जीवनशैली


लाखौँ महिलाको ज्यान बचाइरहेको एउटा खोप

लाखौँ महिलाको ज्यान बचाइरहेको एउटा खोप

प्रज्ञा तिम्सिना
माघ २३, २०८२ शुक्रबार ६:४६, काठमाडौँ

बीसौँ शताब्दीको सुरुमै अमेरिकामा वार्षिक करिब ४० हजार महिलाको मृत्यु हुन थाल्यो। रोग पहिचान नभई धमाधम महिलाको मृत्यु भएपछि चिकित्सकहरू हैरान भए। चिकित्सक, वैज्ञानिकहरूले उपचार विधिबारे अध्ययन गर्न थाले। 

अध्ययनले प्रजनन् अंगमा समस्याका कारण महिलाको मृत्युदर बढ्दै गएको पत्ता लाग्यो। तर रोग पहिचान भएन। 

यता ग्रिसका वैज्ञानिक र माइक्रोस्कोप विशेषज्ञ जर्जियोस पापानिकोलाउले अमेरिका आएर सुँगुरहरूको प्रजनन् प्रक्रियाको अध्ययन गर्न थालेका थिए। उनले क्रोमोजोम र फिजियोलोजी अध्ययन गर्दा सुँगुरहरूमा शारीरिक परिवर्तनहरू भेटाएका थिए। उनले गिनी सुँगुरको प्रारम्भिक नजिता प्रकाशन गरे। 

सन् १९१६ मा पुनः गिनी सुँगुरको यौनांगको अध्ययन विधि विकास गरे। पापानिकोलाउले सन् १९२० मा गिनी सुँगुरहरूमा गरेको अध्ययनले देखिएको परिवर्तन महिलाको प्रजनन् अंगमा हुन्छ कि हुँदैन भनेर अध्ययन गर्न थाले। यो अध्ययन उनले आफ्नी श्रीमती प्रयोग गरे। 

उनले २१ वर्षसम्म आफ्नी श्रीमतीमा परीक्षण गरेका थिए। 

अध्ययनमा क्रममा उनले महिलाको पाठेघरको कोसिकामा भएका विभिन्न प्रकारका परिवर्तनहरूले शरीरमा भएको रोगहरूको संकेत गर्ने र महिलाको गर्भाशयमा पनि त्यस्ता परिवर्तनहरू हुन सक्छ भन्ने पत्ता लगाए। 

सन् १९२८ मा अमेरिकामा भएको एक सम्मेलनमा पहिलो पटक उनले महिलाको योनी वा पाठेघरको मुखबाट कोसिका लिएर माइक्रोस्कोपमा हेरेर क्यान्सर कोसिका पत्ता लगाउन सकिने जनाए। 

पापानिकोलाउले सन् १९४३ मा पाठेघरको क्यान्सर पहिचान गर्न सकिने सुझाव सहित पुस्तक प्रकाशन गरे। जसमा उनले ‘प्याप स्मियर’ परीक्षणले सामान्य र असामान्य पाठेघरको कोसिकाहरूलाई माइक्रोस्कोपबाट हेर्न सकिन्छ भन्ने उल्लेख गरेका छन्। उनले कोसिकाहरूको कसरी वर्गीकरण गर्नुपर्छ भन्ने विवरण दिएका छन्। 

उनले दिएको सुझाव अनुसार प्याप स्मियर परीक्षण विधि प्रयोग गर्न थालियो। क्यान्सरका कोसिका पहिचान गरेको भन्दै पापानिकोलाउको नामबाट नै ‘प्याप स्मियर’ परीक्षण भनेर नामाकरण गरियो। 

हाल विश्वभर प्याप परीक्षणबाट महिलाको पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने गरिन्छ। परीक्षण विधि पत्ता लागे पनि रोगको कारण भने पत्ता लाग्न सकेको थिएन। 

सन् १९८० मा जर्मनीका वैज्ञानिक हेराल्ड जुर हौजनले ‘ह्युमन पापिलोमा’ भाइरसका कारण महिलामा सर्भाइकल क्यान्सर अर्थात पाठेघरको मुखको क्यान्सर हुने गरेको पत्ता लगाए। 

उनले पाठेघरको मुखको क्यान्सर ह्युमन पापिलोमा भाइरसका केही विशिष्ट प्रकारहरू (जस्तै एचपीभी १६ र एचपीभी १८) को संक्रमणको कारणले हुन्छ र भाइरसले पाठेघरको मुखको कोसिकामा परिवर्तन ल्याएर क्यान्सर हुन्छ भनेर प्रमाणित गरेका थिए। 

जुर हौजनको खोजले पाठेघरको क्यान्सरको कारण पत्ता लगाई उपचार गराउन सहयोग गर्‍यो

एचपीभी र क्यान्सरबीचको सम्बन्ध प्रमाणित गरेको भन्दै सन् २००८ मा जुर हौजनलाई चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार प्रदान गरियो। 

उनको खोजपछि सन् १९९१ देखि वैज्ञानिकहरू खोप विकासमा लागे। डा डफ लोवी र डाजोन सिलरले लामो अनुसन्धान गरी खोप विकास गरे। खोप सन् २००६ देखि सार्वजनिक रूपमा उपलब्ध हुँदै आएको छ। 

दुई चिकित्सकले विकास गरेको खोप हाल अमेरिका, बेलायत र चीनले उत्पादन गर्दै आएका छन्। हाल अमेरिकाले उत्पादन गर्ने खोपलाई गार्डासिल भनिन्छ भने बेलायतले बनाएको खोपलाई सर्भारिक्स र चीनले उत्पादन गर्नेलाई सेकोलिन खोप भनिन्छ। 

खोप ह्युमन पापिलोमा भाइरस (एचपीभी)का कारण हुने पाठेघरको मुखको क्यान्सर तथा अन्य यौनरोगहरू लाग्ने भाइरसका प्रजातिहरू विरुद्ध प्रभावकारी मानिन्छ। खोप विशेषगरी ९ देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई लगाउन सिफारिस गरिएको छ। 

हाल विश्वका १४५ देशले १४ वर्ष उमेर समूहका किशोरीलाई एचपीभी खोप दिँदै आएका छन्।

के हो ह्युमन पापिलोमा भाइरस?
ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) छाला र यौन अंगमा असर गर्ने एक प्रकारको छिटो सर्ने भाइरस हो। भाइरसले मुख्यतः छाला र शरीरका ओसिलो सतहहरूको कोसिकालाई असर गर्छ। एचपीभी तीव्र रुपमा फैलिने भाइरसमा पर्छ। 

पाठेघरको मुखमा हुने क्यान्सरमध्ये ९५ प्रतिशतभन्दा बढी क्यान्सर एचपीभी भाइरसका कारणले हुन्छ। एचपीभीका २०० भन्दा बढी किसिमका प्रजातिहरू हुन्छन्।  

यसमध्ये कम्तीमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक हुन्। क्यान्सर रोग विशेषज्ञ डा सरिता घिमिरेका अनुसार नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभीको प्रजाति १६ र १८ बाट भएको पाइएको छ  यसले महिलाहरूको पाठेघरको मुखको क्यान्सरको साथै यौनांगमा आउने मुसा तथा यौनांगको क्यान्सर समेत गराउन सक्छ। 

एचपीभी मुख्यतः संक्रमित व्यक्तिसँगको यौन सम्पर्कबाट सर्छ। तर यो संक्रमित व्यक्तिको यौनांगको छाला वा तरल पदार्थसँगको सम्पर्क मार्फत पनि सर्न सक्दछ।  यसको संक्रमण पुरुषमा पनि हुन्छ।  

पुरुषबाट महिलामा सर्ने एचपीभी भाइरसका कारण हुने पाठेघरको मुखको क्यान्सरको सुरुको अवस्थामा लक्षण र चिन्हहरू देखिँदैन। अन्तिम अवस्थामा मात्र पहिचान हुन सक्छ। लक्षण बढ्दै गएपछि तल्लो पेट दुख्ने, अनियमित रुपमा रगत बग्ने, धेरै रगत बग्ने, गन्हाउने पानी बग्ने, कमजोर हुँदै जाने र रक्तअल्पता जस्ता लक्षणहरू देखिन्छन।

नेपालमा एचपीभी खोप
महिलाहरूमा पाठेघरको मुखको क्यान्सर विश्वमा चौथो मुख्य क्यान्सरमा पर्छ भने नेपालमा दोस्रो क्यान्सरमा पर्छ। हरेक वर्ष २ हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुन थालेपछि नेपाल सरकारले नेपालमा खोप लगाउन सुरु गर्‍यो। 

नेपालमा करिब ९ वर्षअगाडि सन् २०१६  मा चितवन र कास्की जिल्लामा एचपीभी खोप अभियान सञ्चालन गरिएको थियो। कक्षा ९ का छात्राहरू र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरूलाई हरेक विद्यालयमा खोप केन्द्र सञ्चालन गरेर ६ महिनाको फरकमा दुई मात्रा लगाइएको थियो। 

त्यसपछि २ वर्षअघि सातै प्रदेशका १/१ वटा अस्पतालबाट १४ वर्ष उमेरका करिब १० हजार किशोरीलाई ६ महिनाको फरकमा दुई मात्रा लगाइएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक वर्ष १ हजार ३ सय १३ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन थाले पनि नियमित खोप तालिकामा राखेर खोप लगाउनेबारे छलफल सुरु गर्‍यो। 

राष्ट्रिय खोप सल्लाहकार समितिको २०८१ अश्विन २३ गते बसेको बैठकले महिलाहरूमा पाठेघरको मुखको क्यान्सरले मृत्युदर बढेको भन्दै एचपीभी खोप लगाउनेबारे सिफारिस गरेको थियो। 

सिफारिस बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गत वर्ष माघ २२ गतेदेखि फागुन ६ गतेसम्म १० देखि १४ वर्ष उमेर समूहमा किशोरीमा खोप अभियान सञ्चालन गरेको थियो। 

यस वर्षदेखि नियमित खोप कार्यक्रम अन्र्तगत राखेर खोेप अभियान सञ्चालन गर्न लागिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा अभियान गौतमले ११ देखि १४ वर्ष उमेरका किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘एचपीभी’ खोप लगाउने निर्णय भएको बताए। 

महाशाखाले माघ २५ देखि फागुन १५ गतेसम्म विद्यालयबाहिर रहेका १० वर्ष उमेर समूहका किशोरी र कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने ३ लाख ५० हजार किशोरीलाई खोप लगाउने निर्णय भएको जनाएको छ। 

डा गौतमले गत वर्ष खोप लगाउन छुटेका किशोरीलाई प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गरिने बताए। 

‘विद्यालयबाहिर रहेका १० वर्ष उमेर समूहका किशोरी, कक्षा ६ मा अध्ययनरत सबै छात्रा र गत वर्ष खोप लगाउन छुटेका कक्षा ७ देखि १० सम्म अध्ययरत छात्रालाई खोप लगाउनेछौँ,’ उनले भने।

क्यान्सर रोग विशेषज्ञ डा घिमिरेका अनुसार पाठेघरको मुखको क्यान्सर रोकथामको पहिलो उपाय नै एचपीभी खोप दिनु हो। 

खोप जति सानो उमेरमा दिन सकियो, त्यति बढी प्रभावकारी हुने उनको भनाइ छ एचपीभी भाइरस यौन सम्र्पकबाट सर्ने हुँदा १४ वर्ष उमेर समूहका किशोरीहरू यौन सम्पर्क सुरु नगर्ने हुँदा १० देखि १४ वर्ष उमेरमा दिनु उपयुक्त हुन्छ। 

डा घिमिरेका अनुसार सानै उमेरमा खोप लगाउँदा शरीरले भाइरसविरुद्ध एन्टिबडी बनाउँछ र रोग सर्न पाउँदैन। भाइरस शरीरमा प्रवेश गरिसकेको छ भने खोपले काम नगर्ने हुँदा सानै उमेरमा दिनु उपयुक्त हुने उनले बताइन्। 

पाठेघरको मुखको क्यान्सरबाट बच्ने उपाय
चिकित्सकका अनुसार पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सकिने रोग हो। कम उमेरमा विवाह गर्ने, कम उमेरमा धेरै बच्चा जन्माउने महिला बढी जोखिममा हुने हुँदा बालविवाहलाई निरुत्साहित गर्ने, निश्चित अन्तरालमा मात्र बच्चा पाउने, धेरै जनासँग यौनसम्पर्क नराख्ने, यौनाङ्गको सरसफाइमा ध्यान दिँदा पनि यसबाट बच्न सकिन्छ। 

यस्तै सुर्तीजन्य पदार्थ सेवन नगर्ने, कुनै पनि यौनरोगको समयमै उपचार गराएर पनि पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ। 

समय समयमा स्क्रिनिङ परीक्षण गर्ने र १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई एचपीभी खोप लगाउने गर्दा पाठेघरको मुखमा हुने क्यान्सरबाट बच्न सकिन्छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad