साहित्य


कविता : तिम्रो सहर

कविता : तिम्रो सहर

प्रकाशचन्द्र खतिवडा
फागुन ११, २०८१ आइतबार १०:४, दुलारी, मोरङ

तिम्रो सहर 
हामी आएका छौँ  
एउटा कोलाहल बोकेर 
कोलाहल आफैँमा एउटा विद्रोहको रुप हो 
त्यसलाई कमजोर आँक्ने नगर।  

तिमी बेचैन छौ                                                   
आफ्नै 

अविवेकी निर्णयबाट 
बेचैनी अद्भूत पीडा हो 
त्यसले तिम्रो मन जलाएर 
तिमीलाई खरानी बनाउन सक्छ
तिमी सत्पात्र थियौ 
विवेकहीन भयौ किन? 

भवनहरू 
भ्रष्ट छन्
फुटपाथहरू   
त्रस्त छन्
सडक 
जाम छ फेरि किन?

कहाँ जान्छन् मान्छेहरू?
लासका जुलुसहरू पछ्याउँदै 
भविष्य नदेखेर 
वर्तमानमै हराइरहेछन् तिनीहरू।

तिम्रो सहर 
अस्तव्यस्त जालोमा फसेको छ 
मुर्दा मन घिसारेर 
व्यर्थै मन बिगार्छन् मान्छेहरू। 

तिम्रो सहर 
रित्तो सपना बाँडेर 
पूर्णताको स्वाङ पार्छ 
मान्छेहरूमा बेचैनी बढेको छ  
संवेदना मरिसक्यो भन्छन् 
मान्छे नै 
मान्छेको सिकार गर्न व्यस्त छ। 

जब साँझ पर्छ 
नगर नायिकाहरू 
पसल थाप्न विवश छन् 
एक हुल ब्वाँसाजस्ता मान्छेहरू 
सुँङदै मासु पसलमा पस्छन् 
निर्लज्जताको पनि पराकाष्ठा होला 
तिम्रो सहरको सभ्यता खोई? 
सभ्य भनेर के फुँइँ हाँक्छौ? 

तिम्रो सहर 
बासीहसुरेर 
साजीको ध्वाँस दिन्छ 
पशुपतिको बसाहा 
फिस्स हाँस्छ 
सभ्य भनिएको तिम्रो सहरमा 
भिखारी किन भिख मागी बस्छ? 

हामीले बोकी ल्याएको कोलाहल 
कहाँ लगेर व्यवस्थित गरौँ?
हामीलाई जिउँदो लास बनाउने कुचेष्ठा नगर 
तिम्रो सभ्य सहरमा समेत 
अब उथलपुथल आउँछ 
देखेनौ एक जुलुस मान्छेहरू?
तिम्रो मुकाम सुरक्षित राख 
हामी न्याय र परिवर्तनको युद्ध लडन चाहन्छौँ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad