साहित्य


छठ पर्वमा वातावरण र बन्धुत्वको महत्त्व झल्काउने लिखत

छठ पर्वमा वातावरण र बन्धुत्वको महत्त्व झल्काउने लिखत

विष्णुचन्द्र नेपाली
मंसिर २, २०८१ आइतबार १७:१६, राजविराज

छठ एक अद्वितीय हिन्दु वैदिक पर्व हो, जुन भारत र नेपालमा प्राचीन कालदेखि मनाइँदै आएको पाइन्छ। यो चार दिनसम्म चल्ने पर्वमा सूर्य देव र उनकी पत्नी उषा (छठी मैया) लाई श्रद्धाभावले पूजा गरिन्छ।

भक्तजनहरूले ३६ घण्टाभन्दा बढी समयसम्म एक थोपा पानी पनि नपिई कडा उपवास बसी सूर्यदेवको प्रार्थना गर्छन्। यो पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको प्रार्थना गरिन्छ। पानीको नजिक हुनुले भक्तजनलाई परमात्मासँग जोड्छ र दयालु सूर्य देवताले तिनका परिवारलाई आशीर्वाद दिन्छन् भन्ने मान्यता छ। भक्तजनहरुले सूर्यदेवको पत्नीलाई पूजा गरी आफ्नो छोरा-छोरी तथा परिवारका सदस्यहरुको दीर्घायुका लागि प्रार्थना गर्दछन्।

यस सन्दर्भमा, जीवेश झाको बिनिथ द सन: इक्वालिटी फर एभ्रीवन: द स्पिरिट अफ छठ फेस्टिभल अक्टोबर २०२४ मा अंग्रेजी भाषामा प्रकाशित भएको छ। यो पुस्तकले छठ पर्वको परिचय र यसको बहुआयामिक पक्षलाई संक्षिप्त रूपमा प्रस्तुत गर्दछ।

लेखकले अनुष्ठान र तयारीहरू, पर्वको महत्त्वपूर्ण भागको रूपमा पानीको सरसफाइ र कृषि उत्पादनहरूको प्रयोगलाई स्पष्ट चित्रण गरेका छन। जसले यो पर्व कृषि र वातावरणमैत्री रहेको प्रमाणित हुन्छ।

यो पुस्तकमा कूल छ अध्यायहरू रहेका छन्। जसमा छठ पर्वसँग सम्बन्धित अनुष्ठानहरू र यसको महत्त्वमा गहन विश्लेषण तथा अनुसन्धान गरिएको छ।

नेपाल सङ्गीत र नाट्य प्रज्ञा-प्रतिष्ठानका पूर्व परिषद सदस्य, ख्यातिप्राप्त सांस्कृतिविद् तथा साहित्यकार धीरेन्द्र प्रेमर्षिको संक्षिप्त प्राकथनमा पर्वको चर्चा गरिएको छ। उनी लेख्छन्-

'विभिन्न कृषि उत्पादनहरूलाई समेट्दै छठले जैविक विविधतालाई प्रवर्द्धन गर्न खोज्दछ र मिथिलाको सबैभन्दा महत्त्वपूर्ण कल्याणमुखी पर्वहरूमध्ये एक पर्वका रूपमा छठलाई लिइन्छ। साथै, यस पर्वले वैज्ञानिक मूल्य र मानवतालाई जोड दिएको छ। लेखक जीवेश झा विगत एक दशकदेखि साहित्य तथा सामाजिक-सांस्कृतिक मुद्दाहरूमा विशेष गरी मिथिलाको साहित्यिक र सांस्कृतिक सम्पदामा केन्द्रित भएर लेख्दै आएका छन्। उनका अधिकांश लेख रचनाहरु अंग्रेजी भाषामा लेखिएका छन् जसले मिथिलाको कृति तथा संस्कृतिलाई थप समृद्ध बनाउँछ। र, सांस्कृतिक सम्पदालाई विश्वव्यापी बनाउन योगदान पुर्‍याएको छ।'

पहिलो अध्यायमा अदालतमा शाखा अधिकृत रहेका झाले छठको परिचय दिएका छन्, यस पर्वको उत्सव, समय र यसमा सम्मान गरिने देवताका बारेमा चर्चा गरेका छन्।

झा लेख्छन्, 'छठ पूजा नेपाल-भारतमा सबैभन्दा व्यापक रूपमा मनाइने पर्वहरूमध्ये एक हो, जुन सामान्यतया दीपावली अर्थात् तिहार पर्वपछिको छैठौं दिनमा सुरु हुन्छ। छठ शब्दले छ जनाउँछ, किनभने यो पर्व कार्तिक महिनाको छैठौं तिथिका दिन मनाइन्छ। यद्यपि, प्राचीन प्राकृत भाषामा यो पर्व हिन्दु पात्रोको चैत्र र कार्तिक महिनाको छैठौं चन्द्र दिनमा वार्षिक रूपमा दुईपटक मनाइन्छ भन्ने देखाउँछ।

दोस्रो अध्यायमा हिन्दु शास्त्रहरूमा छठको सन्दर्भहरूलाई व्याख्या र विश्लेषण गरिएको छ। यस परिप्रेक्ष्यमा, लेखकले रामायण र महाभारतमा छठबारे भएको दृष्टान्तलाई उद्धृत गरेका छन्। १४ वर्षको वनवासबाट फर्किएपछि भगवान राम र माता जानकी (सीता) सूर्य देवको सम्मानमा उपवास बसेका थिए र भोलिपल्ट बिहान मात्र सो उपवास तोडेका थिए। महाभारतमा, सूर्य देव र कुन्ती पुत्र कर्णले समेत पानीमा उभिएर भगवान सूर्यको प्रार्थना गरेका थिए र भक्तजन, ऋषि र अन्य भक्तजनहरूलाई प्रसाद वितरण गरेका थिए।

तेस्रो अध्यायले छठ घाटको तयारी, जलासय लगायतका पानीका स्रोतहरुको सरसफाइ गर्ने, ३६ घण्टाभन्दा लामो कडा उपवास पालन गर्ने, लोक गीतहरू गाउने, सुन्ने र पानीमा उभिएर अस्ताउँदो सूर्यलाई पहिलो दिनमा र भोलिपल्ट उदाउँदो सूर्यलाई प्रार्थना अर्पण गर्ने जस्ता अनुष्ठानहरूको विवरण प्रस्तुत गर्दछ।  

त्यस्तै, चौथो अध्यायले पर्वसँग सम्बन्धित मूल्यहरूबारे बृहत परिचर्चा प्रस्तुत गर्दछ। जसमा वातावरण संरक्षण, समानता, सामाजिक बन्धुत्व, समाजवाद, अनुष्ठानहरूको मूल मर्म, उदेश्य र यसले मानवतामा पार्ने व्यापक प्रभावका सन्देशहरू समावेश छन। 

पाँचौँ अध्याय आर्थिक पक्षको विश्लेषणतर्फ केन्द्रित छ। यहाँ लेखकले बाँसका टोकरी बनाउने पेसाकर्मी, किसान र व्यापारीहरूले छठमा माटोको भाँडा, बाँसको छिट्टी-टोकरी लगायतका वस्तु तथा सामान बनाएर बेच्ने गर्दछन र राम्रै आम्दानी गर्दछन्। लेखकले यो पर्व किसानहरुका लागि आफ्नो सीप र कला प्रदर्शन गर्ने र मौलिक तथा प्राचीन कालदेखि मिथिला मधेसमा वातावरणमैत्री बाँसका भाँडाहरु बनाई छठ पर्वको रौनक बढाउने उल्लेख गरेका छन्।

छठमा बाँसको महत्व अधिक छ। किनकि, बाँस वंशसँग जोडिएको छ। बाँसबाट बनेको सामानहरुमा राखिने प्रसादले भक्तजनहरुको वंश वृद्धि हुने विश्वास गरिन्छ। यो पर्वले बाँसको खेती बढी हुनुपर्ने वकालत गर्दै आएको कुरा लेखकले चर्चामा ल्याएका छन्। यो पर्वले पानी पनि प्रदुषणरहित हुनुपर्ने र स्वच्छ वातावरण हुनुपर्नेमा जोड दिएको छ।

जीवेश झाको यो पुस्तक धेरै अर्थमा एक महत्त्पूर्ण पठनीय सामग्री हो। पुस्तकमा छठ पर्वले जलासयको संरक्षण र सम्बर्धन, पानी प्रदुषणविरुद्धको जागरण र असमानता विरुद्ध जनतालाई एकताबद्ध गर्न खोजेको कुरालाई स्पष्ट पार्ने प्रयास गरिएको छ।

यो पर्वले संस्कृत मन्त्रहरूको जप गर्न वा पुरुष पुजारीहरूको आवश्यकतामा जोड दिँदैन। जसले हरेक भक्तजन आफैमा एक स्वतन्त्र पुजारी रहेको र पर्वको उत्सवमा सबै समान र बराबर रहेको सन्देश दिन्छ। यसले समानता, सामाजिक एकता र मेलमिलापको बृहत् सन्देशलाई जनस्तरमा प्रचार गर्छ।

घाटहरू (नदी र पोखरीका किनारहरू) मा हरेक वर्गका भक्तजन समान हुन्छन्, पूजा विधि समान छ, प्रसाद एकैनासको हुन्छ र भेदभावबिना उत्सव मनाइन्छ। यो पर्वले दिन खोजेको सन्देश नै विविधतामा एकता हो। छठको मूल मर्म वातावरण स्वच्छ राख्न सबै एकजुट हुनुपर्छ भन्ने हो। यो नै यस पर्वको सुन्दर पक्ष हो।

लेखक के कुरामा विश्वस्त छन् भने समाजवाद, समानता र बन्धुत्वको पर्व छठ हो। लेखकले पर्वका सांस्कृतिक पक्षहरूलाई मात्र छलफल नगरी अनुष्ठान र कर्णप्रिय गीतहरूबारे पनि चर्चा गरेका छन्। जसले पर्वको विशेषतालाई थप जीवन्त वनाउँछ।

यो पुस्तक संस्कृति विशेषज्ञहरू, वकिल, साहित्यकार, न्यायाधीश, शिक्षक लगायत सामाजिक विज्ञान तथा कानुनका अध्येताहरुका लागि पनि एक महत्त्वपूर्ण पठनीय सामग्री हुनेमा म विश्वस्त छु।

छठ पर्व उपरको यो पुस्तक एक महत्त्वपूर्ण लिखत हो। नेपालका हरेक पर्वको साहित्य यसैगरी लिखित रुपमा लिपिवद्ध भए नयाँ पुस्ताले समेत आफ्नो संस्कृतिबारे ज्ञान पाउँछन् र हाम्रा संस्कृतिहरु अनन्तकालसम्म जीवन्त रहिरहन्छन्। लेखक झाले नेपालका सांस्कृतिक धरोहरहरु, पर्वहरु लिपिवद्ध हुनुपर्नेमा जोड दिएका छन्।

(कानुनका अध्येता बिष्णुचन्द्र नेपाली उच्च अदालत राजविराजमा शाखा अधिकृत पदमा कार्यरत छन्)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad