कवि तथा गीतकार युवराज अधिकारीको कविता संग्रह ‘युद्ध, युद्ध नै हुन्छ’ सार्वजनिक भएको छ। नेपाल वायुसेवा निगमका पूर्व कार्यकारी अध्यक्षसमेत रहेका अधिकारीको कविता किताब शनिवार एक कार्यक्रमका बिच विमोचन गरिएको हो।
एपेक नेपालका अध्यक्ष विश्व बिमोहन श्रेष्ठको सभापतित्वमा उक्त विमोचन कार्यक्रमको प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीबद्री प्रसाद पाण्डे रहेका थिए। उक्त लोकार्पण कार्यक्रममा विशिष्ट अतिथिका रुपमा कवि तुलसी दिवसले कवि अधिकारीको कविता संग्रहमाथि समीक्षात्मक टिप्पणी गरेका थिए।
कलाकार तथा बरिष्ठ क्याप्टेन विजय लामाद्वारा कवि अधिकारीको कविता संग्रह ‘युद्ध, युद्ध नै हुन्छ’को शीर्ष कविता वाचन गरेका थिए भने उनैको आवाजमा स्वरांकन गरिएका अधिकारीका कविताहरु समेत प्रस्तुत गरिएको थियो।
विचोचित कविता कृति ‘युद्ध, युद्ध नै हुन्छ’ माथि टिप्पणी गर्दै प्रमुख अतिथि एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पाण्डेले कवि युबराज अधिकारीको शीर्ष कविताले ‘समकालीन विश्वको समसामयिक आवाज बोकेको र युद्ध कुनै पनि हिसाबले स्वीकार्न नसकिने’ टिप्पणी गरेका थिए।
अभिनेता निखिल उप्रेतीले पनि कवि अधिकारीको ‘जिन्दगी यस्तै त हो कान्छा’ शीर्षकको कविता पाठ गरेका थिए। फिल्म निर्देशक तथा लेखक प्रकाश सायमीले कवि अधिकारीको समग्र कविता यात्रामाथि प्रकाश पारेका थिए।
कवि अधिकारी स्वयंले आफ्नो संक्षिप्त मन्तव्य राख्दै ‘कविताले आफ्नो माटोको सुगन्ध बोक्न सक्नु पर्ने’ टिप्पणी गरेका थिए। अधिकारीले आफ्ना केही कविता समेत वाचन गरेका थिए।
सांसद अमरेशकुमार सिंह, महेश बस्नेत लगायतको उपस्थिति रहेको उक्त विमोचन कार्यक्रमको मुख्य आकर्षणको रुपमा कलाकार वीरेन्द्र हमालद्वारा निर्देशन गरिएको कवि अधिकारीको कविता ‘जिन्दावाद र मुर्दावादको शहरमा कोही आउने छ’ को मञ्चन रहेको थियो।
कवि अधिकारीको कविता संग्रह ‘युद्ध, युद्ध नै हुन्छ’ लाई इन्डिगो इन्क प्रालिले प्रकाशन तथा बजार व्यवस्थापन गरेको हो।
Shares

प्रतिक्रिया