जीवनशैली


६३ वर्षको उमेरमा किशोरावस्थाको शरीर, झेन्झेनबाट सिक्न सकिन्छ तन्दुरुस्ती

६३ वर्षको उमेरमा किशोरावस्थाको शरीर, झेन्झेनबाट सिक्न सकिन्छ तन्दुरुस्ती

युनान प्रान्तकी झेन्झेन ६३ वर्ष पुगिसकिन् (तस्बिर : एससीएमपी/डाउविन)


आइरिस जियाङ
बैशाख २०, २०८१ बिहिबार ६:५७, काठमाडौँ

दक्षिण–पश्चिम चीनको युनान प्रान्तकी झेन्झेन ६३ वर्ष पुगिसकिन्। उनको जन्म १९६० को अक्टोबरमा भएको थियो। 

तर उनको शारीरिक देखावटले उनको उमेरसँग मेल खाँदैन। उनी १६० सेन्टिमिटर अग्लो छिन् भने तौल ४६ किलोग्राम छ। मोटोपना दर (बोसोको मात्रा) १७ प्रतिशत रहेकी उनी किशोरी अवस्थाकी झैँ देखिन्छिन्। उनको छरितो शरीर देख्नेहरु दंग पर्छन्। 

झेन्झेन नियमित शारीरिक व्यायाम गर्छिन्। अवकाश जीवन बिताइरहेकी उनी ८ वर्षयता जिमखाना गइरहेकी छिन्। 

उनको एउटा पोस्ट सामाजिक सञ्जाल जियाओहोंग्सुमा भाइरल भइरहेको छ। जहाँ उनले कसरी शारीरिक तन्दुरुस्तीले बुढ्यौलीको डरलाई जित्न सकिन् भन्ने खुलाएकी छिन्। 

‘अहिले मेरो शरीर विस्तारै दिनप्रतिदिन बलियो बनिरहेको महशुस हुन्छ र कुनै सफलता पाएको अनुभूतिका लागि म पसिना बगाइरहेकी छु’, उनले भनिन्, ‘हामी कसैले पनि बढ्यौलीलाई जित्न सकिन्छ भन्ने मलाई लाग्दैन, तर यदि म बुढेसकालमै पनि स्वस्थ र खुसी हुन्छु भने मसँग कुनै चिन्ता हुनुहुँदैन।’ 

झेन्झेन एक ३६ वर्षीय छोराकी आमा हुन्। उनले ‘फायर सिस्टम’ राख्ने कम्पनीमा याजना व्यवस्थापकको काम गरिन्। ५५ वर्षको उमेरमा कामबाट अवकाश लिएकी उनलाई बढ्दो उमेरको पिर थियो। 

एक निर्माणस्थलमा उनको दायाँ गोलीगाँठोमा चोट परेको थियो। हिँडेपछि त्यो झन् सुन्नियो। घुँडाका जोर्नीहरु पनि कमजोर थिए। खुट्टा खुम्च्याउँदा दुख्थ्यो। 

जब उनले कुप्रिँदै एक वृद्ध लौरोको सहारामा विस्तारै हिँडिरहेको देखिन्, आफैँदेखि साह्रै डराइन्– म पनि त्यस्तै हुने त हो! 

त्यसपछि उनले स्वस्थ शरीर र खुसी जीवनका लागि काम गर्ने निर्णय गरिन्। पछिल्लो ८ वर्ष जिमखानामा उनले बिताएका धेरै घण्टा यसैको परिणाम हो। 

एक तन्दुरुस्ती प्रशिक्षकको निर्देशनमा रहेर उनले मांसपेशी बलियो हुने र जोर्नीमा दख्खल नदिने गरी व्यायामलाई प्राथमिकता दिइन्। उनले यी दुई कुरालाई सन्तुलनमा राखेकी छिन्। 

‘तन्दुरुस्तीले मलाई ऊर्जावान् बनाएको अनुभव छ। म व्यायाममा एकदमै केन्द्रित छु र जिमखानामा हुँदा म बुढ्यौलीबारे सोच्न भ्याउँदिनँ’, झेन्झेन भन्छिन्। 

कुनै कुनै बेला पहिले उनले कसिलो लेगिङ्स र स्कर्ट लगाउने दिन गएको सोचे पनि अहिले यस्ता कुरामा ध्यान नदिएको उनी बताउँछिन्। 
जियाओहोङ्सुमा उनले सौन्दर्यका चिकित्सा प्रक्रियातर्फ नलागेको बताएकी छिन्।

उनको यस कुरालाई सामाजिक सञ्जालमा धेरैले रुचाएका छन्। केहीले उनलाई वर्षअनुसार शरीर नदेखिएको भन्दै प्रशंसा गरिरहेका छन् भने केहीले उनको अनुशासित जीवनशैलीको तारिफ गरेका छन्। 

‘३० वर्षको उमेरमा पनि यस्तो शरीर थिएन मेरो’, केहीले भनेका छन्। 

‘आन्टी तपाईंले त ६० वर्ष उमेरलाई नै पुनर्परिभाषित गरिदिनुभयो’, अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता भन्छन्। 

‘जब मैले कामबाट अवकाश लिएँ म ६५ वर्षसम्म व्यायाम गर्नुपर्छ भन्नेमा तन्दरुस्ती प्रशिक्षकसँग सहमत भएँ’, उनी थप्छिन्, ‘आजको व्यायाम गर्दा मैले उहाँलाई ७० वर्षसम्म गरिरहने बताएँ।’  एससीएमपीबाट 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .