राजु स्याङ्तानको कविता संग्रह ‘ओ पेङ्दोर्जे’लाई पहिचान पुरस्कार प्रदान गरिने भएको छ।
पहिचान पुरस्कार कोषले जुरीबाट आएको निर्णयलाई आधार मानी उत्कृष्ट ८ पुस्तकमध्येबाट उक्त कृतिलाई पुरस्कार दिने घोषणा गरेको हो।
कोषले कवि स्याङ्तानलाई ०८०/८१ सालको पहिचान पुरस्कार नगद ४ लाख २ हजार २ सहित ताम्रपत्र प्रदान गर्ने भएको छ।
ओ पेङदोर्जे कविता संग्रह गोर्खा राज्य विस्तार हुनुअघि र गोर्खा राज्य विस्तार भएपछि आफ्नो पहिचानको लागि रगत पसिना साथै जीवन आहुति दिने तामाङ जाति र अन्य भुइँ मान्छेहरूले खेपेको शोषणमा केन्द्रित छ।
उनका कविताहरूले आफ्नो पहिचान रक्षार्थ आन्दोलन र विद्रोह बोलेका छन्। विशेषतः तामाङ जातिको आदिवासी सौन्दर्य जगेर्ना गर्न सफल छ। सांस्कृतिक जागरणको आह्वान गर्दै आफ्नो पहिचान रक्षाको लागि आवाज बुलन्द गरिएका छन्।
विषय, शिल्प, शैली, प्रस्तुति सबै दृष्टिकोणले कवितासङ्ग्रह ‘ओ पेङदोर्जे’लाई पहिचान पुरस्कार दिने घोषणा गरिएको संस्थापक नरेश काङमाङ राईले जानकारी दिए।
संस्थाले जनाएअनुसार, २०८१ चैत २३ गते भोजपुर जिल्लाको टेम्के मैयुङ गाउँपालिका वडा नं ४ को सुन्दर चखिया डाँडामा पुरस्कार वितरण गरिनेछ।
तीन वर्षअघिदेखि चखियामा पुरस्कार प्रदान गरिँदै आएको छ। संस्थाले चैत २४ गते एक दिने ‘काव्य मुन्धुमपथ यात्रा’ गर्ने तालिका पनि तय गरेको छ।
Shares

प्रतिक्रिया