शिशुका लागि आमाको दूध अमृतसमान मानिन्छ। तर नेपालमा पूर्ण स्तनपान गराउने आमाको संख्या घट्दै गइरहेको छ। सय जना सुत्केरी आमामध्ये ५६ जनाले मात्र स्तनपान गराउँछन् भने ४४ जनाले फर्मुला (कृत्रिम) वा गाईभैँसीको दूध खुवाउँछन्।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ का अनुसार शिशु जन्मिएदेखि पाँच महिनासम्म स्तनपान गराउने आमा ५६ प्रतिशत मात्र छन्।
पाँच वर्षको फरकमा गरिने सो सर्वेक्षण यसअघि २०१६ मा भएको थियो। त्यो बेला स्तनपान गराउने ६६ प्रतिशत थिए। पाँच वर्षमा स्तनपान गराउने आमाहरूको संख्या १० प्रतिशतले घटेको छ।
त्यसअघि पूर्ण स्तनपान गराउने दर सन् १९९६ मा ७५ प्रतिशत, २००१ मा ६८ प्रतिशत, २००६ मा ५३ प्रतिशत र २०११ मा ७० प्रतिशत पुगेको थियो।
बच्चा जन्मिएको एक घण्टाभित्र स्तनपान गराउँदा नवजात शिशुको मृत्युदर १६ देखि २२ प्रतिशतसम्म घट्ने परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण शाखा प्रमुख लीलाविक्रम थापाले जानकारी दिए।
स्तनपान गराउनेको संख्या घट्नुमा एउटा मात्र कारण नरहेको जनस्वास्थयविद् डा.अरुणा उप्रेतीले जानकारी दिइन्।
‘अहिले नर्मल डेलिभरीभन्दा अप्रेसन गरेर बच्चा निकाल्ने काम भइरहेको छ, जसले गर्दा आमाहरुलाई घाउ दुख्ने भएकाले आमाको दूधको साटो फर्मुला दूध बढी दिइन्छ,’ डा उपे्रतीले भनिन्, ‘आमाको दूध खुवाउनेको संख्या घटेको भनिएको छ। तर त्यो संख्या सहर हो वा गाउँको हो केही खुलाइएको छैन।’
शिशु जन्मिएको एक घण्टाभित्र आमाको दूध खुवाउनुपर्ने नियम अस्पताल र स्वास्थ्यकर्मीले पनि पालना गरेको नदेखिएको डा. उप्रेती बताउँछिन्।
‘सरकारले ६ महिनासम्म पूर्ण स्तनपान गराउने भनेको छ तर बिदा जम्मा तीन महिनाको मात्र दिएको छ। कुरा मिल्दै मिलेन नि,’ उनले भनिन्, ‘मजदुरी गरेर खाने आमाहरुले पोषणयुक्त खान पाउँदैनन् र दूध राम्रोसँग आउँदैन। स्तनपान गर्ने आमाको संख्यामा कमी आउनुमा सामाजिक, आर्थिक र मेडिकल जस्ता यावत् कारण छन्।’
स्तनपान गराउँदा शरीरिक बनोट बिग्रिन्छ भन्ने हल्लाले पनि केही आमाहरुले बच्चालाई स्तनपान नगराउने गरेको शाखा प्रमुख थापाले बताए।
थापाका अनुसार स्तनपान नराउने कारणहरुमध्ये एक आमाको दूध बच्चाका लागि कति फाइदाजनक छ भनेर ज्ञान नहुनु पनि हो।
‘आमा हुनुहुन्छ भने पहिला बच्चा र आफु कसरी स्वस्थ्य हुन सकिन्छ भनेर सोच्नु पर्छ,’ शाखा प्रमुख थापाले भने, ‘त्यसका लागि खानपानमा विशेष ध्यान दिनु पर्छ। बच्चा जन्मिएको एक घण्टाभित्र आमाकै दूध खुवाउनु पर्छ।’
सुत्केरीलाई कुनै समस्या परेर स्तनपान गराउन नसक्नु ठिकै भए पनि जानेर वा नजानेर स्तनपान नै नगराउनु गलत भएको शाखा प्रमुख थापा बताउँछन्।
त्यस्तै पोषणविद् विनिता पन्त भन्छिन्, ‘अहिले स्तनपान गराउने आमाको संख्या घट्नुमा घरबाहिर काम गर्ने आमाको संख्या बढ्नु पनि हो। एकदुई महिनामै आमाहरु जागिरमा जानु पर्छ, जसले गर्दा पूर्ण स्तनपान नै गराउन पाउँदैनन्। र अर्को भनेको बच्चालाई दूध खुवाउन झञ्झट मान्नु पनि हो।’
निजी अस्पतालमा अप्रेसन गरेर बढी बच्चा जन्मिरहेकाले पनि उनीहरुलाई सुरुमा फर्मूला दूध नै दिइन्छ जसले गर्दा बच्चाहरु आमाको दूध चुस्न नै नमान्ने पन्तले बताइन्।
‘बोतलमा दूध खान बानी परेपछि शिशुहरु अल्छी हुन्छन् र अमाको दूध नै चुस्न मान्दैनन्,’ उनले भनिन्, ‘शिशुले खान नमानेपछि त्यो झञ्झटिलो हुन्छ। बच्चा रुने, सताउने गरेपछि परिवारले कोसिस पनि गर्दैनन्। त्यसरी संख्यामा कमी आइहेको छ। एउटा पाटो यो भयो।’
काममाजी आमाहरु धेरै भएकाले बच्चालाई सुरुदेखि नै बानी पार्नका लागि फर्मुला दूध खुवाउने गरिएको बाल रोग विशेषज्ञ डा. कल्पना उपाध्याय सुवेदीले बताइन्।
‘केहीले सौन्दर्यमा ध्यान दिने भएकाले स्तनपान गराउँदा स्तनको आकार बिग्रिन्छ भनेर पनि स्तनपान गराएको देखिँदैन,’ डा.सुवेदीले भनिन्।
संख्या बढाउन के गर्दै छ सरकार?
सरकारले स्तनपान सम्बन्धी जनचेतना जगाउँदा पनि पूर्ण स्तनपान गराउने आमाको संख्या घटिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको नीति तथा योजना अनुगमन महाशाखाका प्रमुख डा.कृष्णप्रसाद पौडेल बताउँछन्।
‘पूर्ण स्तनपान भन्नाले शिशु जन्मिएको पाँच महिनासम्म आमाको दूध मात्र खुवाउनु हो,’ डा पौडेलले भने, ‘जुन संख्या निकै घटिरहेको छ। यसमा सबैको ध्यान जान आवश्यक छ।’
स्तनपान गराउनेको संख्या घट्दै गएपछि सरकारले सुत्केरी बिदा पनि ४२ दिनबाट बढाएर ९८ दिन पुर्याएको छ।
‘सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन २०७५ मा सुत्केरीका लागि ९८ दिनसम्म सुत्केरी बिदा पाउने व्यवस्था गरिएको छ,’ डा पौडेलले भने, ‘सरकारी क्षेत्रमा त्यो लागू भए पनि निजी क्षेत्रमा त्यो कार्यान्वयन हुन नसक्दा संख्यामा वृद्धि नआएको हो कि।’
शिशु जन्मिएको एक घण्टाभित्र र पूर्ण स्तनपान गराउनेको संख्या बढाउन स्वास्थ्य संस्थाहरुबाट आमा र बच्चाका लागि स्तनपानको महत्वबारे विस्तृत कार्यक्रम ल्याइरहेकोे पोषण शाखाका प्रमुख थापाले जानकारी दिए।
शिशुलाई आमाको दूध नै खुवाउनु पर्छ भनेर अस्पतालहरुमा मिल्क ब्यांक स्थापना गर्ने योजना पनि रहेको शाखा प्रमुख थापाले जानकारी दिए।
थापा भन्छन्, ‘आमाको दूध नखाएका बच्चाको बालमृत्युदर पनि उच्च हुन्छ। झाडापखला, कुपोषण जस्तै विभिन्न किसिमका रोग देखिन्छ। स्तनपान नगराउँदा तत्कालै मात्र नभएर दीर्घकालिन रोगहरु पनि देखा पर्ने अनुसन्धानले देखाएका छन््।’
स्तनपानबारे जनचेतना जगाउनमा स्वास्थ्यकर्मीको धेरै ठूलो भूमिका हुने गरेको जनस्वास्थ्यविद् डा. उप्रेतीले जानकारी दिइन्।
‘आमालाई सुरुमा बच्चालाई दूध खुवाउन गाह्रो नै हुन्छ त्यसैले परिवार र स्वास्थ्यकर्मीले त्यसलाई सहज गरि दिनु पर्छ,’ उनले भनिन्।
स्तनपानको महत्व
स्तनपानको महत्व वर्णन गरेर साध्य नहुने पोषणविद् विनिता पन्त बताउँछिन्।
बालबालिका लागि आमाको दूधले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने र बच्चालाई चाहिने सबै भिटामिन आमाको दूधमा पाइने बाल रोग विशेषज्ञ डा.सुवेदीले जानकारी दिइन्।
बच्चाको वृद्धि विकासका लागि आमाको दूध सर्वोत्कृष्ट मानिने सुवेदीको भनाइ छ।
फर्मूला दूध खाएका बच्चाहरुभन्दा आमाको दूध खाएको बच्चाहरुको शरीरिक र बौद्धिक विकास बढी हुने डा.उप्रेतीले जानकारी दिइन्। उनीहरुमा रोगसँग लड्न सक्ने क्षमता पनि बढी नै हुन्छ।
फर्मुला दूध खाएका बच्चाहरुमा श्वासप्रश्वास, मोटोपना र मधुमेह रोगको जोखिम बढी हुने र आमाको दूध खाएका बालबालिका बौद्धिक हुनुका साथै भविष्यमा लाग्न सक्ने नसर्ने रोगहरुबाट पनि बचाउन मद्दत गर्ने डा. उप्रेतीले बताइन्।
बिगौती दूधलाई बच्चाका लागि पहिलो खोप पनि भनिने डा सुवेदीले जानकारी दिइन्। बच्चालाई पूर्ण स्तनपान गराउँदा अर्थतन्त्रमै फाइदा पुग्ने उनी बताउँछिन्।
‘स्तनपान गराउने आमालाई पनि फाइदैफाइदा हुन्छ,’ डा सुवेदीले भनिन्, ‘स्तन क्यान्सर, पाठेघर मुखको क्यान्सर लगायत सुत्केरीपछि देखिने डिप्रेसनबाट पनि बचाउँछ। स्तनपानले आमा र बच्चाबीचको बन्डिङ बढाउँछ।’
पाठ्यक्रममै पोषणलाई प्रथामिकता
स्तनपान गराउने आमाको संख्या बढाउनमा सरकार र आम नागरिकको भूमिका धेरै हुने डा. उप्रेतीले बताइन्।
‘हामीमा पोषण शिक्षा पुगेकै छैन। अरु आधारभूत कुरा स्कुल तहबाटै राख्नु पर्छ भनेजस्तै पोषणका कुराहरु पनि स्कुलदेखि नै सिकाउनु पर्छ,’ पोषणविद् पन्त भन्छिन्, ‘अहिले हामी यस्तो बच्चा हुर्काउँदै छौँ, सबै बच्चा अस्वस्थ्य छन् जस्तो लाग्छ।’
‘रोग लागेर अस्पतालको ढोका ढक्ढकाउनुभन्दा रोग नै लाग्न लदिनु बेस हो। त्यसका लागि शिशु जन्मिएदेखि नै आमाको दूध खुवाउनु उत्तम उपाय हो,’ पन्तले भनिन्।
पन्तका अनुसार, सरकारले पोषणलाई प्रथामिकतामा राखेर काम गर्नु पर्छ। विभिन्न संघसंस्थाले यसमा काम नगरेको होइन तर सबैले भत्ता पकाउने काम गरिहेका छन्।
Shares
प्रतिक्रिया