नेपाललगायत विश्वमै मधुमेह रोगले विकराल रुप लिँदै छ। अस्वस्थकर खानपान र विलासी जीवनशैलीका कारण मधुमेहका बिरामी बढिरहेको भनिन्छ। नेपालमा यो रोगको अवस्था के छ? यसबाट जोगिन के गर्नुपर्छ? यिनै विषयमा केन्द्रित रहेर ललितपुर कुपण्डोल हाइटमा रहेको आरुस लाइफस्टाइल अस्पतालका मेडिकल डाइरेक्टर तथा इन्डोक्राइनोलोजिस्ट डा.अमित शाक्यसँग गरिएको कुराकानी :
साधारण भाषामा मधुमेह रोगबारे बताइदिनुस् न।
मधुमेहलाई सुगर रोग पनि भनिन्छ। पहिलेपहिले मधुमेहलाई गुलियो पिसाब आउने रोग पनि भनिन्थ्यो। धेरै वर्षअगाडि रगत जाँच गर्ने चलन थिएन। र, व्यवस्थित शैचालय पनि थिएन। मान्छेले जता पायो त्यतै शौच गर्थे। पिसाब गरेर आइसकेपछि त्यसमा कमिलाहरु जम्मा हुन्थे। किन कमिलाहरु जम्मा भए भन्ने विषयमा छलफल गर्दागर्दै पिसाब गुलियो भएर कमिला जम्मा भएको रहेछ भनेर मधुमेह रोग भन्न थालिएको हो।
आजभोलि त मधुमेह रगतबाट जाँच गरेर पत्ता लगाइन्छ। वास्तवमा मधुमेह भनेको रगतमा चिनी बढ्नु तर शरीरले चिनी नपाउने अवस्था हो। धेरैले शरीरमा सुगर बढेर मधुमेह भएको रहेछ भन्ने सोच्छन्। तर त्यस्तो होइन। रगतमा चिनी बढ्नु तर शरीरलाई चिनी नपुग्नु हो।
शरीरमा चिनी जानै सकेन र रगतमा अड्किएर बस्यो भने त्यसलाई हामी मधुमेह भन्छौँ। वास्तवमा मधुमेह शरीरमा चिनीको मात्रा नपुगेर हुने हो।
मधुमेह कति प्रकारका हुन्छन्?
टाइप–वान मधुमेह धेरै बालबालिका वा १५–२० वर्षको उमेर मुनिकालाई देखिन्छ। टाइप–वान मधुमेहमा प्यान्क्रियाजले काम गर्दैन। त्यसैले उनीहरूलाई सुरुबाटै इन्सुलिन दिएर उपचार गर्नु पर्छ। यो मधुमेह औषधि खाएर वा जीवनशैली परिवर्तन गरेर नियन्त्रणमा आउँदैन।
टाइप–टु मधुमेह भनेको शरीरमा इन्सुलिन भएर पनि काम नगर्नु हो। सामान्य भाषामा भन्दा ग्लुकोज अथवा चिनीको मात्रा बढ्नु हो। यो समस्या वंशाणुगत कारणले पनि हुन सक्छ।
संसारभर सबैभन्दा बढी देखिने टाइप–टु मधुमेह हो। विश्वभर नै ८० देखि ८५ प्रतिशतमा टाइप–टु मधुमेह देखिन्छ। बाँकी १० देखि १५ प्रतिशत टाइप–वान मधुमेह देखिन्छ।
जीवनशैलीमा व्यापक रूपमा सुधार गर्न सक्यो भने टाइप–टु मधुमेह नियन्त्रण पनि हुन्छ। त्यसैले यसलाई निको हुने सुगर पनि भनिन्छ।
शरीरमा सुगरको मात्रा कति हुँदा बढी वा कम भन्न सकिन्छ?
सामान्यतः शरीरमा कत्ति पनि सुगर नहुने भन्ने हुँदैन। हाम्रो शरीरमा चिनी जहिले पनि उत्पादन भइरहन्छ। हामीले खानै नखाए पनि शरीरले चिनी उत्पादन गरिहेको हुन्छ।
खाली पेट (आठ घण्टा) हुँदा ६० देखि एक सय १० वा २० एमजीको बीचमा हुनु पर्छ। यो भन्दा थोरै माथि गयो भने पनि प्रि–डाइबिटिज (मधुमेह हुन लागेको अवस्था) भनिन्छ।
खाना खाँदा भने ७० देखि एक सय ४० एमजीसम्म भयो भने शरीरमा सुगरको मात्रा ठिक मानिन्छ।
अहिले विश्वभर मधुमेहका बिरामीभन्दा पनि मधुमेह हुन लागेका अर्थात प्रि–डाइबिटिनको अवस्थाका मानिस बढी छन्।
मधुमेह के–के कारणले गर्दा हुन्छ?
मधुमेह अनुवांशिक कारणले गर्दा पनि हुन्छ। बुबा, आमा वा परिवारको अन्य सदस्यलाई मधुमेह भएको छ भने त्यस्तो व्यक्तिलाई अन्य व्यक्तिको तुलनामा बढी हुने सम्भावना हुन्छ। र, सानैबाट खानपानमा नियन्त्रण गरेन, व्यायाममा ध्यान दिएन, धेरै तनाव भयो भने पछि गएर उसलाई मधुमेह हुने सम्भावना बढ्दै जान्छ।
कुनै व्यक्ति मोटो भए, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, हार्टअट्याक भइसकेको, स्ट्रोक भइसकेको छ भने पनि मधुमेह हुने जोखिम हुन्छ।
मधुमेह हुँदा कस्ता लक्षण देखिन्छन्?
मधुमेह भएका ५० प्रतिशतमा मात्र लक्षण देखिन्छ भने ५० प्रतिशतमा देखिँदैन। त्यसैले यो रोग लागेको धेरै वर्षपछि मात्र बिरामी अस्पताल आउने गर्छन्। जसले गर्दा बिरामीको आँखा, मुटु, मिर्गौलामा असर गरिसकेको हुन्छ। टाइप–टु मधुमेह एकदमै ढिलो मात्र थाहा हुन्छ।
मधुमेह रोग लागेको धेरै समयपछि भने तिर्खा बढी लाग्ने, पिसाब लागिरहने, तौल घट्ने वा बढ्दै जाने हुन्छ। कतिपय महिलामा भने महिनावारी गडबडी हुने, छाला परिवर्तन र इन्फेक्सन हुने, साना मुसाहरू, घाँटी पछाडि वा काखीमा कालो दागहरु देखिने जस्ता लक्षण देखन्छिन्।
अहिले यो रोगको अवस्था के छ?
पहिलेपहिले मधुमेह हुनेखानेलाई मात्र हुने रोग हो भनिन्थ्यो। उनीहरु धेरै खाने र काम कम गर्ने भएकाले गरिबगुरुवालाई लाग्ने रोग होइन भनिन्थ्यो भने अहिले यो सोचमा परिवर्तन आएको छ। अहिले सबै सहरीकरण भएको छ।
सामान्यतया अहिले पनि ग्रामीणभन्दा सहरी क्षेत्रमा बसोबास गर्ने सय जनामध्ये २० जनालाई मधुमेह हुन्छ। वा सहरमा बस्ने १९ देखि २० प्रतिशत मधुमेहका बिरामी छन्। तर गाउँ तिर हेर्ने हो भने सयमध्ये चार जनामा मात्र मधुमेहका बिरामी छन्।
सहरमा किन धेरै भयो भने तनाव धेरै, पैसाको पछाडि दौडियो, यता पनि मिलाउनु पर्यो, उता पनि मिलाउनु पर्यो, सबैतिर तनाव भयो र खानपिन जथाभावी हुन थाल्यो, जंकफुड धेरै खानाले पनि सहरी क्षेत्रमा मधुमेह बढी देखिन थालेको हो।
मधुमेह विश्वभर नै किन तीव्र गतिमा फैलिरहेको छ?
विश्वभर नै मधुमेह तीव्रगतिमा फैलिरहेको कारण के हो भने पहिले शारीरिक कामहरु धेरै थियो तर अहिले शारीरिक परिश्रम कम र दिमागी काम बढी हुन थालेको छ। अहिले धेरैबेर कुर्सीमा बसेर गर्ने काम बढी भइरहेको छ।
हाम्रो शरीर चलायमान कम भएर माटोपन बढ्दै गयो र खानपिनमा पनि धेरै परिर्वतन आएको छ। जसले गर्दा मधुमेह रोग निम्त्याइरहेको छ।
लुकेको चिनीले गर्दा पनि मधुमेह रोग तीव्रगतिमा फैलिरहेको छ। हामीले खाने जंकफुड, बर्गर, पिज्जा, मोमो आदिमा लुकेर बसेको चिनी हुन्छ। हामी जिब्रोले चाखेको मात्र गुलियो भन्छौँ तर जिब्रोलाई गुलियो नलाग्ने लुकेको चिनी पनि हुन्छ। जस्तो एक कचौरा भातमा १० देखि १२ चम्चा चिनी हुन्छ। एउटा आलु भनेको चार चम्चा चिनी हो। एकपिस मैदाको ब्रेडमा तीनदेखि चार चम्चा चिनी हुन्छ। हामी जानेर होस् वा नजानेर दिनभर चिनी खाइरहेका छौँ।
यस्ता धेरै कारणले गर्दा विश्वभर भयावहरुपमा मधुमेह रोग फैलिरहेको छ।
हाम्रो शरीरका लागि चिनी कति आवश्यक छ?
हाम्रो शरीरका लागि चिनी धेरै आवश्यक हुन्छ। मानव शरीर मात्र नभएर अन्य प्रजातिका लागि पनि चिनी उत्तिकै आवश्यक पर्छ। चिनीबिना हामी बाँच्न सक्दैनौँ। तर त्यही चिनी धेरै खायो र त्यसलाई खर्च गर्ने ठाउँ भएन भने, शरीरको बैंक मानिने बोसोमा गएर जम्मा भइरह्यो भने त्यो मधुमेहमा परिणत हुन्छ।
मधुमेह कसरी नियन्त्रण गर्न सकिन्छ?
मधुमेहबाट बच्न वा नियन्त्रण गर्नका लागि हामीले चार कुरालाई ख्याल गर्नु पर्छ। सबैभन्दा पहिला २५ प्रतिशत खानपिनमा कन्ट्रोल गर्नु पर्छ। मुख्यगरी कार्बोहाइड्रेट, जो गुलियो भएको वा नभएको खाने कुरा हुन्छ, जसमा चिनीको मात्र धेरै हुन्छ, त्यसलाई चिन्नुपर्छ र कम गर्नुपर्छ।
अर्को २५ प्रतिशत ख्याल गर्ने कुरा भनेको तनाव हो। तनावमा सुगर बढ्न सक्छ।
२५ प्रतिशत सुगर नियन्त्रण गर्ने भनेको व्यायाम हो। खाना मात्र बारेर हुँदैन, व्यायाम गर्नै पर्छ। उमेर अनुसार व्यायाम गर्नु पर्ने हुन्छ। दिनमा कमसेकम १० हजार पाइला (आठ किलोमिटर) हिँड्नै पर्छ।
कतिपयले व्यायाम गर्दा पसिना आउनै पर्छ भन्छन् तर त्यो होइन। गर्मीमा त यत्तिकै पसिना आउँछ। त्यसलाई व्यायाम गरेको भन्न त मिल्दैन। व्यायामको मुख्य अर्थ भनेको क्यालोरी बर्न गर्नु हो। क्यालोरी खर्च हुनु पर्छ। व्यायाम गर्दा नाडी छामेर गर्नुपर्छ। एक मिनेटमा सय पटकभन्दा बढी धड्किनेगरी आधा घण्टादेखि ४५ मिनेटसम्म निरन्तरता दियो भने त्यो राम्रो व्यायाम मानिन्छ।
सुगर नियन्त्रण गर्ने अर्को २५ प्रतिशत भनेको चाहिँ औषधि उपचार नै हो। मधुमेहका बिरामीले म डाक्टरकोमा गइरहेको छु, उहाँले दिएको औषधिले कम भइहाल्छ भन्ने कहिले पनि सोच्नु हुँदैन। मधुमेह नियन्त्रण बिरामी आफैँले गर्ने हो। डाक्टरले त थोरै सहयोग मात्र गर्ने हो। २५ प्रतिशत मात्र डाक्टरको भूमिका हुन्छ।
सुगर नियन्त्रण गर्ने चार सूत्र छन्ः खानपिन नियन्त्रण, व्यायाम, तनाव नियन्त्रण र उपचार।
सुगर नियन्त्रणमा राख्न भात, रोटीभन्दा बढी तरकारी र सलादहरू खानुपर्छ। नियमित दिनमा एक दुई घण्टा व्यायाम गर्नुपर्ने हुन्छ। यसरी व्यायाम गरेर तौल घट्यो भने फाइदा के हुन्छ भने पेटको बोसो, मुख्यतया कलेजो र प्यानक्रियाजमा भएको फ्याट घट्छ।
मधुमेह हुनेबित्तिकै के के खाना बार्नुपर्छ?
मधुमेहमा खानै नहुने भन्ने केही पनि छैन। मात्रा मिलाएर खायो भने सबै खान मिल्छ। मात्रा मिलाएर खाएन भने कहिलेकाहीँ अमृत पनि विष हुन्छ। मधुमेह भइसकेको व्यक्तिले कुन खाने कुरा कति खाने भनेर पोषणविद्सँग सल्लाह गर्नु पर्छ।
शरीरको तौल र मधुमेह कति मात्रामा छ भन्ने कुराले के खाने कुरा कति खाने भनेर तोकिन्छ। त्यसैले पोषणविदसँगै नै छलफल गर्नु पर्छ।
समग्रमा भन्नुपर्दा खान नहुने कुरा केही पनि छैन। तर जुन खाने कुरा पेटमा धेरै बेर बस्छ, त्यो खाने कुरा फाइदाजनक हुन्छ। जुन खाने कुरा खानेबित्तिकै छिट्टो नै रगतमा जान्छ त्यसले सुगर चाडो बढाउँछ।
जुन कुरा मेसिनमा गएर आउँछ त्यो कुराले बढी असर गर्छ। त्यसैले पहिला प्राकृतिक खाने कुरा बढी खाइन्थ्यो र सुगर कम हुन्थ्यो तर अहिले प्रशोधित खाने कुरा बढी खाइनाले यो रोग बढी रहेको छ।
मधुमेहलाई कतिपयले दीर्घ रोग भन्छन् भने कतिले निको हुने रोग भन्छन्, यो किन?
मधुमेह रोग भएपछि यो दीर्घ रोग नै हो। एक पटक मधुमेह भयो भनेर ठप्पा लागेपछि त्यो जिन्दगीभर नै हो। तर यति हो कि तपाईं त्यसलाई कसरी अँगाल्नु हुन्छ भन्ने हो।
मधुमेह भएपछि जीवनशैली परिर्वतन भएको छ। आहार, व्यायाम, तनाव र तौल सबै व्यवस्थापन गर्नु भएको छ भने औषधि खानु पर्ने आवश्यकता हुँदैन। त्यसको मतलब तपाईंलाई पछि गएर मधुमेह हुँदै हुन्न भन्ने चाहिँ होइन।
मधुमेह ठिक भयो, औषधि खानु पर्दैन भनेर जीवनशैली परिवर्तन गर्यो भने फेरि रोग बल्झिन्छ। मधुमेह लामो समय दबाएर राख्न सकिन्छ तर निको भने पार्न सकिँदैन। यो निर्मूल नहुने रोग हो।
शरीरमा सुगरको मात्रा कम हुनु चाहिँ कत्तिको सामान्य हो?
शरीरमा सुगरको मात्र कम हुनुलाई सामान्य मान्न सकिँदैन। जसरी सुगर बढी हुँदा शरीरलाई असर गर्छ, त्यसरी नै कम हुँदा पनि शरीरलाई असर गर्छ र खतरनाक मान्न सकिन्छ।
शरीरमा सुगरको मात्रा कम हुँदा हात काप्ने, मुुटु काप्ने, पसिना धेरै आउने, चक्कर लाग्ने र कसैलाई सुतिराख्न मन लाग्ने जस्ता लक्षण देखिन सक्छन्। यस्ता समस्या देखिनेबित्तिकै चिनी, ग्लुकोज वा चक्लेट खाइहाल्नु पर्छ र एकछिनपछि केही ठोस खाने कुरा खानु पर्छ।
हाम्रो दिमागले सुगरबिना काम गर्न सक्दैन। सुगर ४०/५० भन्दा कम भयो भने हाम्रो दिमागले काम गर्न छोड्छ र मान्छे बेहोस हुन्छ। त्यस्तो अवस्थामा तुरुन्त उपचार गरिएन भने प्यारालाइसिस पनि हुन सक्छ। सुगरको मात्रा कम हुँदा अन्य जटिलता पनि आउन सक्छन्।
मधुमेहले शरीरका कुनकुन अङ्गमा बढी असर पुग्छ?
मधुमेह दीर्घकालिन रोग भएकाले यसले शरीरका मुख्यमुख्य अङ्ग जस्तो आँखा, मुटु, मिर्गौला र नसाहरुलाई असर पुर्याउँछ। यी चार भागमा धेरै असर गर्छ।
मधुमेहमा रगतमा चिनी थुप्रिन्छ, जसले गर्दा रगत बाक्लो हुन्छ। आँखा र मुटुका सानासाना नसाहरु बन्द हुन थाल्छन् र ती अङ्गहरुमा असर पुग्छ। त्यसैले वर्षमा एक पटक यी चार अङ्गको जाँच गर्नु पर्छ भनिन्छ।
सामान्य मान्छेले गुलियो खाने कि नखाने त?
गुलियो खाँदैमा सुगर हुने होइन। तर जसको इन्सुलिन कमजोर छ, त्यस्तो व्यक्तिले गुलियो कम नै खाएको राम्रो हुन्छ।
भिडिओ-
प्रतिक्रिया