शरीरमा कुनै घाउ चोटपटक लाग्यो वा हड्डी भाँचियो भने हामी सजिलै हेरेर नै अनुमान गर्न सक्छौँ। तर, जब हाम्रो शरीरभित्र चोटपटक वा कुनै रोग लागे कसरी पत्ता लाग्छ होला?
चिकित्सा विज्ञानले यस्तो प्रविधि विकास गरेको छ, जसले शरीर भित्र भएका रोगहरुलाई तस्बिरमा निकाल्न र शरीरका अंग कस्तो अवस्थामा छन् भने सजिलै पत्ता लगाउन सक्छ। जसलाई चिकित्सकीय भाषामा रेडियोग्राफी भनिन्छ। यसभित्र एक्स–रे, भिडिओ एक्स–रे, सीटी स्क्यान, एमआरआई र हाल विकासित हुँदै गएको इन्टरभेन्सनल रेडियोलोजी पर्छ। यी उपकरण चलाउनेलाई रेडियोलोजिस्ट चिकित्सक भनिन्छ।
रेडियोग्राफी रोग पहिचानका लागि अत्यन्त महत्त्वपूर्ण रहँदै आएको छ।
रेडियोग्राफीको आविष्कार जर्मनका भौतिकशास्त्री विल्हेल्म कोनराड रोन्टजेनले गरेका हुन्। भौतिकशास्त्री रोन्टजेनले सन् १८९५ मा खिचेको ‘हातको एक्स–रे’ तस्बिरलाई संसारकै पहिलो रेडियोग्राफी मानिन्छ। रोन्टजेनले आफ्नी पत्नी अन्ना बर्था रोन्टजेनको देब्रे हातको औँठीसहितको तस्बिर खिचेका थिए।
१९ शताब्दीको अन्त्यतिर उनले एक्स–रेको खोज गरेर आधुनिक चिकित्सामा इमेजिङको जग बसाएका थिए। यही कारण सन् १९०१ मा उनले भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार समेत पाए।
भिडिओ एक्स–रे
भिडिओ एक्स–रे उच्च फ्रिक्वेन्सीको ध्वनि प्रयोग गरेर शरीर भित्रको अंगको प्रत्यक्ष तस्बिर निकाल्न प्रयोग गरिन्छ। कुनै हानिकारक विकिरण प्रयोग नहुने हुनाले रेडियोग्राफीमा भिडिओ एक्स–रे सबैभन्दा सुरक्षित मानिन्छ। सुरक्षित भएकै कारण गर्भमा रहेको शिशु हेर्न भिडिओ एक्स–रे प्रयोग हुने गर्छ। गर्भमा शिशु कस्तो अवस्थामा बसेको छ, अंग विकास भएको छ, छैन, यसबाट हेर्न सकिन्छ।
भिडिओ एक्स–रे जाँच छिटोछरितो, दुखाइरहित र अन्य रेडियोलोजी परीक्षणभन्दा सस्तो मानिन्छ।
यसबाहेक भिडिओ एक्स–रेलाई बायोप्सी (मासु जाँच गर्न) पेट तथा फोक्सोमा जमेको पानी निकाल्न पनि प्रयोग गरिन्छ। यस्तै हात, खुट्टाका नसा या कुनै हिस्सा सुन्निएको छ भने पनि भिडिओ एक्स–रे गरिन्छ।
एक्स–रे
एक्स–रे शरीरको कुनै अंगमा रेडियसन पठाएर त्यो अंगको तस्बिर तयार पार्ने प्रविधि हो। एक्स–रेबाट चित्र बनाउन सुरक्षित मात्रामा विकिरणको उपयोग गरिन्छ। एक्स–रे मार्फत तयार भएको तस्बिर हेरेर चिकित्सकले कस्तो उपचार गर्ने हो, त्यसबारे योजना बनाउँछन्।
हड्डी भाँचिएको अवस्थामा, कुनै आकस्मिक दुर्घटनामा परेर शरीरको कुनै पनि भागको हड्डी भाँचिएको छ कि छैन? भाँचिएको हड्डीको अवस्था के कस्तो छ भन्ने पहिचान गर्न समेत एक्सरे गरिन्छ। हड्डीको स्वास्थ्य मूल्यांकन गर्न एक्स–रे सुरक्षित र प्रभावकारी तरिका हो।
छातीको संक्रमण हेर्न एक्स–रे गरिन्छ। श्वासप्रश्वास सम्बन्धी समस्याको लक्षण देखिएमा एक्स–रे गरिन्छ।
त्यसका साथै, छातीमा पानी जम्मा भएको, हावा भरिएको पत्ता लगाउन एक्स–रे गरिन्छ।
सीटी स्क्यान
कुनै पनि रोगको अनुसन्धान गर्दा शरीरको तन्तु, रक्तनली वा हड्डीको विस्तृत जानकारी आवश्यक परेमा सीटी स्क्यान गर्नुपर्छ। मांसपेशीको समस्या, हड्डी सम्बन्धी गम्भीर रोगहरू, पेटको समस्या, क्यान्सर उपचार गर्दा सीटी स्क्यान आवश्यक पर्छ। एक्स–रेमा अंगहरू कुन अवस्थामा छन् भनेर मात्र थाहा हुन्छ भने सीटी स्क्यानमा अंगहरूको स्थितिका साथै रोग कुन चरणमा छ भन्नेसमेत पत्ता लगाउन सकिन्छ।
शरीरको कुनै पनि आन्तरिक चोटको उपचारमा र मुटुसँग सम्बन्धित समस्या वा रोगहरूको उपचारमा बिरामीको अवस्था कस्तो छ भनेर विस्तृत रूपमा हेर्नको लागि पनि सीटी स्क्यान गरिन्छ।
केही गम्भीर रोगहरूमा चिकित्सकले शरीरको कुनै निश्चित भागको विस्तृत जानकारीको लिनका लागि सीटी स्क्यान गर्न भन्छन्। सीटी स्क्यान एक्स–रे को एउटा रूप हो। जसको चिकित्सकीय नाम ‘कम्प्युटराइज्ड फोटोग्राफी स्क्यान’ हो।
इन्टरभेन्सनल रेडियोलोजी
इन्टरभेन्सनल रेडियोलोजी सेवा रेडियोग्राफीको नयाँ आविष्कार हो। यसलाई सुपरस्पेसलाइजेसन प्रविधि पनि भनिन्छ। यस प्रविधिबाट बिरामीको रक्तनलीको समस्या र शरीरको कुनै पनि भागको आउन गाँठागुठीको पहिचान गरी उपचार गरिन्छ।
यो रोगको पहिचानभन्दा पनि उपचारका लागि प्रयोग हुँदै आएको छ। शरीरमा सानो प्वाल बनाएर एक्स रे, यूएसजी, सीटी स्क्यान वा फ्लोरोस्कोपी जस्ता इमेजहरुबाट शरीरको अवस्थालाई हेर्दैै विभिन्न पातलो तार र क्याथेटर तथा आवश्यक उपकरण छिराएर शल्यक्रिया गर्नुलाई इन्टरभेन्सनल रेडियोलोजी भनिन्छ।
क्याथेटर (टयुब) र तार इन्टरभेन्सन पद्धतिमा प्रयोग गरिने उपकरण हो। तारले बाटो पत्ता लगाई क्याथेटर छिराइन्छ। जसको माध्यमबाट नसा खोल्ने र बन्द गर्ने काम गरिन्छ।
यो प्रविधि ट्युमरदेखि नसा अवरोधसम्म जटिल शल्यक्रियामा धेरै प्रभावकारी मानिन्छ।
रेडियोलोजी सेवा भनेको के हो? यो किन आवश्यक छ भन्ने विषयमा रेडियोलोजिस्ट डा उत्तमकुमार गौतमको भिडिओ बिफ्रिङ :

प्रतिक्रिया