‘नेपथ्य’ पुस्तक अब भने डिजिटल सञ्जालबाट फैलिँदै यो सातादेखि विस्तृत पाठक घेरामा प्रवेश गर्ने भएको छ।
तीन दशकभन्दा लामो अवधिदेखि प्रत्येक नेपाली युवा पुस्ताले आफ्नो ढुकढुकी बनाएर हुर्काएको नेपथ्य ब्यान्ड हालसम्म सुनिँदै आएकोमा अब भने ती सबैले यसलाई पढ्न पनि सक्ने भएका छन्।
ब्यान्डका मियो अमृत गुरुङसँगको लामो संगतमा लेखक गिरीश गिरीले यो पुस्तक तयार पारेका हुन्।
यस किताबलाई यसअघि 'अनलाइन प्रिअर्डर' मार्फत घरघरमै उपलब्ध गराउने चरण सम्पन्न भइसकेको छ।
‘यो पुस्तकको प्रिअर्डरलाई व्यवस्थापन गर्ने जिम्मेवारी हामीले पाएका थियौँ,’ अनलाइनमार्फत किताब बेचबिखन गर्ने थुप्रै डटकमका राजु गोतामे भन्छन्, ‘आजसम्मै अनलाइन प्रिअर्डरबाट हामीले बेचेको सबैभन्दा धेरै किताबको रेकर्ड यस पुस्तकले राख्न सफल भइसकेको छ।’
थुप्रै डटकमका अनुसार उसको वेबसाइट प्रयोग गरेर डिजिटल भुक्तानीमार्फत दुई सातामा एक हजारभन्दा बढी प्रति पुस्तक बिक्री भएको थियो।
यसरी इन्टरनेटको घेराबाटै पुस्तक हात पार्ने पाठकको प्रतिक्रिया पनि सामाजिक सञ्जालमा देखिन सुरु भइसकेको छ। त्यसैमध्येका एक युवा पुस्तामाझ लोकप्रिय लेखक सुबिन भट्टराई पनि हुन्।
‘भर्खर भर्खरको तात्तातो भर्सिनै बाँकी, विमोचन पनि भइनसकेको किताब,’ चर्चित उपन्यासकार भट्टराईले फेसबुक र एक्स (ट्विटर)मा तस्बिरसहित लेखेका छन्, ‘नेपथ्यलाई जान्न र बुझ्न पढ्नैपर्ने।’
पुस्तकमा नेपथ्यको जन्म, विभिन्न कालखण्डमा यसको उन्नति र अवनतिदेखि गीतको खोजीमा गरिएका संघर्षहरूको बेलिबिस्तार पढ्न सकिन्छ। त्यसैगरि संगीतबाट अर्जित लोकप्रियतालाई नेपाली समाजको समग्र हितमा कसरी उपयोग गर्न सकिन्छ भनेर गरिएका प्रयत्नहरुको जानकारी पनि यसले समेटेको छ।
यसरी अनलाइन बिक्रीको अध्यायसँगै अब आम पाठकको घेरा समात्न देशभित्र र बाहिरका समेत पुस्तक बिक्री केन्द्रहरुमा यस किताबको प्रवेश हुनलागेको हो।
सांगीतिक टोली ‘नेपथ्य’ र व्यवस्थापन समूह ‘नेपालय’को संगम भएको २५ वर्ष अवसर पारेर यस पुस्तकलाई ‘पब्लिकेसन नेपालय’ले प्रकाशन गरेको हो। त्यसैले यस किताबको आगमनलाई ‘२५ मय’ बनाइएको छ।
पहिलो २५ भाग्यमानी ग्राहकलाई २५ रुपैयाँ मूल्य लिएर बिक्री सुरु गरिएको यस पुस्तकको बजारमा प्रवेश गर्ने दिन पनि दोस्रो महिना (फेब्रुअरी) को ५ तारिखलाई नै तय गरिएको छ। अर्थात् यसै बुधबारका दिनदेखि पुस्तक सर्वत्र उपलब्ध हुनेछ।
‘एउटै किताबलाई २५ रुपैयाँदेखि २ हजार २५ रुपैयाँसम्म मूल्य राखेर प्रिअर्डर लिँदै बिक्री गर्न सफल पब्लिकेशन नेपालयको आजसम्मकै नयाँ रणनीतिले पुस्तक बजारमै हलचल ल्याउनुका साथै पाठकहरुमा पनि हुटहुटी पैदा गरिदिएको छ,’ काठमाडौँ सिभिल मलस्थित 'बुकभर्स' का सञ्चालक मिलर श्रेष्ठ भन्छन्, ‘पाठकहरुलाई किताबतर्फ आकर्षित गर्न नेपालयले अपनाएको यो सिर्जनशील तरिकाको प्रशंसा नगरिरहन सकिँदैन।’
‘नेपथ्यको पुस्तक एउटा ब्यान्डको जीवनी मात्र नभई तन्नेरी सपनाहरूका संघर्षको कथा पनि भएकोले युवा पुस्ताका लागि यो प्रेरणादायी हुनसक्छ,’ नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘सम्पूर्ण पाठकहरुका लागि अब प्रतीक्षाको घडी समाप्त भएको छ।’
बुधबारदेखि मुलुकभरका प्रमुख पुस्तक पसलहरुमा उपलब्ध हुने साढे ३०० पृष्ठको यस किताबलाई ८१५ रुपैयाँ मूल्य तोकिएको छ। नेपाल बाहिर रहेका पाठकहरुको निम्ति यसलाई इबुक र अमेजनमार्फत पनि उपलब्ध गराइने व्यवस्था मिलाइएको छ।
Shares

प्रतिक्रिया