लेखक जीवा लामिछानेको नयाँ कृति ‘अक्षत अन्टार्कटिका’ लोकार्पण गरिएको छ।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा बुधबार आयोजित एक समारोहमा लेखक लामिछानेले पुस्तक लोकार्पणसँगै हिउँको महादेश यात्राको अनुभव पनि सुनाए।
हिउँको साम्राज्य अन्टार्कटिका जानुअघि नै आफूले लेख्छु भनेर गएको र यात्राकै क्रममा २५ हजार शब्द लेखिसकेको उनले बताए। ‘म अन्टार्कटिका लेख्ने तयारीसाथ गएको थिएँ,’ उनले भने, ‘फर्किएर आएपछि केही स्रोतसामग्री अध्ययन गरें। र, पुस्तक लेखनलाई तीव्रता दिइहालें।’
त्यसैले पनि एक वर्ष हाराहारीको समयमा पुस्तक ल्याउन सम्भव भएको लामिछानेले सुनाए।
कार्यक्रममा लेखक जीवा लामिछाने र पत्रकार बसन्त बस्नेतबीच पुस्तकका विषयमा विशेष अन्तर्संवादसमेत गरियो।
पत्रकार वसन्त बस्नेतले यो पुस्तक सीधा यात्रा संस्मरण नभएर रहस्यमय स्थानको रोचक शिल्प रहेको बताए। उनले भने, ‘यसको सरलता, भाषिक मिठास र उत्कृष्ट संयोजनले जोकसैलाई मोहनी लगाउँछ।’
रूसको मस्को स्टेट युनिभर्सिटी अफ सिभिल इन्जिनियरिङबाट स्नातकोत्तर जीवा लामिछाने गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक सदस्य एवम् पूर्वअध्यक्ष हुन्।
बैंकिङ, जलस्रोत, शिक्षा, स्वास्थ्य, बिमा, होटललगायत व्यवसायमा देश र विदेशमा लगानी गरेका उनले नेपाली भाषा साहित्यको श्रीवृद्धिकै लागि खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान स्थापना गरेका छन्। उक्त प्रतिष्ठानले पद्मश्री पुरस्कार र सम्मान प्रदान गर्छ।
संसारका एक सय ३० भन्दा बढी देश घुमिसकेका लामिछानेका यसअघि ‘सरसर्ती संसार’ र ‘देश देशावर’ नियात्रासंग्रह प्रकाशित छन्।
‘अक्षत अन्टार्कटिका’ फाइनप्रिन्टले प्रकाशित गरेको हो।
Shares

प्रतिक्रिया