साहित्य


छालबाटो, रमा शर्मा र अभि सुवेदीलाई पद्मश्री

छालबाटो, रमा शर्मा र अभि सुवेदीलाई पद्मश्री

नेपालखबर
भदौ १५, २०८२ आइतबार १२:५२, काठमाडौँ

लेखक तथा पत्रकार रमेश भुसालको कृति ‘छालबाटो’ले २०८१ को पद्मश्री साहित्य पुरस्कार पाउने भएको छ।

खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले भुसालको यात्रा संस्मरणात्मक कृति ‘छालबाटो’लाई अर्पण गर्ने निर्णय गरेको हो।

प्रतिष्ठानले विसं २०६३ सालदेखि नेपाली साहित्यको उत्कृष्ट कृतिलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आइरहेको छ।

‘छालबाटो’ले कैलाश मानसरोवर हुँदै तिब्बतस्थित कर्णालीको उद्गम र भारतको गंगासम्मको यात्रामा कर्णालीको प्रवाह, सीमा सुरक्षा, स्थानीय बस्ती, जलवायु परिवर्तन, वन्यजन्तु, जलविद्युत् र विस्थापनजस्ता गम्भीर विषयलाई नियात्रामार्फत् जीवन्त रूपमा समेटेको छ।

विसं २०८१ मा प्रकाशित तथा प्रतिष्ठानलाई प्राप्त नेपाली साहित्यका २०३ वटा पुस्तकमध्ये गत असार १५ गते विस्तारित सूची र साउन १५ गते उत्कृष्ट संक्षिप्त सूची प्रकाशित गरिएको थियो।

ती कृतिमध्ये पुरस्कार चयन समितिको सिफारिसअनुसार यो निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए।

यस्तै प्रत्येक वर्ष नेपाली साहित्य, संगीत र कलाको क्षेत्रमा दीर्घसाधना गरेर उत्कृष्ट योगदान गरेका दीर्घसाधकलाई प्रदान गरिने पद्मश्री साधना सम्मान यस वर्ष नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्मालाई अर्पण गर्ने निर्णय गरिएको पनि लामिछानेले बताए।

‘आफ्नो सम्पूर्ण जीवन भाषा, साहित्य, संस्कृति र कलाको उन्नयनमा समर्पित रमा शर्माका अन्वेषण, समालोचना, जीवनी, निबन्ध, भाषा, बालसाहित्य लगायतका करिब दुई दर्जन पुस्तकहरू प्रकाशित छन्,’ प्रतिष्ठानले विज्ञप्तिमा लेखेको छ।

त्यसैगरी, समाजका विविध क्षेत्रमा उत्कृष्ट योगदान पुरेवापत प्रदान गरिने ‘पद्मश्री गौरव पुरस्कार’ यस वर्ष प्राडा अभिनारायण सुवेदीलाई प्रदान गर्ने निर्णय गरिएको छ।

नेपाली र अंग्रेजी दुवै भाषामा कलम चलाउने निबन्धकार, समालोचक, भाषाविद्, नाटककार, अनुवादक तथा कवि प्राडा अभि सुवेदीका करिब तीन दर्जन कृति प्रकाशित छन्। 

कोजाग्रत पूर्णिमाका दिन प्रदान गरिने यी पुरस्कार तथा सम्मानवापत जनही अक्षरेपी तीन लाख रूपैयाँ नगद तथा सम्मानपत्र रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad