विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार विश्वभर एक वर्षमा मृत्यु हुने मानिसहरुमध्ये करिब एक तिहाइमा मुटुसम्बन्धी समस्या हुने गरेको बताएको छ।
डब्ल्यूएचओका अनुसार वार्षिक १ करोड ७९ लाख मानिसको मृत्यु मुटुसम्बन्धी रोगको कारण हुने गरेको छ। डब्ल्यूएचओको नयाँ रिपोर्टअनुसार उनीहरुमध्ये ८८ प्रतिशतलाई समयमा नै उपचार दिन सकिएको भए बचाउन सकिन्थ्यो।
विश्वभर प्रत्येक दुई सेकेन्डमा ७० वर्षभन्दा कम उमेरका मानिसको नसर्ने रोगको कारण मृत्यु हुने गरेको छ। यस किसिमको मृत्युमध्यृ ८६ प्रतिशत कम र मध्यम आय भएका मुलुकमा हुने गरेको छ।
रिपोर्टमा उल्लेखगरिएअनुसार अहिले हाइपरटेन्सनको समस्या भएका दुई तिहाइ मानिस कम र अति कम आम्दानी भएको मुलुकमा बस्छन्।
यद्यपि उनीहरुमध्ये करिब आधालाई आफूमा भएको समस्यासमेत थाहा छैन। अहिले हाइपरटेन्सनको कारण करिब एक अर्ब ३० करोड मानिस प्रभावित छन्। जसमा ३० देखि ७९ वर्षका मानिसहरु छन्। यो पछिल्लो दशकमा खासै ख्याल नगरिएको विषय हो।
विशेषज्ञहरुले भने डब्ल्यूएचओको प्रतिवेदनले नयाँ कुरा नदेखाएको बताएका छन्। उनीहरुका अनुसार नसर्ने रोगहरुबाट मृत्यु हुनेको संख्या लामो समयदेखि बढ्दै आइरहेको छ। विश्वभर मृत्यु हुने २८ मध्ये एकजनाको मृत्यु डायबेटिजको कारण हुने गरेको छ।
६ जनामध्ये एकको मृत्यु क्यान्सरको कारण भएको रिपोर्टमा उल्लेख छ। क्यान्सरको कारण वार्षिक ९३ लाख मानिसको मृत्यु हुने गरेको छ। क्यान्सरबाट हुने ४४ प्रतिशतको पनि ज्यान बचाउन सकिने डब्ल्यूएचओले उल्लेख गरेको छ।
प्रतिक्रिया