विश्व स्वास्थ्य संगठनले मुख एवं अनुहारको दुखाइ, मुख तथा घाँटीको क्यान्सर, मुखको संक्रमण, जन्मँदै तालु तथा ओठ चिरेको गिजा सम्बन्धी रोग, दाँत किराले खाने तथा झर्ने, दाँतमा प्वाल पर्ने तथा अन्य मुखसम्बन्धी रोगहरूबाट मुक्त हुने अवस्थालाई मुख स्वास्थ्य भनेको छ।
शिशु आमाको पेटमा हुँदादेखि नै नाभीद्वारा खानेकुरा खाइरहेको हुन्छ। जन्मेपछि भने मुखबाट खान सुरु गर्छ। हामी कल्पना गरौं त हाम्रो मुख नहुँदो हो त ?
हाँस्ने, रुने, खाने, बोल्ने सम्पूर्ण कार्य मुखले गर्छ। शरीरको ऐना भनेर हामी मुखलाई लिनसक्छौं। त्यसैले मानव शरीर संचालनमा मुखको धेरै ठूलो भूमिका रहन्छ।
मुख स्वस्थ राख्न सकियो भने शरीर नै स्वस्थ राख्न सकिन्छ। मुख स्वास्थ्यले मानव शरीरको गेटको रूपमा काम गरिरहेको हुन्छ।
मुख स्वास्थ्य राख्न सके पेटसम्बन्धी रोग, मिर्गौलामा समस्या, मुटु समस्या, हाडजोर्नीको समस्या, उच्च रक्तचाप, मधुमेह र फोक्सोसम्बन्धी रोगबाट बच्न सकिन्छ। अर्थात मुख स्वस्थ राख्न सक्यो भने ९० प्रतिशत रोगबाट बच्न सकिन्छ।
दाँत सफा नगर्दा देखिने समस्याः
दाँत राम्रोसँग सफा नगर्दा दाँतमा त असर गर्छ नै शरीरमा पनि त्यसले असर पुर्याउँछ।
सुरुवाती चरणमा दाँत कमजोर हुने, गिजाबाट रगत बग्ने, सुनिने जस्ता समस्या देखिन्छन्।
यी समस्याहरू बढ्दै जाँदा मुख गन्हँ आउँने, दाँत हल्लिने, दाँत भाचिने, झर्ने, दुख्ने र घाउँ हुने समस्या देखिन्छ।
दाँतमा धेरै संक्रमण फैलिएर रगतको माध्यम हुँदै मुटु, टाउको र शरीरका विभिन्न भागहरूमा ब्याक्टेरियाहरू पुग्छन्।
जसले हार्टअट्याक हुने, टाउको दुख्ने, जोड्नीहरू दुख्ने जस्ता गम्भीर समस्या देखिन सक्छन्।
मुख स्वस्थ कसरी राख्ने ?
खानपिनमा ध्यान दिनेः मुख मानव शरीरभित्र ब्याक्टेरिया जाने प्रमुख बाटो हो। मुखबाट राम्रो नराम्रो दुवै कुराहरू जान्छ। त्यसकारण यसलाई सफा राख्न दिनको २ पटक राम्रोसँग ब्रस गर्नुपर्छ।
जंकफुड, गुलियो खाने कुरा खानेबित्तिकै सकेसम्म ब्रस गर्नुपर्छ। नभए सफा पानीले कुल्ला गर्नुपर्छ। र मुख स्वस्थ्य राख्नका लागि सूर्तिजन्य पदार्थहरूको सेवन गर्नुहुँदैन।
मुख स्वस्थ राख्नका लागि पानी प्रशस्त मात्रामा पिउँने, दाँतका लागि स्याउ राम्रो हुने भएकाले नियमित स्याउ खानुपर्छ।
दिनको २ पटक ब्रस गर्ने: सकेसम्म हामीले चिनीजन्य खानेकुरा खानुहुँदैन। खाइहाले पनि ब्रस गरिहाल्नुपर्छ।
मुख स्वस्थ्य राख्नका लागि नियमित सामान्यतया ३ देखि ६ महिनामा दन्तरोग विशेषज्ञलाई देखाउनुपर्छ।
हरेक दिन औंलाले गिजा मसाज गर्नुपर्छ।
नरम ब्रसको प्रयोग गर्नुपर्छ। कम्तिमा ६०-६० दिनको फरकमा ब्रसहरू नयाँ प्रयोग गर्नु पर्ने हुन्छ।
(दन्तरोग विशेषज्ञ डाक्टर सुवास घिमिरेसँगको कुराकानीमा आधारित)
प्रतिक्रिया