कानका बाहिरी, मध्य र भित्री गरी तीन भाग हुन्छन्। कानको भित्री भागमा कक्लिया हुन्छ। कक्लियाले बाहिरबाट आएको ध्वनि अर्थात् ‘मेकानिकल इनर्जी’लाई ‘इलेक्ट्रिक इनर्जी’मा परिवर्तन गरेर मस्तिष्कसम्म पुर्याउने काम गर्छ र हामी सुन्छौँ।

तर कक्लियाभित्र नसामा खराबी आयो भने ध्वनि मस्तिष्कसम्म जान पाउँदैन र हाम्रो कानले सुन्न सक्दैन। कानभित्र कक्लिया बिग्रिएमा विस्तारै श्रवणशक्ति हराउँदै गएर कानै नसुन्ने समस्या देखिन्छ। जसलाई चिकित्सकले बहिरोपनको समस्या भन्छन्।
वंशाणुगत र अन्य संक्रमणका कारण श्रवणशक्ति गुम्ने गर्छ। कक्लियामा क्षति पुगेमा दीर्घ रूपमा कान नसुन्ने समस्या देखिन्छ। तर, प्रविधिले बहिरोपनको समस्या भएका व्यक्तिले पनि सुन्न सक्ने बनाउँछ। जसलाई ‘कक्लियर इम्प्लान्ट’ भनिन्छ।
दीर्घकालीन कान नसुन्ने समस्या भएकामा ‘कक्लियर इम्प्लान्ट’ राखेर कान सुन्न सक्ने बनाउन सकिन्छ।
चिकित्सकका अनुसार कक्लियर इम्प्लान्ट भनेको एउटा यस्तो डिभाइस हो, जुन कानको भित्री भागमा प्रत्यारोपण गरेर राखिन्छ। यसले कानको नसालाई तरगिंत गरेर नसुन्ने व्यक्तिलाई सुन्ने बनाउँछ। कानको भित्री भागमा डिभाइस जडान गरिसकेपछि बाहिरबाट आएको आवाज मस्तिष्कसम्म पुर्याउने काम गर्छ। त्यसका लागि शल्यक्रिया गरेर एउटा कानभित्र एउटा उपकरण राखिन्छ भने त्यसलाई चलाउने बाहिर अर्को डिभाइस राखिन्छ।

यो प्रविधि हाल नेपालका दुई ठूला सरकारी वीर र त्रिवि शिक्षण अस्पताल र एक निजी अस्पतालमा मात्र उपलब्ध गरिएको छ।
त्रिवि शिक्षण अस्पतालले सन् २००४ देखि यो सेवा सुरु गरेको थियो। शिक्षण अस्पतालले हालसम्म ४५० जनाको शल्यक्रिया मार्फत कक्लियर इम्प्लान्ट राखेको छ। वीर अस्पतालले गत वैशाखदेखि यो सेवा सुरु गरेको हो।
वीरले कक्लियर इम्प्लान्ट सुरु गराउन नाक, कान, घाँटी रोग विशेषज्ञ डा रविभूषण सुवाललाई भारत पठाएको थियो। डा सुवाल नेपाल फर्किएपछि हालसम्म ७ जनामा कक्लियर इम्प्लान्ट राखेर कान सुन्न सक्ने बनाएका छन्।
यसो त वीर अस्पतालले ३ वर्षअघि सुरु गरेको थियो। जनशक्ति नहुँदा भारतबाट शल्यचिकित्सक ल्याएर २ जनाको शल्यक्रिया गरेको थियो। तर, दक्ष चिकित्सक नहुँदा सेवालाई निरन्तता दिन सकेको थिएन।

सरकारले दिन्छ ६ लाख ५० हजार सहुलियत
नेपाल सरकारले कान नसुन्नेलाई कक्लियर इम्प्लान्ट राख्न सहुलिएर दिने गरेको छ। कक्लियर इम्प्लान्ट डिभाइसको मूल्य करिब १२ लाख पर्छ। यसमा ५० प्रतिशत सरकारले व्यहोर्ने गरेको छ। यो रकम ६ वर्षसम्मका बालबालिकाले मात्र प्राप्त गर्छन्।
चिकित्सकका अनुसार जन्मिँदै कान नसुन्ने भएकाको सानै उमेरमा प्रत्यारोपण गरे मात्रै यसले काम गर्छ। सकेसम्म बोल्न सुरु गर्नुभन्दा अगावै अर्थात्, २ वर्षमुनिकै उमेरमै ‘कक्लियर इम्प्लान्ट’ प्रत्यारोपण गर्न सकियो भने अन्य बालबालिका जस्तै बोल्न र सुन्न सक्ने बनाउन सकिन्छ। उमेर बढ्दै गएपछि भने थेरापीको माध्यमबाट बोल्न सिकाउनु पर्ने हुन्छ।
पहिलो सुन्ने क्षमता भएको तर पछि कुनै कारणले श्रवण शक्ति गुमेकाहरूका लागि भने जुनसुकै उमेरमा पनि यो प्रत्यारोपण गर्न सकिन्छ।
के कारणले हुन्छ जन्मजात कान नसुन्ने समस्या?
नेपालमा १ हजार जीवित शिशुमध्ये ३ जनामा बहिरोपनको समस्या देखिने आकलन छ। चिकित्सकका अनुसार ५० प्रतिशत वशांणु र ५० प्रतिशत अन्य कारणले यो देखिने गरेको छ। गर्भवती महिलाले जथाभावी औषधि सेवन गर्दा, सुत्केरी हुने समयमा कुनै समस्या देखियो भने बच्चामा दीर्घकालीन कान नसुन्ने समस्या देखिने गरेको छ।
यस्तै गर्भवती महिलालाई मधुमेह, थाइराइड नियन्त्रणमा आएन भने, क्षयरोगका कारण औषधि सेवन गर्नुपर्यो भने पनि गर्भमा रहेको बच्चामा समस्या देखिन सक्छ। शिशु जन्मिएपछि कुनै संक्रमण भयो, तौल कम भएर जन्मियो, बच्चा जन्मिनेबित्तिकै रोएन, अक्सिजन पुगेन, जन्डिस देखियो भने पनि शिशुमा बहिरोपनको समस्या देखिन सक्छ।
जन्मिनेबित्तिकै मेनेन्जाइटिस भएर एनआईसीयूमा राखेर औषधि दिनुपरेका शिशु र हाडे आउने समस्या भए पनि बच्चाको सुनाइमा समस्या देखिने गरेको छ।
बहिरोपनको समस्या किन हुन्छ? कक्लियर इम्प्लान्ट भनेको के हो? यसले कसरी काम गर्छ भनेर वीर अस्पतालमा नाक कान घाँटी रोग विशेषज्ञ डा रविभूषण सुवालको भिडिओ ब्रिफिङ :

प्रतिक्रिया