राष्ट्रियसभा निर्वाचनअन्तर्गत काेसी प्रदेशमा पनि मतदान जारी छ।
मतदान सुरु भएको २ घण्टामा प्रदेशसभा तर्फ ५० र पालिका तर्फ १७४ जनाले मतदान गरिसकेका छन्।
कोसी प्रदेशमा रिक्त रहेका तीन पदमध्ये अन्य समूहबाट नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेकाले अब बाँकी रहेका दुई पदका लागि मात्र मतदान भइरहेको हो।
यस निर्वाचनमा मुख्यगरी नेपाली कांग्रेस, नेकपा एमाले र जसपाको गठबन्धन र अर्कातर्फ नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारहरूबिच प्रतिस्पर्धा हुँदै छ।
गठबन्धनका तर्फबाट दलित क्लस्टरमा एमालेका सोमनाथ पोर्तेल र महिला क्लस्टरमा एमालेकै रोशनी मेचे मैदानमा छन्। उनीहरूलाई चुनौती दिन नेपाली कम्युनिस्ट पार्टीले दलिततर्फ खेम सुन्दास र महिलातर्फ नमिता न्यौपानेलाई उम्मेदवार बनाएको छ।
विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा बिहान ९ बजेदेखि जारी मतदान दिउँसो ३ बजेसम्म चल्नेछ।
मतदानका लागि दुईवटा मतदान केन्द्र छन्।
कोसी प्रदेशमा कुल ९३ प्रदेशसभा सदस्यमध्ये हाल ९२ जना र स्थानीय तहका २७४ प्रमुख-उपप्रमुखमध्ये २६९ जना मतदाता छन्।
केही जनप्रतिनिधि राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा होमिएका कारण मतदाताको संख्या घटेको हो।
हाल कोसी प्रदेशमा प्रदेशसभातर्फ ४ हजार ८ सय ७६ र स्थानीय तहतर्फ ५ हजार १११ गरी कुल ९ हजार ९ सय ८७ मतभार कायम छ।
माओवादीका गोपी अछामी, एमालेका देवेन्द्र दाहाल र इन्दु गौतमको कार्यकाल सकिएपछि रिक्त भएका यी पद भर्न यो निर्वाचन हुन लागेको हो।
आउने फागुनमा राष्ट्रियसभाका १९ सदस्यको पदावधि सकिँदै छ। तीमध्ये १ जना राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ।
बाँकी १८ सदस्यमा पनि एक जना (कोसी प्रदेशमा खस आर्यतर्फ सुनिलबहादुर थापा) निर्विरोध निर्वाचित भइसकेकाले आज १७ सदस्यका लागि निर्वाचन भइरहेको हो।
मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ।
Shares

प्रतिक्रिया