आफ्नो सन्तानलाई कस्तो बनाउने भन्ने विषयमा अभिभावकले लिने निर्णय निकै महत्वपूर्ण हुन्छ। अभिभावकले उनीहरुको विषयमा स्पष्ट निर्णय लिन नसक्दा उनीहरुको विकासमा पनि अवरोध उत्पन्न हुन्छ।
बालबालिकाहरुलाई आफ्नो विकासको लागि हौसला र प्रेरणाको आवश्यकता हुन्छ। यस किसिमको प्रेरणा उनीहरुले आफ्ना आमाबाबुबाट पाउनु सबैभन्दा राम्रो हुन्छ।
यसरी प्रेरणा पाएर आत्मविश्वासी बनेका व्यक्तिहरु जीवनमा आइपर्ने कठिन चुनौतीको सामनाको लागि पनि सक्षम हुन्छन्।
बालबालिकाहरुलाई आत्मविश्वास र सबल बनाउन के गर्ने त? यहाँ बालबालिकाहरुलाई अभिप्रेरित गर्ने केही तरिका उल्लेख गरिएको छ–
१. आफैंमा विश्वास राख्नु
कहिलेकाहीँ आफ्नो सन्तानले गल्ती गरे पनि उसलाई अघि बढ्न हौसला दिनुहोस्। यसले उनीहरुलाई अगाडि बढ्न मद्दत पुग्छ। त्यस्तै उनीहरुले केही राम्रो काम गर्दा पनि उनीहरुको प्रशंसा मात्र नगर्नुहोस्। प्रशंसा मात्र गर्दा पनि आवश्यकता भन्दा धेरै आत्मविश्वास उत्पन्न भई त्यसले नकारात्मक नतिजा दिन सक्छ।
२. शक्ति सबै कुरा होइन
अभिभावकले बालबालिकाहरुलाई जोखिम लिन र नयाँ कुराको लागि मार्ग पहिचान गर्न सिकाउनुपर्छ। बालबालिकालाई उपाधि पाउनु वा सबैलाई उछिन्नु मात्र ठूलो कुरा होइन भन्ने सिकाउनुपर्छ। अभिभावकले सन्तानलाई सर्वश्रेष्ठ बन्नुभन्दा पनि जीवनमा सन्तुष्ट हुनु महत्वपूर्ण कुरा हो भन्ने सिकाउनुपर्छ।
३. सन्तानहरुको उपलब्धि लेखेर राख्नु
आफ्नो सन्तानलाई प्रेरित गर्ने एउटा उपाय उनीहरुले हात पारेको उपलब्धि लेखेर राख्नु पनि हो। जतिबेला उनीहरु निराश वा उदास हुन्छन्, त्यतिबेला उनीहरुलाई तपाईंले नोट गरेको उपलब्धिहरु देखाउनुहोस्। यसले उनीहरुमा आत्मविश्वास बढ्छ।
४. प्रश्न सोध्नुहोस्
सन्तानलाई पनि आफ्ना अभिभावक आफ्नो साथमा छन् भन्ने महसुस हुनु जरुरी हुन्छ। त्यसैले उसको मनमा त्यस्तो भावना जागृत गर्न उनीहरुलाई के गर्न चाहेका छौ? के गर्न चाहन्छौं तर डराउँछौ? अभिभावकले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ? जस्ता प्रश्नहरु सोध्नुहोस्।
५. स्फुर्ति बढाउनु
लगातार कुनै कामको लागि प्रयास गर्न लगाउनुभन्दा पनि केही समय विश्राम गर्ने बानीको विकास गराउनुहोस्। यसले उनीहरुको मन र दिमाग दुवैको स्फुर्ति बढाउन सहयोग गर्छ।
६. सुस्त अघि बढ्न दिनुहोस्
तपाईंको सन्तानले केही कुरा सिक्न समय लिइरहेको छ भने उसलाई छिटो गर्न दबाब दिनुभन्दा पनि सहयोग गर्नुहोस्। उसलाई तिमी ढिलो भयौ वा तिम्रो गति सुस्त छ भनेर दबाब दिनुहुँदैन। यसले बालबालिकाको आत्मविश्वास कमजोर बनाउँछ। सबै बालबालिकाको सिक्ने गति फरक हुन्छ। त्यसैले आफ्नो सन्तानलाई छिटो सिक्नको लागि दबाब दिनुहुँदैन।
प्रतिक्रिया