पाथीभरा केबलकारको पक्षमा स्ट्याटस लेखेको भन्दै धरानमा एक व्यक्तिलाई कोलोमोसो दलिएको छ। पाथीभरामा केबलकार निर्माण गर्नु राम्रो भनेर स्ट्याटस लेखेका पदम चेन्जी मावोलाई केबलकारको विरोधमा रहेका व्यक्तिहरूले कालो मोसो दलेका हुन्।
याक्थुङ्ग चुम्लुङ केन्द्रीय कार्यसमितिले आयोजना गरेको पत्रकार सम्मेलनमा पुगेर नो केबलकार समूहले चेन्जीलाई कालो मोसो दलेर दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार याक्थुङ्ग चुम्लुङको फागुन १ गतेदेखि धरानमा भएको महाधिवेशनका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा नै कालो मोसो दलिएको हो।
दुर्व्यवहार भएको स्थलमा जसपा धरानका उपाध्यक्ष सुमन चेम्जोंग, अमर इजमलगायतका नेताहरू पुगेका थिए। पत्रकार सम्मेलन स्थलमा पुगेर मावोमाथि लिम्बूको वंश गद्दार भएको नारा लगाउँदै केही व्यक्तिहरूले नारा लगाउँदै हातपात भएको स्थानीयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमन तिमल्सिनाले ३ जनाले होहल्ला गरेर कालो मोसो दलेको भन्ने जानकारीमा आएको बताए।
मावोलाई प्रहरी सुरक्षामा राखिएको उनको भनाइ छ। उनले इलाका प्रहरी कार्यालय धरानमा कालो मोसो दल्नेविरुद्ध जाहेरी दिएको एसपी तिमल्सिनाले बताए। घटनाको बारेमा थप अनुसन्धान भइरहेकोले दुर्व्यवहार गर्ने व्यक्तिहरूको खोजी भइरहेको उनको भनाइ छ।
Shares

प्रतिक्रिया