जीवनशैली


चिसोमा किन दुख्छ घाँटी? दुख्दा के गर्ने?

चिसोमा किन दुख्छ घाँटी? दुख्दा के गर्ने?

तस्बिर : फ्रिपिक


राधिका अधिकारी
माघ २०, २०८० शनिबार ९:२७, काठमाडौँ

चिसो मौसममा धेरै मानिसको घाँटीमा समस्या आउँछ। कतिपयको आवाज नै बिग्रन्छ। अरु बेला पनि सामान्यतया घाँटीमा दुख्ने समस्या देखिने भए पनि जाडोमा ज्यादा समस्या देखिने एभरेस्ट अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ डा. सुवास खड्का बताउँछन्। 

सामान्य अवस्थामा मानिसको नाकबाट दिनमा ४ सय एमएल पानी बग्ने गर्छ। यो पाटी पेटमा जान्छ। तर मानिसलाई यो प्रक्रिया थाहा नहुने डा. खड्का बताउँछन्। रुघाखोकी लागेको खण्डमा यो पानीको मात्रा बढेर जाने र ज्यादा पानी घाँटीभित्र जाँदा चुहिएर खोकी लाग्ने, घाँटी दुख्ने डा. खड्काको भनाइ छ। उनका अनुसार यो पानी श्वासनलीमा गयो भने आवाज भासिने, धोद्रो हुने, सास फेर्न गाह्रो हुनेलगायत समस्या देखा पर्छन्। 

गर्मी सिजनमा पनि यस्ता खाले समस्या देखिने भए पनि जाडोमा अझै धेरै घाँटीको ख्याल गर्नु पर्ने डा. खड्का बताउँछन्। कलाकार तथा आवाजमा निर्भर पेसा हुनेहरुले अझै धेरै सचेत हुन डा. खड्काले सुझाएका छन्। 

भन्छन्, ‘उहाँहरूले आवाजको एक्स्ट्रा केयर गर्नुपर्छ। घाँटीमा समस्या आएर आवाज बसेको खण्डमा सुधार ल्याउन ज्यादा प्रयास समेत लगाउनुपर्छ,’ डा. खड्का थप्छन्, ‘संक्रमण नियन्त्रण गरेन, घाँटीमा समस्या हुँदा उपचार गरेन भने भोकल कर्ड चाँडै बिग्रिने जोखिम हुन्छ। किनकि, उहाँहरूको आवाज अत्यधिक प्रयोग भइरहेको हुन्छ। त्यसले आममानिसको दाँजोमा धेरै काम गरिहेको हुन्छ र प्रेसरमा हुन्छ। यदि त्यहाँ संक्रमण छ भने त्यो छिटो बिग्रिने खतरा हुन्छ।’ 

कसरी गर्ने उपचार
सामान्य मानिसको घाँटीमा समस्या आएको खण्डमा मनतातो पानी खाने, अवस्था हेरेर डाक्टरलाई देखाउनुपर्छ। घाँटीमा समस्या आएमा बोल्ने अथवा गाउने कामलाई ब्रेक दिनु पर्ने डा. खड्का बताउँछन्। 

भन्छन्, ‘घाँटीको संक्रमण, नाकको एलर्जीलगायत कुनै पनि समस्या भइसकेपछि गाउने वा बोल्ने कामलाई ब्रेक दिनुपर्छ। त्यसपछि चिकित्सकसँग परामर्श गरेर छिटोभन्दा छिटो उपचार गर्नुपर्छ। भोकल कर्ड बिग्रिएका बेला पनि बोल्ने अथवा गाउने कामलाई निरन्तरता दिनु भनेको चोट लागेको मानिसलाई युद्धमा पठाउनुजस्तै हो।’
 
चिसोमा किन देखिन्छ घाँटीमा समस्या?
तापक्रममा हुने फेरबदलका कारण मानिसमा विभिन्न खाले समस्या आउने नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभा महर्जन बताउँछिन्। 

उनका अनुसार तापक्रमका कारण किटाणुले हाम्रो छालाको रोक्ने तहलाई पनि तोड्दै शरीरभित्र पस्ने गर्छ। त्यसैले, यो मौसममा घाँटी दुख्ने समस्या पनि देखिन्छ। साथै, चिसोमा मर्निङ वाक जाने, बाइकमा हिँड्ने मानिसमा यस्ता समस्या बढी देखिने डा. महर्जन बताउँछिन्। 

भन्छिन्, ‘चिसोमा हिँड्दा शरीरको छालाबाट केही अवरोध नभएपछि कतिपयलाई चिसोको एलर्जी सुरु हुन्छ भने घाँटी दुख्ने, चिलाउने तथा लगातार हाछ्युँ आउनेजस्ता समस्या देखिन्छन्। जसले मानिसको आवाजमै समस्या आउने र बोली समेत बन्द हुने सम्भावना रहन्छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .