साहित्य


पर्ख सुम्निमा

पर्ख सुम्निमा

प्रकाशचन्द्र खतिवडा
पुस १३, २०८१ शनिबार ११:२१, दुलारी, मोरङ

सत्तल डाँडै नेर 
तिमीले सुस्ताए हुन्छ 
तिम्रो धोवेको सुन्तला र सेल 
गरुङ्गो भएको हुन सक्छ 
थकाइ मार                                                           
विस्तारै बिसाउनु चौतारीमा 
सगुनका चिण्डाहरू भाँचिन सक्छ 
हिफाजतले मिलाएर राख 

सगुन खानेहरूलाई 
सगुन बाँड्नु पर्छ।

तिम्रो पारुहाङ 
चण्डीथान नेरै उभिएको छ 
हातेमालो गर्दै 
एक हुल दौँतरीसँग।

गुन्यू चोलीमा सजिएर 
कम्मरमा खुर्मी भिरेकी 
चिम्सा आँखा 
थेप्चो नाक 
पुक्क उठेका राता स्याउ गाला 
बाटुलो अनुहार 
गहुँगोरी/सफेद 
तिमी किराँतिनी रानी तुल्य 
सारै हिस्सी परेकी 
तिम्रो पदचापमा संगीतको धुन छ।

तिम्रो हेराइ बैँसालु छ
तिम्रो लज्जालु बानी
शंकालु नजर 
लचकदार हिँडाइ
मृदु मुस्कान 
पंक्ति मिलेका दाँत 
आफैँमा शोभनीय छ। 

चुल्ठोको लालुपाते र गोदावरी 
शिरबन्दी र माडवारी लगाएकी 
नौगेडी माला र कम्मर पटुकीमा 
तिमी स्वर्गकी परी जस्ती देखिएकी 
सबै दुःख पीडा भुलेर 
तिमी रमाएरै बाँच्ने कोसिस गर 
तिमीमा निराशा छाउनु हुँदैन 
तिम्रो पारुहाङले कसो साथ नदेला त?

ढोल झ्याम्टा बजाएर 
साकेला सुरु भइ सक्यो
पारुहाङ त नाचिरहेकै छ 
तिमीले पनि साकेला नाच्नु छ
साउने डाँडाको चोखो बुकी फूल जस्तो 
तिम्रो चोखो माया
पारुहाङसँग सुटुक्क साट्नु छ। 

फुपा मुमाहरूको जीवन यात्रा 
कसरी गुज्रिएको छ? 
चार बीस हिउँद फटाइसकेका 
उहाँहरूको आफ्नै पीडा होला 
बाउ आमाकी आँखाकी नानी 
तिमीले पुर्ख्यौली कथा सुन्नु छ 
फुपा मुमाहरूको दुखेको घाउमा 
तिमीले मलहम पट्टी लगाउनु छ 
तिमी त सात भाइ माइतीको एउटै चेली
तिमीले माइतीको शिर उठाउनु छ।

जीवन यात्रा सहज नहुन सक्छ 
उकाली ओराली नाघ्नु छ 
बगरहरू छिचोलेर 
ठूलाठूला जङ्घारहरू तर्नु छ 
काँडाले छेक्न सक्छ बाटो 
काँडा फाँड्दै अगाडि बढ्नु छ 
तिमीले सोचे जस्तो भयो भने 
पारुहाङ कमाइ गर्न 
परदेश गएको बेला 
तिमीले घर व्यवहार धान्नु छ।

जिन्दगी घाम पानी जस्तै छ 
कहिले हाँस्नु पर्ने 
कहिले रुनु पर्ने 
भो, दुःखका गीतहरू नगाऊ 
तिम्रा पीडा अनगिन्ती होलान्
पीडाहरू मसमसी चपाएरै 
तिमीले बाँच्न सिक्नु छ।

पारुहाङ त परदेशियो हैन र?
तिम्रो दुःख सुखमा 
साथ दिन्छु भन्यो, भनेन?
बाटो हेरी बस्नलाई
फर्की आउँछु भन्यो, भनेन?
परदेश लाग्ने बखत 
तिमीसँग बोल्यो, बोलेन?
त्यो त तिमीलाई नै थाहा होला 
कति मजाले साकेला नाच्थ्यो 
अब साकेला कसले नाचिदेला ?

तिम्रो पारुहाङ 
जिन्दगीको गाडा चलाउन 
दुःखको अरुण, तमोर पार गरेर 
परदेशिएको वर्षौं भइसक्यो 
ऊ कौडीको मोलमा पाखुरा बेचिरहेकै छ 
घर परिवारको गरिबी सम्झँदै 
ऊ दु:खजिलो गर्न विवश छ 
कहर कटाउँदै 
रातोदिन विदेशी भूमिमा।

तिमी एकोहोरो बाटो हेरी नबस 
जिन्दगी जिउनै पर्छ 
तिमीले जिन्दगी समर्पण गरी सक्यौ 
अब उसले सोच्नु पर्छ 
उ आएनै भने पनि 
तिमी आफैले जिन्दगीको नयाँ यात्रा थाल्नु पर्छ।

तिमीले मन पेट दिँदा पनि 
उसले तिम्रो मनको कुरा बुझ्नै सकेन 
तिमीले त भनेकै हौ 
आऊ, घरजम गरी बसौँ
उसले आँट गर्नै सकेन।

सायद समय मिलाएर 
कहिले, कहिले त सम्झँदो पनि हो 
तिमीलाई सपनीमा देखेर 
ऊ पनि त पीडाले छटपटिँदो हो 
रोपेको बिऊ नउम्रेको कहाँ छ र?
ढिलो चाँडोको कुरा हो 
तिम्रो प्रेम सफल भएरै छोड्नु पर्ने हो।

सुम्निमा!
अधीर नबन 
तिम्रो सपना पूरा गर्न 
ऊ एक अँगालो उज्यालो लिएर 
‘मुन्धुम’ कसम 
आमा, बाउको बुढेसकालको सहारा बन्न 
आफ्नै गाउँको माटोको माया सम्झी 
तिम्रो मायाले पगालेर 
सुख दुःखको चौतारीमा सुस्केरा हाल्दै 
उ अवश्य आउने छ 
एक दिन उज्यालो छर्ने गरी।                           

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad