जीवनशैली


दसैँमा मासु त खाने तर कति? स्वस्थकर खानपनिका लागि पोषणविद्का टिप्स (भिडिओ)


नेपालखबर
असोज ११ , काठमाडौँ

दसैँ मीठो खाने र राम्रो लगाउने अवसर मान्ने गरिन्छ। अझ खानपिनमा पनि दसैँको पर्याय बनेको छ, मासु। अर्थात्, मासुबिना दसैँ नै अधुरो मानिन्छ। 

दसैँ यस्तो चाड हो, जसमा अरु बेलाभन्दा मासुको खपत अत्यधिक हुन्छ। 

मासु प्रोटिनको पनि राम्रो स्रोत हो। मासुमा फलाम र फस्फोरसजस्ता खनिज तत्व पनि पाइन्छ। भिटामिन बी समूह फायमिन, नायोसिन र रिपोफेविन पाइन्छ। पौष्टिक तत्वको स्रोत मासु मात्रा मिलाएर खाइएन भने स्वास्थ्यमा तत्कालीनदेखि दीर्घकालीन असर देखिन सक्छन्।

मासुमा बोसो अत्यधिक हुन्छ। मासु पकाउँदा पनि तेलमा लपक्क पारेर अथवा अत्यधिक मात्रामा तेलको प्रयोग गरी पकाइन्छ। जिब्रोका लागि स्वादिलो बनाउन चिल्लो, पिरो र मसलेदार बनाइन्छ। दसैमा तारेको, भुटेको मासु बढी खाने गरिन्छ। परिवारसँग रमाइलो गरेर बस्दा

एकैपटक धेरै खाने गरिन्छ। त्यसले पाचन प्रणालीमा असर गर्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने, पखाला लाग्ने, पेट दुख्ने समस्या हुन सक्छ।लगातार यस्तै खानेकुरा खाइरहँदा कलेजोमा असर गर्ने, युरिक एसिड बढ्ने, उच्च रक्तचाप, मधुमेह हुन सक्छ। 

पोषणविदहरुका अनुसार, हामी अस्वस्थकर खाना खाने मात्र नभएर खाना पकाउने शैली नै पनि गलत अपनाइरहेका हुन्छौं। मासु पकाउँदा स्वादका हिसाबले रोस्ट वा बारबिक्यु (सेक्ने, पोल्ने र भुट्ने) गरी पकाउने गरिन्छ। बारबिक्यु गरेर खाइने मासु पेटका लागि अस्वस्थकर मानिन्छ। पोलेको मासु पेटको क्यान्सरको मुख्य कारण मानिन्छ। 

पोषणविद् रुजु खड्का दसैँको समयमा उच्च रक्तचाप, मधुमेह, युरिक एसिडको जोखिममा रहेका व्यक्ति मासु खाँदा बढी सचेत हुनुपर्ने बताउँछिन्। दसैँको समयमा तीन र चार दिन मासु खादैमा ठूलो समस्या नदेखिए पनि दीर्घरोग भएका वा दीर्घरोगको जोखिममा रहेका व्यक्ति बढी सचेत हुनुपर्ने उनको सुझाव छ।

‘लगातार मासु खाँदैमा तत्काल केही असर देखिए पनि दीर्घकालीन असर नहुन सक्छ। तर, जो व्यक्तिको उच्च रक्तचाप बढ्दै छ, सुगर बढेको छ, मोटोपनमो समस्या छ, सो व्यक्ति जोखिममा हुन्छन्,’ खड्का भन्छिन्।

अर्कोतिर दसैँमा धेरै दिनसम्म मासु सञ्चित गरेर राख्ने चलन छ। धेरै दिन मासु सञ्चित गरेर सुकुटी बनाएर राख्ने, एकैपटक पकाएर राख्ने र तताउँदै खाने चलन स्वास्थ्यका लागि हानिकारक हुन्छ। यसरी राख्दा मासुको स्वाद र भिटामिन नष्ट हुँदै जाने पोषणविद् खड्का बताउँछिन्। 
सुकुटी बनाउँदा मासुमा कीटाणुजम्मा हुने, झिंगा भन्केर संक्रमित हुने, धुवाँ, धुलो जम्मा हुने, स्वाद बिग्रिने समस्या हुन्छ। पकाएर राखेको मासु तताउँदै खानाले पेटसम्बन्धी रोग लाग्ने उनको भनाइ छ।

उमेर समूह र तपाईँले गर्ने दैनिक क्रियाकलाप अनुसार मिलाएर मासु खाँदा स्वास्थ्यका लागि हितकर हुन्छ। विश्व स्वास्थ्य संगठनले एक हप्तामा ४३० ग्राम मासु खान सुझाव दिएको छ। बालबालिकाले दैनिक ४० देखि ६० ग्राम मासु खान सक्छन् भने वयस्कले १२० सय ग्राम खान सकिने पोषणविद् खड्काको सल्लाह छ।

मधुमेह, उच्च रक्तचाप र युरिक एसिड जस्ता दीर्घरोग भएका व्यक्तिलाई उनी पोषण मिलाएर खाने, नुनको मात्रा कम गर्ने, रातो मासु नखाने सल्लाह दिन्छिन्। दसैँको खानपानमा स्वस्थ र सन्तुलित खानेकुरा मिलाउन आवश्यक छ। चार्डपर्वको रमाइलोसँगै आफ्नो स्वस्थ्यको पनि ख्याल राख्नुपर्छ। 

मासुसँगै सागसब्जी, सलाद, मिसाएर खाने, धेरै गुलियो नखाने, अत्यधिक मसला, चिल्लो, पिरो नखाने स्वस्थ आहारका नियम हुन्। 
मासु नखाने व्यक्तिले शरीरमा प्रोटिकनको मात्रा पूरा गर्न भटमास, चना, सोयाबिन, दूध, दही, पनिर, बदाम, पेस्ता खान सक्छन्।
दसैँमा कति मासु खाने, कसरी खाने, अत्यधिक मासु सेवनले स्वास्थ्यमा कस्तो असर गर्छ भन्ने विषयमा पोषणविद् रुजु खड्काको भिडियो ब्रिफिङ

 

असोज ११, २०८२ शनिबार ९:१३

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad