सन् १९२८ मा लन्डनको सेन्ट मेरी अस्पतालको प्रयोगशालामा सूक्ष्म जीवविज्ञ डा. अलेक्ज्यान्डर फ्लेमिङ ब्याक्टेरियाको कल्चर गरिरहेका थिए। कल्चर गरिरहेको समय उनले स्ट्याफिलोकोकस ब्याक्टेरियाको कल्चरमा एउटा फङ्गस (ढुसी) बढिरहेको देखे।
फङ्गसले ब्याक्टेरियाको वरिपरि स्पष्ट रूपमा वृद्धि रोकिरहेको देखियो। उनले त्यसलाई ध्यानपूर्वक अध्ययन गरे। फङ्गसले ब्याक्टेरियाको वृद्धिलाई रोक्न एउटा रसायन उत्पन्न गरिरहेको निष्कर्ष निकाले। यसलाई उनले पेनिसिलिन नाम दिए।।
यो नै विश्वको पहिलो एन्टिबायोटिक थियो, जसले आधुनिक औषधिको युगको सुरुवात गर्यो।
पेनिसिलिन विश्वमा पत्ता लागेको पहिलो एन्टिबायोटिक औषधि हो। फङ्गसबाट उत्पादित यो रसायनले ब्याक्टेरियाको वृद्धिलाई रोेकेको थियो। सो समय प्राणघातक रोग भनेर चिनिएका निमोनिया, गोनोरिया र सेप्सिसजस्ता संक्रमणहरूलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न उपयोगी बन्यो। यसले औषधि विज्ञानमा नयाँ युगको सुरुवात गर्यो, जसलाई हामी आज एन्टिबायोटिक्सको युगका रूपमा चिन्छौं।
पेनिसिलिनको व्यावसायिक उत्पादन सन् १९४० देखि मात्र हुन थाल्यो। अमेरिकाले व्यापक रूपमा पेनिसिलिन उत्पादन गरेको थियो। दोस्रो विश्वयुद्धको समयमा पेनिसिलिनबाट घाइते सैनिकहरूको उपचार गरिएको थियो। सो समयमा प्राणघातक रोगको रूपमा चिनिएको निमोनियाको संक्रमणलाई रोक्न पनि पेनिसिलिन उपयोगी बनेको थियो।
पेनिसिलिनले विभिन्न संक्रमणजन्य रोगहरूको प्रभावकारी उपचार सम्भव बनायो र हजारौँ मानिसको ज्यान जोगाउन मद्दत गर्यो। यसको खोजका लागि डा फ्लेमिङ, फ्लोरे र चेनलाई चिकित्सा विज्ञान तर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो।
पेनिसिलिनले अन्य धेरै एन्टिबायोटिक्सको विकासको ढोका खोल्यो र आधुनिक औषधि विज्ञानको आधार स्तम्भ बन्यो।
यस अवधिमा अन्य एन्टिबायोटिकहरू पनि पत्ता लाग्दै गए। वैज्ञानिक वाक्सम्यानले माटोमा पाइने सूक्ष्म जीवहरूका माध्यमबाट संक्रमणकारी रोगहरूको उपचार गर्न सकिने स्ट्रेप्टोमाइसिन एन्टिबायोटिक औषधि पत्ता लगाए। यसले क्षयरोगको उपचार सम्भव भयो।
वाक्सम्यानलाई सन् १९५२ मा चिकित्सा क्षेत्रमा स्ट्रेप्टोमाइसिनको आविष्कारका लागि नोबेल पुरस्कार प्रदान गरियो। उनलाई एन्टिबायोटिकका पिता पनि भनिन्छ।
यस्तै सन् १९५० देखि १९६० को दशकमा क्लोरामफेनिकोल र एजिथ्रोमाइसिन सेफलोस्पोरिन र म्याक्रोलाइड्स जस्ता एन्टिबायोटिक्स पत्ता लागे, जसले संक्रमणहरूको विस्तृत उपचार गर्न सहयोग गरे।
एन्टिबायोटिक औषधि आविष्कार सँगै यसको जथाभावी प्रयोग हुन थाल्यो। चिकित्सकको सल्लाहबिना नै जथाभावी रूपमा प्रयोग बढ्दै गयो। सन् १९७० देखि १९९० समयमा एन्टिबायोटिक प्रतिरोध अर्थात एन्टिबायोटिक औषधिले काम नगर्ने समस्या देखिन थाल्यो। सन् २००० पछि नयाँ एन्टिबायोटिकहरूको विकास चुनौतीपूर्ण हुँदै गएको छ।
एन्टिबायोटिकको जथाभावी प्रयोगले ब्याक्टेरिया एन्टिबायोटिक प्रतिरोधी बन्दै गएको छ। हाल, एन्टिबायोटिक प्रतिरोध ब्याक्टेरिया विश्वव्यापी समस्या बनेको छ।
प्रतिरोधी ब्याक्टेरियाको चुनौती समाधान गर्न नयाँ औषधि पत्ता लागेका छन्। तर, चिकित्सकको सल्लाहबिना प्रयोग गर्ने दर बढेका कारण यसको असर हाल नियन्त्रण बाहिर पुगेको छ। यसरी दसौँ करोडको मानिसको ज्यान बचाएको यो औषधि जथाभावी प्रयोगका कारण मानिसहरूको मृत्युको कारण पनि बन्न थालेको छ।
एन्टिबायोटिक औषधिको प्रयोग किन गरिन्छ?
एन्टिबायोटिक औषधिको प्रयोग शरीरमा ब्याक्टेरियाद्वारा लाग्ने संक्रमणहरूको उपचारका लागि गरिन्छ। यी औषधिहरू ब्याक्टेरियालाई मार्न वा तिनको वृद्धि रोक्नका लागि प्रयोग गरिन्छ। एन्टिबायोटिकहरू ब्याक्टेरियाद्वारा लाग्ने रोगहरू जस्तैः निमोनिया, टन्सिलाइटिस, मेनिन्जाइटिस, क्षयरोग, डायरिया (ब्याक्टेरियाजन्य) यौनजन्य रोगहरू (सिफिलिस, गोनोरिया) को उपचारमा प्रयोग गरिन्छ। यस्तै ठूलो शल्यक्रिया वा चोटपटक भएको अवस्थामा संक्रमण रोक्न एन्टिबायोटिक दिनुपर्छ।
मुटुको शल्यक्रिया, अंग प्रत्यारोपण, रगतको संक्रमण (सेप्सिस) को उपचार, ब्याक्टेरिया रगतमा फैलिँदा हुने गम्भीर समस्या नियन्त्रण गर्न एन्टिबायोटिक आवश्यक हुन्छ। तर मात्रा नपुर्याई खाने, जथाभावी प्रयोग गर्ने गर्नाले एन्टिबायोटिकले काम नै नगर्ने अवस्था आउन थालेको छ।
एन्टिबायोटिक औषधिको प्रयोगबारे जनचेतना फैलाउन सन् २०१५ देखि एन्टिबायोटिक जनचेतना सप्ताह मनाउन थालिएको छ।
एन्टिबायोटिक औषधिको जिम्मेवार प्रयोगबारे जनचेतना फैलाउनु र एन्टिबायोटिक प्रतिरोधको गम्भीर समस्यालाई सम्बोधन गर्न विश्व स्वास्थ्य संगठनको पहलमा नोभेम्बर १८ देखि २४ सम्म विश्व एन्टिमाइक्रोबियल प्रतिरोध सप्ताह मनाउन थालिएको छ।
एन्टिबायोटिक औषधिको जथाभावी प्रयोगले शरीरमा कस्तो असर गर्छ?
विश्व स्वास्थ्य संगठनका अनुसार एन्टिबायोटिक औषधिको अनावश्यक र अत्यधिक प्रयोगले ब्याक्टेरियाहरू औषधिप्रति प्रतिरोधी बन्दै गएका छन्। जसले संक्रमणजन्य रोगहरूको उपचार कठिन र महँगो बनाउँदै लगेको छ।
विश्व स्वास्थ्य संगठन नेपालमा कार्यरत डा पल्पसा कंसाकार तुलाधरका अनुसार एन्टिबायोटिकले हानिकारक ब्याक्टेरियासँगै शरीरमा फाइदा पुर्याउने ब्याक्टेरियालाई पनि नष्ट गर्छ।
एन्टिबायोटिकले एलर्जी गराउन सक्छ। जस्तैः छाला रातो वा सुन्निनु, श्वासप्रश्वासमा समस्या, मिर्गौला र कलेजोलाई पनि कमजोर बनाउन सक्छ। विशेषगरी दीर्घरोगीहरू र वृद्ध व्यक्तिहरूलाई यसले गम्भीर प्रभाव पार्न सक्छ। चिकित्सकका अनुसार एन्टिबायोटिकको बारम्बार प्रयोगले शरीरको रोग प्रतिरोधी क्षमता कमजोर बनाउँछ। यस्तै एन्टिबायोटिकले ब्याक्टेरियालाई पूर्ण रूपमा नष्ट नगर्दा संक्रमण बारम्बार दोहोरिन सक्छ।
डा तुलाधरका अनुसार डाक्टरको सल्लाहबिना एन्टिबायोटिक औषधि खान हुँदैन। एन्टिबायोटिक कहिल्यै पनि आफैँले किन्न र प्रयोग गर्न हुँदैन। डाक्टरले संक्रमणको प्रकार पहिचान गरेर उचित एन्टिबायोटिक सिफारिस गरेपछि मात्र एन्टिबायोटिक औषधि प्रयोग गर्नुपर्छ।
चिकित्सकले भनेको औषधि लिनु पर्छ। तोकिएको समयसम्म एन्टिबायोटिक औषधि सेवन नगरेमा ब्याक्टेरिया बलियो र प्रतिरोधी बन्ने हुँदा औषधि तोकिएको समयसम्म प्रयोग गर्नुपर्छ।
विश्व स्वास्थ्य संगठनका अनुसार एन्टिबायोटिक औषधिको जथाभावी प्रयोग नियन्त्रण गर्न नसके सन् २०५० सम्म १ करोड व्यक्तिको मृत्यु हुने आकलन गरेको छ। संगठनले एन्टिबायोटिक प्रतिरोधका कारण वार्षिक ७ लाख व्यक्तिको मृत्यु हुने गरेको भन्दै सन् २०५० सम्म १ करोड व्यक्तिको मृत्यु हुने अनुमान गरेको हो। संगठनले नेपाल जस्तो विकासोन्मुख देशमा यसको प्रभाव बढी हुने जनाएको छ।
Shares

प्रतिक्रिया