नेपालका महिलाहरुमा सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सर देखिन्छ। एक अध्ययनका अनुसार नेपालमा पाठेघरको क्यान्सरबाट करिब १० देखि १२ हजार महिला पीडित भएको अनुमान गरिएको छ।
विश्व स्वास्थ संगठनको रिपोर्टअनुसार नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण प्रत्येक दिन पाँच महिलाको मृत्यु हुने गरेको पाइन्छ।
पाठेघरको मुखका कोषिकाको अनियन्त्रित, असामान्य, अनावश्यक रुपले वृद्धि भएर निको नहुने घाउलाई पाठेघरको क्यान्सर भनिन्छ।
९५ प्रतिशत पाठेघरको मुखको क्यान्सर बनाउने भनेको ‘हृयुमन प्यापिलोमा भाइरस’ को संक्रमणले गर्दा हो। यो भाइरसले अरु क्यान्सर पनि बनाउँछ।
पाठेघर मुखको क्यान्सर बाहेक अरु कुनै पनि क्यान्सरको कारण अहिलेसम्म पत्ता लागिसकेको छैन। त्यसैले पनि यो क्यान्सर लाग्नबाट पहिला नै बच्न सकिन्छ।
भविष्यमा हुन सक्ने पाठेघरको क्यान्सरबाट बच्नका लागि ‘हृयुमन प्यापिलोमा भाइरस’ (एचपीभी) विरुद्धको खोप लगाउन सकिन्छ।
पाठेघर क्यान्सर बनाउनमा सबै भन्दा ठूलो भूमिका एचपीभी भाइरकै हुन्छ भन्ने थाहा छ भने त्यस विरुद्धको खोप लगाउनु नै सर्वोत्तम उपाय हो।
एचपीभी भाइरस यौन सम्पर्क गर्दा पुरुषबाट महिलामा सर्छ। त्यसैले यो भाइरसको बाहक पुरुष हो भनिन्छ।
स्कुल जाने वा सानै उमेरका बालिकाहरुलाई यो खोप लगाउनु पर्छ। किन भने अहिले सबै जना धेरै एडभान्स भइसकेका छन्। त्यसैले छिट्टो नै यौन सम्बन्धमा बस्छन्। हाम्रो उदेश्य भनेको यौन सम्पर्कमा आउनु भन्दा पहिला नै यो खोप लगाइ सक्ने भन्ने हो।
खोप लगाइसके पछि भाइरस कन्ट्याकमा आयो भने पनि भाइरसको विरुद्धमा खोपले एन्टिबडी बनाइसकेको हुन्छ। त्यसैले पाठेघरको मुखको क्यान्सरबाट बच्नका लागि एचपीभी खोप लगाउन धेरै आवश्यक छ।
अस्पतालमा आउने धेरै आमाहरुले खोपका विषयमा सोध्नु हुन्छ, छोरीलाई लगाउनु पर्ने हो यो खोप, कहाँ पाइन्छ, कति पर्छ भनेर। शहरी क्षेत्रमा जनचेतना केही फैलिसकेको छ।
एभपीभीविरुद्धको खोप बाहिर ट्रयाल भएर पनि आइसकेको र विश्व स्वास्थ्य संगठनले पनि मान्यता दिसकेको खोप हो। त्यसैले ढुक्क भएर लगाउँदा हुन्छ।
विदेशतिर पनि यो खोप धेरैले लगाउँछन्। त्यता त यो खोप अनिवार्य जस्तै भइसकेको छ।
सरकारले एचपीभी विरुद्धको खोप ल्याउन लागेको छ। तथापी पनि सरकारले खोप दिन सकेन भने पनि आफैँ किनेर भए पनि आफ्ना छोरीहरुलाई खोप लगाउनु पर्छ।
सरकारले ल्याउन लागेको खोप दुर्गममा रहेका बालिकाहरुलाई सुरुमा लगाउनु पर्छ होला। शहर बजारमा बस्नेहरुले किनेर भए पनि लगाइहाल्छन् तर दुर्गममा बस्नेलाई यो खोपको बारेमा थाहा पनि छैन। त्यसैले प्रथामिकतामा उनीहरुलाई नै राख्नु पर्छ।
हुनेखानेले यो खोप आफैँले पनि किनेर लगाउन सक्छन् तर असहाय गरिबले किनेर लगाउन सक्ने अवस्था छ्रैन। त्यसैले सरकारले यो खोप सजिलैसँग किनेर लगाउन सक्ने व्यवस्था पनि मिलाई दिनु पर्छ।
सरकारले यो खोपलाई निरन्तरता दिनै पर्छ। बरु सकिन्छ भने नियमित खोप कार्यक्रममै यसलाई समावेश गर्नु पर्छ।
नेपालमा पाठेघरको मुखको क्यान्सरका बिरामी दैनिक बढ्दै गइहेका छन्। सफाइमा ध्यान नदिनु, धेरै जनासँग यौन सम्पर्क राख्ने र रोग बारे जनचेतना नहुँदा पनि यसले बिकराल रूप लिँदै गइरहेको देखिन्छ।
पाठेघरको मुखको क्यान्सर रोकथामका लागि सरकारले खोपसँगै स्क्रिनिङलाई पनि तीब्र गतिमा अगाडि लैजानु पर्छ।
बालिकाहरुलाई खोप दिने र ३०/४० वर्षका महिलाहरुको भने स्क्रिनिङ नै गर्नु पर्छ। पाठेघरको स्क्रिनिङ गर्दा १०/१५ वर्ष पहिला नै पाठेघरको मुखको क्यान्सर भए, नभएको थाहा पाउन सकिन्छ।
त्यसका लागि पाप स्मेयर, भीआइए परीक्षण, एचपीभीडीएनए र मोलिक्युलर ल्याबमा परीक्षण गर्नुपर्छ। पाप स्मेयर परीक्षणका लागि पाठेघरको मुखबाट बगिरहेको थोरै पानी निकाली विभिन्न विधि अपनाएर जाँच गरिन्छ। जो निकै सस्तो पनि छ।
यौनांगको सरसफाइमा ध्यान नदिने, धूमपान, मद्यपान गर्ने र धेरैसँग यौन सम्बन्ध राख्ने महिलाहरुमा पाठेघरको मुखको क्यान्सर हुने सम्भावना बढी हुन्छ।
ह्युमन प्यापिलोमा भाइरस यौन सम्बन्धको माध्यमबाट एक अर्कामा सजिलै सर्न सक्छ। सानै उमेरबाट यौन सम्बन्धमा गाँसिएका, कलिलै उमेरमा बिहे गरेका र पुरुष पार्टनरले धेरै जनासँग यौन सम्बन्ध राखेमा पनि क्यान्सरको सम्भावना बढि हुन्छ।
(क्यान्सर रोग विशेषज्ञ डा.रीता महासेठसँग समृद्धा केसीले गरेको कुराकानीमा आधारित)
Shares
प्रतिक्रिया