साहित्य


अनुभूति : मेरो प्रिय साथी

अनुभूति :  मेरो प्रिय साथी

गोविन्द भट्टराई
असार १० , काठमाडौँ

मलाई दिन याद छैन, सम्झना ताजा छ। ऊसँग मेरो एघार वर्ष अगाडि भेट भएको। आकस्मिक र संयोगवस। ताजै छन् ऊसँगका स्मरण। सुखदुःखका सम्झना।

संकटकालका बेला उसकै भरोसाले म रातभरिमा काठमाडौँबाट पटक–पटक झापा पुगेको छु। आफूभन्दा ऊप्रति ज्यादा विश्वास। वर्षे झरी होस् या चिसो ठिही, मलाई ऊजति प्रिय कोही लागेन। ऊसप्रति इमान्दार बन्न सिकायो।

सम्बन्ध व्यवहार होस् या विश्वास दुवैमा उम्दा थियो। त्यसैले आरिसै गर्थेँ उसको र मेरो ‘यार’को। उसैले जोस्याएर धौलागिरी दर्शन गरायो। लाटीकोइली, बुलबुले ताल मैले किताबमा मात्र देखेथें। ऊ नभएको भए यो जुनीमा किताबमै चित्त बुझाउनुपर्थ्याे।

थाहा छ रु कतिपटक उसले मलाई मृत्युको मुखबाट बचाएको छ। अचम्म १ जानेर बचायो कि नजानेर कहिल्यै बताएन। ११ वर्षमा अघिल्ला चारवर्ष उसँगको सम्बन्ध ‘अवैध’ जस्तो थियो। किनकि त्यतिबेला मेरो ‘योग्यता’ पुगेको थिएन। समाज, परिवार, सरकारबाट स्वीकृत नभएको। सम्बन्ध विश्वासको जगमा उभिएको थियो।

चार वर्षमा कहिल्यै हाम्रो सम्बन्धले वैधानिकता खोजेन। उसले कानुनको सहारामा विश्वासै गरेन भनौं। बरु पछिल्लो ७ वर्षमा भने हामीमा एकाध पटक वैधानिक समस्या उब्जियो। सत्य बोल्नैपर्छ, उसले मलाई दुःख दिने नियत राखेन।

आज सम्झँदा यो अवस्थामा ल्याउन उसको अतुलनीय योगदान छ। उसलाई बिर्सनु प्यार, त्याग, बलिदान, समर्पण विश्वासलाई कुल्चनु हो। स्वयंलाई कृतघ्न बनाउनु हो।

सानैमा कल्पना आउथे। ‘मेरो पनि ऊ जस्तासँग संगत भए, आफ्नै ठानेर समीपमा राखेँ।’ ओहो १ संसारमा सबैभन्दा सुखी र खुसी मानिस मैं हुन्थेँ जस्तो लाग्थ्यो।

‘तैँले चिता म पुर्याउँछु’ भनेझैँ मेरो कार्यक्षेत्रको कारण विस्तारै ऊस ग संगत बढ्यो। सुरु सुरुमा दुवै लजायौं। बिस्तारै प्रेमभाव, विश्वास बढ्दै गयो। हामीले सुखदुःख, सपना बाँड्यौँ । उसलाई सुखभन्दा दुःखै दिएँ । कैयन् कष्ट सहेर मलाई सुखै दियो। सायद हाम्रो सम्बन्धले उसलाई घाटा भयो मलाई नाफा।

छ्या, म। उसको मेरो सम्बन्ध नाफा–घाटाको हो र रु के यति जानेर उप्रति इमान्दार हुन सकिन रु अचम्म लाग्छ। कैयन पटक निकै कमजार भएर पनि मलाई सफल बनाइरह्यो। आफ्ना लागि कहिल्यै मागेन। मैले जहिल्यै स्वार्थका लागि उसको अस्तित्व लुट्दै गए । निर्भिकताका साथ निर्लज्जताका साथ।

नुवाकोट–चैनपुर मेरो जन्मगाउँमा थुप्रैपटक उसले पु¥याएको छ। दोलखा भीमेश्वर उसकै सदासयतामा पुगें। पश्चिम नेपालको एउटा सामाजिक अभियन्ताको रुपमा उभ्याउन उसले मप्रति गरेको व्यवहार कसैले गर्न सक्छ रु पलपलमा स्वार्थ बोकेर मान्छे हिँडिरहेका बेला, आफ्नो र अर्को छुट्याउन नसकेर भाइभाइमा मारकाट भइरहेका बेला, बिजातीय, बिगोत्रीय भैकन उसले मप्रति गरेको व्यवहार परिभाषित गर्ने कुनै शब्द नेपाली शब्दकोशमा छ?

जनप्रिय राजा जनक र मणि मुकुन्द सेनबारेमा उसकै कारण जान्ने रहर पलायो भन्दा प्रतिगमनकारी नभइएला १ अस्थिर र दुःखी भएको मेरो मनलाई कहिले ककनी, कहिले काभ्रे नमोबुद्ध पुर्याएर स्थिर बनाएको हो।

चाँदनी दोधारा पुग्दा होस् या बर्दियाको जंगलमा बाढी फस्दा मस गै रहेर हौसला दिने ऊ नभएको भए आज मेरो स्मृतिमा अर्कैले कलम चलाइरहन्थ्यो कि सायद १ नेपालको विकास, रीतिथिति, धर्म—संस्कृति, सभ्यता र इतिहासबारे थोरैमात्र भए पनि मेरो ज्ञानको कारण उही हो।

चेपाङको गरिबीदेखि धिमालको इमान्दारितासम्म, गछिया खोलाको श्रमिक बस्तीदेखि महादेव खोलाको बगरसम्मका दुःखद् जीवनीसँग साक्षात्कार गर्ने मौका दिएको हो। म बुद्धु हुँ उसकै संगतले विद्वान् चिन्न सक्नेसम्म बनायो। प्रेम, सद्भाव, सहयोग, सत्कर्ममा खडेरी परेको बेला सबैमा वर्षादको बाढी चलायो। मै खाउँ मै लाउँ सुखसयल मोज मैं गरुँ भन्ने भनाइलाई बज्रमुक्का चलायो र थचक्कै बसायो।

बाराको अमलेखगञ्ज र कास्कीको लुम्ले आज मेरो दोस्रो घरजस्तै लाग्छन् कारण उही हो। डडेल्धुरा र डोटीका उकाली र घुम्तीसँगै हामीले दुःख साटेका छौं। कैयनपटक बाटामा आपत् परकालाई  सहयोग गर्न जाँगर दिनु, दुर्घटनामा परेकालाई सारा काम छोडेर अस्पताल पुर्याउनुजस्ता काम उसकै हुन्।

उसको कर्मबाट केही सिक्ने प्रयत्न गरे देशले केही राहत पाउँथ्यो कि रु उसका लागि सबै जात, धर्म, संस्कृति, हिमाल–तराई, पूर्व-पश्चिम एकै थिए। विश्व नै एकखालको घरपरिवार थियो। उसले कहिल्यै एउटा राज्य, उपराज्य, टोल राज्यको चाहना राखेन। आज म एउटा गाउँ राज्यको लडाइँमा रमाउँदैछु। उसले टोकियोदेखि लण्डनसम्म, न्युजिल्याण्डदेखि फिनल्याण्डसम्मलाई आफ्नै घर बनाउन सक्नु कसरी तुलना हुनसक्छ उसको र मेरो।

समय पनि कस्तो निर्दयी ! उसँगको लामो संगतले मलाई पूर्ण ‘नेपाली’ बन्ने बुद्धि दिएनछ है रु म खुम्चिँदै गएँ , ऊ फुक्दै गयो। विचार, व्यवहार दुवैमा। म अन्तर्राष्ट्रियवाद पढ्दापढ्दै जातवाद, टोलवाद र घरवाद हुँदै ‘मवाद’ मा पुगेँ । ऊ कर्म गर्दागर्दै अन्तर्राष्ट्रियतावादी बन्न पुग्यो। सायद मैले विद्वान् बन्न पढेँ मात्रै। उसले व्यवहारमा उतार्न कर्म गर्यो।

उसकै संगतले हो मैले नेपालका इञ्जिनियरदेखि ड्राइभरसम्म, करोडपतिदेखि ‘रोडपति’ सम्म संगत गर्न पाएको। सडक सुरक्षा, विकास, पर्यटन प्रवर्धन र खेलकुदसँग सम्बन्धित केही कुरा सिक्न घच्घच्याएको।

हाम्रो देश त अलौकिक र सुन्दर देश हो। २०६४ साल चैतमध्यतिर हेटौंडाको सीमा लजमा सुत्ने तरखरमा रहेको मलाई उसले जुरुक्क उठायो र भन्यो ‘सिमभञ्ज्याङको बाटो लागौं ‘यार’ तैँले सुन्दरताको अर्थ भेट्नेछस्।’

मैले खुरुखुरु उसले भनेजस्तै गरी मानें। ऊ अघि लाग्यो, मैले पछ्याएँ । रातको सवा १२ बजे दामन पुग्यौं। आकाश खुलेको थियो तर, तारा न चन्द्रमा। अलि खुला ढिस्कोमा चढेर दायाँतर्फ हेर्दै थिएँ, निकै तलजस्तो केही उज्यालो र बत्ती बलेजस्तो देखियो। सोचेँ, पालुङ होला।

तर, अचम्म त्यो न पालुङ बजार थियो, न बत्ती बलेको। त्यो त आकाशमा चम्किरहेको तारा र चन्द्रमा थियो। ओहो १ कस्तो अचम्मको देश, कस्तो अलौकिक दृश्य १ कति भाग्यमानी म। चैत्रको मध्यरात, तारा, चन्द्रमाभन्दा माथिजस्तै उभिरहेको ऊ र म। लाग्यो संसारका हजारौंलाई यो दृश्य देखाउन पाए नेपालको कसरी व्याख्या गर्थे होला रु

यो सब उसैको संगतको देन थियो। नत्र मजस्तो कुम्भकर्ण सीमा लजमा घुरेकोघुर्यै हुन्थेँ । देवीघाट–गल्छी सडक बन्दै थियो, केही साथीसँगै उ र म देवीघाटबाट आउँदै थियौं। रातमाटे टारमा भैंसीको ठुलो हुल आक्रामक ढंगले हमला गर्न आए। सायद उसले तिनलाई जिस्क्यायो कि रु कति पनि हरेश नखाई हामीलाई संकटबाट सकुसल पार लगायो।

आजसम्म हाम्रो पुनर्जन्म सम्झेर आङै सिरिङ हुन्छ। खेल पर्यटन, मोटरिङ, टुरिङको सम्भावना उसैले सिकाएको हो। पाल्पाको करुवा होस् या मलेखुको माछा, सप्तरीको खुवा अथवा पोखराको टुसासम्मको स्वाद चखाएको छ। काठमाडौँमा सुतेको म बिहानको चिया खान दुलेगौंडा–खैरेनीटार उसैसँग पुगेको छु।

‘आर्यभञ्ज्याङको घुम्तीमा लेट भयो’ भन्ने गीतले मलाई सानोमा निक्कै प्रभाव पारेको थियो। पोखराबाट आर्यभञ्ज्याङ लाँदै थियो। बिरौटामा साँझको ८ बजे उसले केही खायो अनि हामी अगाडि बढ्यौं। लगभग साढे दश बज्दा राम्दीघाट पुगेपछि उसलाई सञ्चो भएन। मेरै बेवकुफीका कारण।

वर्षातको समय रातभर बाटैमा रुझ्ने या अघि बढ्ने रु हामी बिस्तारै बढ्यौं। गीतैले तानेको आर्यभञ्ज्याङको घुम्ती आठ घण्टामा हामीले हिँडेरै छिचोल्यौं। माओवादी छापामारले राति जङ्गलमा तालिम लिँदै गरेको मैले पहिलोपल्ट भेटेको।

इलामका सुन्दर चियाबारीमा बिहान बिताउँदा लाग्थ्यो, सबैभन्दा खुसी मै छु। हेटौंडा नजिक मनकामनाको दर्शन कतिले गरेका छन् हँ? दोलखाको लामाबगर, जिरी, पवित्र लुम्बिनी, जोमसोम आदि ‘स्वर्ग’ जस्तो ठाउँमा उसलाई नभेट्टाएको भए कहिले पुग्थेँ?

ऐतिहासिक जुम्ला, बाल्मीकी आश्रम, अरुण उपत्यका, कञ्चनजङ्घा र रामारोसनजस्ता सुन्दर भूमिमा पुग्न उसैले मलाई निकै कर गरेको हो।

ऊ समयभन्दा निकै अगाडि रहेछ, म भने पछाडि। खेलाडी, कलाकार, वकिल, पत्रकार सबै उसका फ्यान। संगीना वैद्यदेखि विज्ञानमन्त्री गणेश शाहसम्मलाई उसैले चिनायो। आन्दोलनका बेला एमालेका नेता झलनाथ खनालसँग परिचय थियो। माधवकुमार नेपालसँग राम्रै दोस्ती थियो सायद उसको। मैले सुनेको सुजाता कोइरालासँग निकै राम्रो सम्बन्ध थियो रे। सबै समयमा उसमा अलिकति स्वार्थ, घमण्ड, गैरजिम्मेवारीपन आएन। उसले सबै भूमिकामा आफूलाई अब्बल उभ्यायो। थुप्रैको घरबार बसायो, थुप्रैको ओठमा खुसी ल्यायो। थुप्रैको जीवन कायापलट गर्यो। जिउँदाको जन्ती बन्यो, मर्दाको मलामी।

कतै ऊ ड्राइभर बन्यो, कतै शिक्षक। आफूलाई ट्रेकिङ गाइडको भूमिकादेखि विकासे अभियन्ताको भूमिका, असल प्रेमी र साथीसम्म सबैमा एकैपटक आफ्नो जिम्मेवारी पूरा गर्न सक्यो। व्यापारिक साझेदारदेखि खेलको मूलधारसम्म फिट हुनु भनेको साँच्चै इर्ष्या गर्न लायक रहेछ ऊ।

उसैसँगको यतिको निकटता, महानताका कारण हाम्रो सम्झना ताजै राख्न हरदम म लोभिइरहन्थेँ। तर, कसरी रु जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ नेपालमै पहिलोपटक ‘मोटरिङ र टुरिङ’ को नयाँ खेल सुरु भएको छ। खेलमार्फत् उसको र मेरो मात्र होइन, तपाईं सबैको उसँग सम्बन्ध मौलाइरहने अवसर मिलेको छ।

आरिस नगर्नुस्। ऊ मेरो मात्र होइन, तपाईंहरुको पनि ‘यार’ हो। नेपाल अटोमोबाइल स्पोर्टस् एसोसिएसन (नासा) ले उसँगको सम्बन्ध अझ भावनात्मक, मनोरञ्जनात्मक बनाउने लक्ष्यसमेत लिएको छ।

प्रिय पाठक, के तपाईं उसलाई चिन्नुहुन्छ रु ऊ कोही होइन मेरो, तपाईंको र हाम्रो प्यारो मोटरसाइकल।

असार १०, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.