटक र उपन्यास पनि किन नलेख्ने भन्ने उत्सुकता उनमा जाग्थ्यो। यसरी एकपछि अर्को विधा प्रयोग गर्दै आज उनी कविता, कथा, नाटक, उपन्यास र निबन्धदेखि बाल साहित्यसम्म सक्रिय भएकी छिन्।
उनको नाटक पनि छाप्ने तयारी पनि भइरहेको छ। उनी आफूलाई एउटै विधामा बाँध्न चाहन्नन्। लेखनलाई विविध आयाममा विस्तार गर्नु उनको विशेषता हो।
‘योजना बनाउँछु भनेर खासै हुँदैन, परिस्थिति जसरी आउँछ त्यस्तै गर्दै जान्छु,’ सीमा भन्छिन्।
निजी प्रकाशन गृहहरूको सक्रियता र पाठकको नेपाली लेखकतर्फको आकर्षणलाई उनले सकारात्मक सङ्केतका रूपमा लिएकी छन्।
‘अब विदेशी लेखकको मात्र भर पर्नुपर्ने अवस्था छैन,’ उनी भन्छिन्, ‘नेपाली लेखकका कृति विधागत रुचिअनुसार छानेर पढ्न सकिन्छ।’
सीमा आभासका लागि साहित्य योजनाबद्ध यात्राभन्दा परिस्थितिसँगको निरन्तर जुधाइ हो।
म स्त्री अर्थात् आइमाईबाट निकै चर्चामा आएकी सीमालाई महायुगले थप बहसको केन्द्रमा तानेको छ। नेपाली साहित्यमा महिला लेखन प्रायः पीडा, अन्याय र विद्रोहका स्वरमा केन्द्रित भएको पाइन्छ। सीमा आभासले त्यसलाई तोड्ने प्रयास गरेकी छन्।
३६० पृष्ठ लामो यो उपन्यासको मूल्य ६९९ रुपैयाँ राखिएको छ।
Shares

प्रतिक्रिया