विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ५३ करोड ७० लाख वयस्कमा मधुमेह देखिएको छ। अर्थात् विश्वमा प्रत्येक ९ जना वयस्कमध्ये १ जनालाई मधुमेह रोग देखिएको छ।
जीवनशैली, खानपान र वंशानुगत कारणले देखिएको मधुमेह सन् २०५० सम्म बढेर ८५ करोड ३० लाख वयस्कमा देखिने आकलन गरिएको छ।
‘साइलेन्ट किलर’ मानिएको मधुमेह रोगले सुरुमा खास लक्षण नदेखाए पनि पछि गम्भीर समस्या निम्त्याउने गर्छ। समस्या बढ्दै जाँदा यसले मुटु, मिर्गौला, आँखा र नसामा गम्भीर असर पार्ने गरेको छ।
सामान्यतया स्वस्थ मानिसको खाली पेटमा रगतको जाँच गर्दा सुगर लेभल १०० भन्दा कम हुनु पर्छ।
हाम्रो शरीरमा रहेको इन्सुलिन हर्मोनले रगतमा भएको चिनीलाई कोषहरूमा पठाएर ऊर्जा दिन्छ। यदि खाली पेटमा सुगर १०० भन्दा कम छ भने इन्सुलिनले राम्रोसँग काम गरिरहेको छ भन्ने बुझाउँछ। तर खाली पेटमा यो लेभल १०० भन्दा माथि छ भने इन्सुलिन हर्मोनले काम गर्न छोडेको बुझाउँछ।
यो भनेको रगतमा चिनीको मात्रा बढ्न थाल्यो र मधुमेह रोग लागेको भन्ने संकेत गर्छ।
मधुमेह रोग लाग्यो भने खाली पेटको जाँच गर्दा सुगर लेभल १२६ भन्दा माथि र खाना खाएपछि २०० भन्दा माथि पुग्छ।
खाली पेटमा १०० देखि १२५ सम्मको अवस्था र खाना पछिको १२६ देखि १९९ सम्मको अवस्थालाई प्रि–डायबिटिजको अवस्था अर्थात् मधुमेह रोग देखिने जोखिम रहेको बुझाउँछ।
मधुमेह कस्तो रोग हो?
मधुमेह अर्थात डाइबिटिजलाई सामान्य भाषामा चिनीको रोग भन्ने गरिन्छ। रगतमा ग्लुकोजको मात्रा बढी भएपछि हुने रोग नै मधुमेह हो।
प्यान्क्रियाज नामक ग्रन्थिबाट उत्पादन हुने इन्सुलिन हर्मोनको अनियमितता हुँदा मधुमेह रोग देखिन्छ।
इन्सुलिनले कार्बोहाइड्रेटलाई पचाउने काम गर्छ र रगतमा यसको मात्रा सन्तुलित र नियमित गर्ने गर्छ। तर जब इन्सुलिन उत्पादन हुन छाड्छ रगतमा चिनीको मात्रा बढ्न थाल्छ। प्यान्क्रियाजले पर्याप्त इन्सुलिन उत्पादन नगर्दा वा शरीरले इन्सुलिनको उपयोग गर्न नसक्दा मधुमेह देखिन्छ।
छिटो–छिटो पिसाब लाग्ने र तिर्खा लाग्ने, बढी भोक लाग्ने, आँखा तिरमिराउने, शरीरको वजन घट्ने, थकाइ महसुस हुने, वाकवाकी लाग्ने, लामो समयसम्म चोटपटक निको नहुने, हात–खुट्टा झमझमाउने, रिंगटा लाग्ने जस्ता लक्षण देखिन्छन्। यस्ता लक्षण देखियो भने तुरुन्त चिकित्सकको सम्पर्कमा जानुपर्छ। रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्ने, खानपानमा ध्यान दिने र मोटोपनको समस्या छ भने कम गर्ने तथा चिकित्सकको सल्लाहमा नियमित औषधि सेवन गर्ने हो मधुमेहबाट बच्न सकिन्छ।
चिकित्सकका अनुसार मधुमेह आनुवंशिक कारणले पनि लाग्ने रोग हो। यदि बाबु–आमामा मधुमेह देखिएको छ भने छोराछोरीमा पनि सर्ने सम्भावना २० प्रतिशतसम्म हुन्छ।
यस्तै बढी मोटोपनको समस्या भएका व्यक्तिमा पनि मधुमेह हुने सम्भावना बढी हुन्छ।
मधुमेह कहिलेकाहीँ भाइरसको संक्रमणका कारणले पनि देखिन्छ। इन्सुलिन उत्पादन गर्ने प्यान्क्रियाजको बिटा कोसमा भाइरसको संक्रमण हुँदा इन्सुलिनको उत्पादन हुन सक्दैन, जसको कारण मधुमेह देखिन्छ।
अस्वस्थकर जीवनशैली, खानपान, उच्च रक्तचाप र कोलेस्ट्रोल हुनु पनि मधुमेहका कारक हुन्।
मधुमेहका प्रकार
चिकित्सकका अनुसार मधुमेह मुख्यतया दुई प्रकारका हुन्छन् – टाइप वान र टाइप टु।
टाइप वान मधुमेहः यो सामान्यतया बालबालिकामा हुने गर्छ। जन्मजात इन्सुलिन हर्मोन उत्पादन नहुने अवस्था हो यो। जुनबेला इन्सुलिनको उत्पादन शून्य वा अत्यन्त न्यून हुन्छ। उपचारका लागि कृत्रिम रूपमा इन्जेक्सनद्वारा इन्सुलिन दिनुपर्छ।
टाइप टु मधुमेहः यो सामान्यतया प्रौढ अवस्थामा हुने गर्छ। र, विश्वमा भएका मधुमेहीमध्ये धेरै यही प्रकारका रोगी रहेका छन्। यसमा प्यान्क्रियाजले कम इन्सुलिन उत्पादन गर्ने अवस्थालाई बुझाउँछ। जीवनशैली र खानपान, वंशानुगत कारणले टाइप टु मधुमेह देखिन्छ।
यस्तै मधुमेहको समस्या गर्भवती महिलालाई पनि देखिन्छ। तर यो समस्या गर्भावस्थापछि आफैँ ठीक हुन्छ। गर्भवती अवस्थामा हर्मोन परिवर्तनका कारण रगतमा चिनीको मात्रा उच्च भई मधुमेह देखिन्छ। यस्तो प्रकारको मधुमेहलाई जेस्टेसनल मधुमेह भनिन्छ।
रगतमा चिनीको मात्रा नियन्त्रण भएन भने रगतमा भएको अत्यधिक ग्लुकोजले आँखाको रेटिनामा भएको रक्तनलीमा असर गर्छ। जसका कारण आँखा नदेख्ने समस्या देखिन सक्छ। यस्तै मधुमेहले स्नायु प्रणालीको मुख्य अंग मस्तिष्कमा पनि असर गर्छ। त्यसकारण मधुमेह भएका व्यक्तिले समय–समयमा रगतमा सुगरको मात्रा कति छ भनेर परीक्षण गर्ने, खानपानमा ध्यान दिने गर्नुपर्छ।
मधुमेह रोगबारे डा कामाक्षा शाहको भिडिओ ब्रिफिङ :

प्रतिक्रिया