ad ad

कोशी


कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत माग्ने, बहुमत नपुगे के हुन्छ?

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत माग्ने, बहुमत नपुगे के हुन्छ?

फाइल तस्बिर : मुख्यमन्त्री हिक्मतकुमार कार्की


नेपालखबर
असोज २०, २०८० शनिबार ९:१९, काठमाडौँ

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज (शनिबार) प्रदेशसभामा विश्वासको मत माग्ने भएका छन्।

संविधानको धारा १६८ को उपधारा ३ अनुसार कार्की गत भदौ २२ गते मुख्यमन्त्री बनेका हुन्। संविधानअनुसार मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्छ। जुन अवधि आज असोज २० गते पूरा हुँदै छ।

यसअघि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको गठबन्धनबाट मुख्यमन्त्रीमा नियुक्त उद्धव थापाले विश्वासको मत लिँदा सभाध्यक्षको पनि मत प्रयोग गरेपछि सर्वोच्च अदालतले उनलाई पदबाट हटाएको थियो। 

त्यसपछि प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतमा नेकपा एमालेका नेता कार्की मुख्यमन्त्री बनेका हुन्। तर कार्कीले पनि विश्वासको मत (बहुमत) पाउने सम्भावना कम छ। 

प्रदेशसभामा एमालेका ४० सांसद छन्। तर उपसभामुख सिर्जना दनुवारले सभाको अध्यक्षता गर्दा मतदान गर्न मिल्दैन। दनुवारले मत नहालेपछि एमालेका ३९ मात्रै सांसद कार्कीका पक्षमा देखिन्छन्। 

एमालेको गठबन्धनमा राष्ट्रिय प्रजातन्त्र पार्टी पनि छ। तर राप्रपाले कार्कीले विश्वासको मत पाउने आधार भएमा साथ दिने जनाएको छ।

राप्रपाले मत दिँदा पनि कार्कीको पक्षमा ४५ मत मात्रै हुन्छ। ९३ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ४७ सांसद चाहिन्छ।

यदि विश्वासको मत पाउन नसकेमा कार्कीले पदबाट राजीनामा दिन सक्नेछन्। कार्कीले यसअघि विश्वासको मतका लागि एकीकृत समाजवादीसँग पनि संवाद गरेको थियो। तर बुधबार मात्रै समाजवादीका अध्यक्ष माधव नेपालले अहिलेको गठबन्धनबाट दायाँबायाँ नहुने बताएका छन्। 

कार्कीले विश्वासको मत नपाए संविधानको धारा १६८ को उपधारा ५ बाट सरकार बनाउनुपर्ने हुन्छ। जहाँ प्रदेशसभाको जुनसुकै सदस्यले बहुमत सांसदको हस्ताक्षर जुटाएर मुख्यमन्त्रीमा दाबी गर्न सक्छन्।

प्रदेशसभा सदस्यलाई दलीय ह्विप नलाग्ने हुँदा जुनसुकै दलले सरकार बनाउन सक्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .