साहित्य


उमेश अकिञ्चनको ‘सायद किनाराहरू’ सार्वजनिक

उमेश अकिञ्चनको ‘सायद किनाराहरू’ सार्वजनिक

नेपालखबर
साउन ३, २०८२ शनिबार १९:४१, काठमाडौँ

कवि उमेश अकिञ्चनको नयाँ कवितासंग्रह ‘सायद किनाराहरू’ को लोकार्पण गरिएको छ। रक्षामन्त्री मानवीर राई, कविहरू श्रवण मुकारुङ, रमेश क्षिजित, विमला तुम्खेवा, अभिनेता जीवन लुईंटेल र समीक्षक राजकुमार बानियाँले शनिबार काठमाडौँमा कवितासंग्रह विमोचन गरेका हुन् । 

वक्ताहरूले कवि उमेशका कविता नेपाली कविता-फाँटमा नौलो विम्ब, भाव र शैलीका साथमा उपस्थित रहेको बताए। ‘कवि अकिञ्चनका कवितामा काव्यिक अनुभूति सघन भएर आएको छ,’ श्रवण मुकारुङले भने, ‘कविता कुनै धारणाभित्र मात्रै सिमित रहँदैन, किनकि कविता आविष्कार हो। अकिञ्चनले कवितामा नौलो विम्बहरू, भाव र संसारको आविष्कार गरेका छन्।’ 

मुकारुङले वर्तमान कविता मुक्त छन्दमा लेखिन थालेको पनि बताए। कविताको इतिहासलाई स्मरण गर्दै मुकारुङले भने, ‘अबको कविले आफ्नै विम्ब निर्माण गर्नुपर्छ र कविले कवितामा बौद्धिक कसरत पनि गर्नुपर्ने समय आएको छ, तब मात्रै कवि र पाठक दुवैको ज्ञानको दायरा पनि फराकिलो हुनसक्छ।’

कवि विमला तुम्खेवाले तीन दशकदेखि कविता-कर्ममा तल्लीन कवि अकिञ्चनका कविताले समयको कुरुप पक्षमाथि प्रहार गरे पनि ती अत्यन्तै शालीन ढंगले लेखिएको र तिनले समयसँग संवाद गरेको सुनाइन्। 

‘अकिञ्चनका कविता समयसँग गम्भीर संवादरत छन्,’ तुम्खेवाले भनिन्, ‘उनका कविताका विम्ब नयाँ, प्रयोगशील, प्रभावकारी, कोमल र शालीन छन्। कविले आफ्नो समयको विश्व परिवेश पनि कवितामा लेखेका छन्।’ 

मन्त्री राईले कविता र कविले समाज रूपान्तरणमा गम्भीर भूमिका खेल्ने बताए। ‘कविहरू आफू मात्रै नभइ समाजलाई नै सचेत गराउँछु भनेर क्रान्तिकारी सोच लिएर हिँडेका हुन्छन्’, उनले भने, ‘देशलाई सहि दिशामा ल्याउन कवि-साहित्यकारको इतिहासदेखि नै योगदान छ । कवि र कविताले समाजलाई नै दिशा प्रदान गर्न र सहयोग गर्छ।’ 

राजनीतिमा नलागेको भए आफू लोकदोहोरी गायक बन्ने रहर भएको पनि राईले सुनाए। कार्यक्रममा अकिञ्चनको कवितासंग्रह ‘सायद किनाराहरू’ बाट कविहरू डा.स्मिता श्रेष्ठ र रिमा केसीले एक–एकवटा कविता पनि वाचन गरेका थिए।

‘सायद किनाराहरू’ अकिञ्चनको तेस्रो काव्यकृति हो। इन्डिगो इन्कले प्रकाशन गरेको किताबको मूल्य ५४९ रुपैयाँ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad