कोशी


दाङ घटनामा रास्वपालाई दोष दिँदै ओलीले भने: आफूले नजित्ने देखेपछि चुनाव भाँड्न खोज्यो

दाङ घटनामा रास्वपालाई दोष दिँदै ओलीले भने: आफूले नजित्ने देखेपछि चुनाव भाँड्न खोज्यो

शनिबार बिहान भद्रपुर विमास्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष केपी ओली


नेपालखबर
फागुन ९, २०८२ शनिबार १४:८, विराटनगर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचन भाँड्ने काम गरेको आरोप लगाएका छन्।

शनिबार बिहान झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाङमा एमालेको सूर्य चिह्न भएको झन्डा जलाएको विषय घटनामा रास्वपालाई दोष दिएका हुन्। 

उनले भने, ‘रास्वपाले आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित नदेखेपछि योजनाबद्ध रूपमा निर्वाचन भाँड्ने र वातावरण बिगार्ने खेल सुरु गरेको छ।’

रास्वपाका कार्यकर्ताले अन्य राजनीतिक दलका झन्डाप्रति अभद्र र अमर्यादित व्यवहार देखाउने, चुनावी प्रचारप्रसारमा अवरोध गर्ने र समाजमा तनाव सिर्जना गर्ने काम गरिरहेको आरोप ओलीले लगाएका छन्। 

उनले यस्ता क्रियाकलापलाई लोकतन्त्रविरोधी र अराजनीतिक चरित्रको संज्ञा दिएका छन्।

‘आफूले जिते मात्र चुनाव हुन दिने र नजिते भाँड्न खोज्ने प्रवृत्ति खतरनाक देखिएको छ’, उनले भने, ‘शान्तिपूर्ण रूपमा चुनावको वातावरण बनाउन आग्रह गर्दछु।’

यही फागुन ७ गते राति दाङको तुलसीपुर उपमहानगरपालिका-५, वीरेन्द्र चोकमा एमालेको चुनाव चिह्न अङ्कित झन्डा जलाइएको थियो। घटनामा संलग्न आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ भने रास्वपाले यसमा आफ्नो संलग्नता नरहेको दाबी गरेको छ।

एमाले अध्यक्ष ओलीले अहिलेको तरल राजनीतिक अवस्था र दलहरूबिचको बढ्दो टकरावले गर्दा चुनाव निष्पक्ष हुने र सुरक्षित हुनेमा पनि आशंका व्यक्त गरे। 

यस्ता अराजक गतिविधि रोक्न र सबै दलका लागि सुरक्षित र मर्यादित चुनावी वातावरण बनाउन उनले सरकारसँग माग पनि गरे।

एमाले अध्यक्ष ओली काठमाडौँबाट आजै झापा पुगेका हुन्। 

ओली आज दिउँसो आफ्नो निर्वाचन क्षेत्रमा हुने कार्यक्रममा सहभागी हुने तालिका छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad