लगभग एक करोड बच्चा जन्मिँदा एकदेखि तीन जना बालकमा जन्मजात लिंग हुँदैन। यो अवस्थालाई अफालिया भन्ने गरिन्छ। यो एकदमै दुर्लभ र जन्मजातै आउने समस्या हो।
यो भ्रूणको विकासको प्रारम्भिक चरणमा (सामान्यतया गर्भधारणको ३-६ हप्ताभित्र) नै आउने समस्या हो जसमा पुरुष बच्चा लिङ्गविहीन हुन्छ।
पुरुषको लिङ्ग विकास जटिल हर्मोनल र आनुवांशिक प्रक्रियामा निर्भर गर्दछ। कुनै कारणवश (कुनै विशिष्ट आनुवंशमा परिवर्तन वा हर्मोनल सिग्नलिङमा गडबडी) यो विकास प्रक्रिया पूर्ण रूपमा रोकिन सक्छ।
अफालियाको उपचार हुन सक्छ?
अफालियाको उपचार एकदमै जटिल हुन्छ। उपचारमा मुख्यतया शल्यक्रिया, हर्मोन थेरापी र मनोवैज्ञानिक सहयोग समावेश हुन्छन् जसको प्रमुख लक्ष्य मूत्र प्रणाली र सम्भव भएमा प्रजनन् प्रणालीको निर्माण गर्नु हो। शल्यक्रियाद्वारा पुनर्निर्माण (सर्जिकल रिकन्स्ट्रक्सन) अफालियाको प्राथमिक उपचार हो, जसमा शिशु अवस्थादेखि किशोरावस्थासम्म फ्यालोप्लास्टी (शरीरका अन्य भागको तन्तु प्रयोग गरी लिंग बनाउने) र मूत्रमार्ग पुनर्निर्माण (युरिथ्रल रिकन्स्ट्रक्सन) जस्ता विभिन्न शल्यक्रियाहरू गरिन्छन्।
यसका साथै, हर्मोन थेरापी अनुहारको रौँ आउने र आवाज गहिरो हुने जस्ता द्वितीय यौन विशेषताहरूलाई उत्तेजित गरी यौवनावस्थामा सामान्य पुरुषको स्वरूप विकास गर्न मद्दत गर्दछ। अन्ततः मनोवैज्ञानिक परामर्श अफालियासँग सम्बन्धित भावनात्मक र सामाजिक चुनौतीहरू सामना गर्न महत्त्वपूर्ण हुन्छ, जहाँ सहयोग समूह (सपोर्ट ग्रुप) र थेरापी सत्रहरूले व्यक्ति र परिवारलाई समुदाय र समझको भावना प्रदान गर्छन्। र यसको लागि मल्टी डिसिप्लिनरी एप्रोचको आवश्यकता हुन्छ जसमा बालरोग विशेषज्ञ, मूत्ररोग विशेषज्ञ, इन्डोक्राइनोलोजिस्ट र मानसिक रोग विशेषज्ञ सबै संलग्न हुन्छन्।
अफालिया भएका व्यक्ति कसरी यौनजन्य क्रियाकलापमा सहभागी हुन्छन्?
न सम्बन्ध विभिन्न प्रकारले स्थापित गर्न सकिन्छ, जसमा अँगालो हाल्ने, स्पर्श गर्ने, मुखमैथुन, गुदामैथुन वा यौन खेलौनाको प्रयोग समावेश हुन सक्छन्। यस्तो अवस्थामा खुला संवाद, रचनात्मकता र साथीसँगको पारस्परिक सम्मान यौन जीवनको सन्तुष्टिका लागि अत्यन्त महत्त्वपूर्ण हुन्छ। शारीरिक अवस्थाका कारण आत्मसम्मानमा असर पर्न सक्ने र यौन सम्बन्धमा डर, लाज वा असुरक्षाको भावना आउन सक्ने हुनाले मनोवैज्ञानिक परामर्शले यी चुनौतीहरूलाई कम गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।
अफालिया भएका व्यक्तिले सन्तान जन्माउन सक्छन् कि सक्दैनन्?
अफालियाको अवस्थामा लिङ्गको अभावका कारण सामान्य यौन सम्बन्धबाट प्राकृतिक रूपमा सन्तान जन्माउन सकिँदैन। यद्यपि, यदि अफालिया भएका व्यक्तिको अण्डकोष सामान्य छ र शुक्राणु उत्पादन गर्छ भने, जैविक सन्तान प्राप्त गर्न विभिन्न सहायक प्रजनन् प्रविधिहरू अर्थात् एसिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी उपलब्ध छन्। यसमा शल्यक्रियाद्वारा अण्डकोषबाट शुक्राणु निकाल्ने टेस्टिकुलर स्पर्म एक्सट्रेक्सन, प्रयोगशालामा अण्डाणुसँग शुक्राणुको निषेचन गराउने इन-भिट्रो फर्टिलाइजेसन र शुक्राणुको सङ्ख्या वा गुणस्तर कम भएमा एकल शुक्राणुलाई अण्डाणुमा सिधै प्रवेश गराउने इन्ट्रासाइटोप्लाज्मिक स्पर्म इन्जेक्सनजस्ता विधिहरू पर्छन्।
निषेचित भ्रूणलाई महिलाको गर्भाशयमा राखेर (भ्रूण स्थानान्तरण) वा महिला साथी गर्भधारण गर्न असमर्थ भएमा सरोगेट मार्फत पनि सन्तान प्राप्त गर्न सकिन्छ। यी प्रक्रियाहरू जटिल, खर्चिला र भावनात्मक रूपमा चुनौतीपूर्ण हुन सक्ने भएकाले, विशेषज्ञ प्रजनन् विज्ञानी (रिप्रोडक्टीभ इन्डोक्राइनोलजिस्ट) बाट परामर्श लिनु अत्यावश्यक छ।
अफालिया भएका व्यक्तिले कसरी पिसाब फेर्छन्?
अफालिया भएका व्यक्तिहरूका लागि पिसाब फेर्न अति नै गाह्रो हुनसक्छ। उपचार नभएमा, मूत्रमार्ग प्रायः पेल्भिसभित्रै बन्द हुने वा गुदासँग जोडिने (रेक्टो-युरेथ्रल फिस्टुला) सम्भावना हुन्छ, जसले गर्दा मूत्र गुदाबाटै बग्न सक्छ। यसको समाधानका लागि विभिन्न उपचार विकल्पहरू छन्।
पेरिनियल युरेथ्रोस्टोमी सबैभन्दा सामान्य समाधान हो, जहाँ शल्यक्रियाद्वारा मूत्रमार्गलाई पेरिनियममा बाहिर निकालिन्छ र व्यक्तिले बसेर मूत्र विसर्जन गर्छन्, जसले मूत्र नियन्त्रणमा सुधार ल्याउन सक्छ। यदि फ्यालोप्लास्टी गरी मूत्रमार्गको पुनर्निर्माण गरिएको छ भने, व्यक्तिले कृत्रिम लिङ्गको टुप्पोबाट उभिएर मूत्र विसर्जन गर्न सक्छन्, यद्यपि यो जटिल प्रक्रिया हो र फिस्टुला वा सङ्कीर्णताको जोखिम हुन सक्छ। केही अवस्थामा भने मूत्राशय क्याथेटराइजेसन (ब्लाडर क्याथेटराइजेसन) मार्फत नियमित रूपमा क्याथेटर प्रयोग गरी मूत्राशय खाली गर्नुपर्ने हुन सक्छ।
अफालिया भएका व्यक्तिलाई एलजीबीटीक्यू मा समावेश गर्न मिल्छ?
अफालिया भएका व्यक्तिहरूको यौनिक पहिचान र यौनिक झुकाव एक जटिल र व्यक्तिगत प्रश्न हो, जुन सिधै अफालियाले निर्धारण गर्दैन। धेरैजसो अफालिया भएका व्यक्तिहरू, विशेषगरी जेनेटिक रूपमा पुरुष (एक्स वाई क्रोमोजोम) भएमा, आफूलाई पुरुषको रूपमा चिनाउँछन् र तदअनुसार हर्मोन थेरापी र शल्यक्रियाको माध्यमबाट शारीरिक रूपान्तरण गर्न खोज्छन्।
यद्यपि, केहीले आफूलाई महिला वा ‘नन-बाइनरी’ को रूपमा पनि पहिचान गर्न सक्छन्, किनकि लैङ्गिक पहिचान व्यक्तिको आन्तरिक भावनामा निर्भर गर्दछ। त्यसैगरी, अफालियाले व्यक्तिको यौनिक अभिविन्यासलाई पनि सिधै प्रभावित गर्दैन; अफालिया भएका पुरुषहरू महिला, पुरुष वा दुवैप्रति आकर्षित हुन सक्छन्। यदि अफालिया भएका व्यक्तिले आफ्नो लैङ्गिक पहिचान जन्मँदै तोकिएको जैविक लिङ्गसँग मेल नखाने (जस्तै: ट्रान्सजेन्डर पुरुष) वा उनीहरूको यौनिक झुकाव गे, लेस्बियन, बाइसेक्सुअल, वा एसेक्सुअल छ भने उनीहरूले आफूलाई एलजीबीटीक्यू समुदायको सदस्य मान्न सक्छन्।
अफालिया एक चुनौतीपूर्ण जन्मजात अवस्था हो। यसले शारीरिक, कार्यात्मक र मनोसामाजिक क्षेत्रमा धेरै प्रश्न उठाउँछ। आधुनिक चिकित्सा विज्ञानले मूत्र विसर्जन र यौन जीवनका लागि समाधानहरू र जैविक सन्तान प्राप्तिको सम्भावना प्रदान गर्दछ।
मनोवैज्ञानिक समर्थन र सामाजिक समावेशिता नै प्रभावित व्यक्तिहरूले पूर्ण र सम्मानजनक जीवन बिताउन पाउने मुख्य आधार हो। अफालिया भएका व्यक्तिहरूको लैङ्गिक पहिचान र यौनिक अभिविन्यास विविध हुन सक्छन्, र उनीहरूलाई सम्मानपूर्वक बुझ्ने र समावेश गर्ने प्रयास गर्नु आवश्यक छ। संवेदनशीलता र समर्थनले नै यिनीहरूको यात्रालाई सहज बनाउन सक्छ।
(डा. सरोज गिरी वयोधा अस्पतालमा मूत्ररोग विशेषज्ञका रूपमा कार्यरत छन्)
Shares

प्रतिक्रिया