ad ad

साहित्य


आज २०९औँ भानु जयन्ती विभिन्न कार्यक्रमसहित मनाइँदै

आज २०९औँ भानु जयन्ती विभिन्न कार्यक्रमसहित मनाइँदै

नेपालखबर
असार २९, २०७९ बुधबार ७:७, काठमाडौँ

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। 

संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवाद सहितको 'रामायण' प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन्।

उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ। 

पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका थिए।

विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले 'जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ' भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए। 

'बधुशिक्षा' उनको अर्को प्रसिद्ध कृति हो। यसैगरी 'प्रश्नोत्तर', 'भक्तमाला', 'रामगीता', फुटकर रचनालगायत कृति छन्।

कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र 'भोलिवाद' का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए–'भोलिभोलि भन्दैमा सव घर बितिगो बक्सियोस् आज झोली '। 

नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ। 

भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उनको सम्मान गर्नुपर्ने र उनका विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको समालोचकहरुको धारणा छ।

त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नातकोत्तरमा थुप्रै शोध ग्रन्थ लेखिएका छन्। 

यस उपलक्ष्यमा आज बिहान काठमाडौँको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र नगर प्रभातफेरी गर्ने कार्यक्रम रहेको बताइएको छ। 

घरघरमा उनले नेपाली भाषामा भावानुवाद गरेको रामायण पाठ गरी भानुजयन्ती मनाइन्छ। 

यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम गरी भानुजयन्ती मनाउँदै छन्।

 भानुभक्तभन्दा अघि नै नेपाली भाषामा कविता लेख्ने कवि भएकाले उनलाई आदिकवि भन्न नमिल्ने तर्क पनि उठ्ने गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .