कोशी


गाँजा तस्करीको ‘ट्रान्जिट’ बन्दै कोसी

निजी नम्बर प्लेटलाई सरकारी बनाएर हुन्छ तस्करी
गाँजा तस्करीको ‘ट्रान्जिट’ बन्दै कोसी

लागुऔषध तस्करीका लागि प्रयोग भएका निजी गाडी। यी तस्करहरूले यस्ता गाडीमा सरकारी नम्बर राखेका छन्।


सुमन सुस्केरा
माघ २९, २०८१ मंगलबार ११:५७, विराटनगर

घटना १- झापाको कनकाई नगरपालिका–४ बाट लागुऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा दुई जनालाई गोली हानेर नियन्त्रणमा लियो। माघ २२ गते बेलुकी भएको यो घटनामा बीआर ३७ ए ८४९८ नम्बरको मोटरसाइकलमा रहेका उनीहरू भागेपछि प्रहरीले गोली हानेको थियो। खुट्टामा गोली लागेपछि पक्राउ परेका चालक भारत बिहारका २८ वर्षीय अन्जर आलम हुन्। मोटरसाइकलको पछाडि बस्ने उनका भाइ १९ वर्षीय युसुब आलमलाई पनि पक्राउ परेका छन्। उनीहरूको साथबाट प्रहरीले ३० ग्राम ६९० मिलिग्राम ब्राउन सुगर फेला पारेको जनाएको छ। 

घटना २- सुनसरीको धरान उप–महानगरपालिका–१७ बाट गाँजा बोकेको कार प्रहरीले नियन्त्रण लियो। प्रहरीका अनुसार माघ २३ गते बिहान ५ बजेको त्यो घटनालाई हेर्दा गाँजा ओसारपसारमा कार नै प्रयोग भएको देखिन्छ। सर्दु खोलाको पुलनजिक चालक नभएको अवस्थामा रोकी राखेको बा.९च १७६८ नम्बरको कारबाट १०१ किलो गाँजा बरामद गरिएको हो।

घटना ३-  २१ गते बिहान  धरान उप–महानगरपालिका–६ पानमारा जङ्गलबाट एउटा कार प्रहरीले नियन्त्रणमा लियो। बा १५ च ७६३३ नम्बरको कार ४१० किलो गाँजा बरामद गरेका थियो।  त्यही दिन राति हरिनगर गाउँपालिका– ६ मा सुटकेसभित्र राखेको १९ किलो गाँजा प्रहरीले बरामद गर्‍यो। ओसारपसारमा संलग्न भने भेटिएनन्।

घटना ४- सुनसरीमा माघ २४ गते गाँजा बोकेका एउटा नेपाली र एउटा भारतीय नम्बर प्लेटको गाडी प्रहरीले नियन्त्रणमा लियो। रातिको समयमा भारतीय नम्बरको एचआर ७० इ९५०२ नम्बरको स्कारपिओ गाडी रोक्न खोज्दा नरोकी भागेपछि देवानगंज–७ बाट प्रहरीले नियन्त्रणमा लियो ।  भाग्दै गर्दा सडकभन्दा १० फिट तल झरेर दुर्घटना भएपछि मात्रै प्रहरीले नियन्त्रणमा लिन सफल भयो। प्रहरीले उक्त स्कारपियोबाट १० बोरा गाँजा बरामद गर्‍यो ।

सोही दिन इटहरी उपमहानगरपालिका–१७ बाट  बा. २ च ३४६५ नम्बरको गाडीमा ८ पोका अर्थात् २ सय ३० किलो गाँजा बरामद  गर्‍यो । सुनसरीकै कोसी गाउँपालिका–३ मा नेपाल भारत सीमा नजिक २ वटा बोरामा ४६ किलो ५६० ग्राम गाँजा बरामद गरेको थियो ।

यी त केही उदाहरण हुन्, अहिले हरेक दिनजसो कोसी प्रदेशका विभिन्न जिल्लामा लागुऔषध तथा गाँजासहित ओपारपोसारमा संलग्नहरू पक्राउ परिरहेका छन्। हरेक दिन जसो गाँजालगायत लागुऔषध बरामद भए पनि यो कहाँ लगिँदैछ भन्ने खुलेको छैन।  

तस्करीसँगै पक्राउ बढ्यो

पछिल्लो ३ वर्षमा गाँजा ओसारपोसारमा पक्राउ हुने दर बढेको छ। २०७८/०७९ मा २ हजार २१ किलो गाँजा बरामद गरेको प्रहरीले २०७९।०८० मा ५ हजार ८१५ किलो, २०८०।८१ मा १० हजार ४२० किलो गाँजा बरामद गर्दा चालु आर्थिक वर्षको साउनदेखि माघ २३ गतेसम्म ९ हजार ३८३ किलो गाँजा बरामद गरिसकेको तथ्यांक छ। 

कात्तिक, मङ्सिर, पुस र माघ २३ गतेसम्म ३ हजार ३३९ किलो गाँजा बरामद कोसी प्रदेशका विभिन्न जिल्लाहरूबाट बरामद भएको कोसी प्रदेश प्रहरी कार्यालय कोसीका प्रवक्ता भीम दाहालले जानकारी दिए। 

चालु आर्थिक वर्षको यो अवधिमा ५८९ जना लागुऔषध कारोबारीविरुद्ध मुद्दा चलाइएको प्रहरी तथ्यांक छ।  

आर्थिक वर्ष २०७८।०७९ मा ११२६ लागुऔषध प्रयोगकर्ता पक्राउ परेका थिए।  २०७९।०८० मा संख्या बढेर ११५७ जना पुग्यो। २०८०।०८१ मा आइपुग्दा १५८६ जनालाई प्रहरीले पक्राउ गर्दा चालु आर्थिक वर्षको साउनदेखि माघ २३ गतेसम्म १०९० जना पक्राउ परिसकेका छन्। उनीहरूविरुद्ध अनुसन्धान र मुद्दाको प्रक्रिया जारी छ।  

प्रहरीले गाँजासँगै, चरेस, अफिम, ब्राउन सुगर तथा विभिन्न औषधि कारोबारीलाई पक्राउ गरिरहेको छ। हरेक दिन झापा, मोरङ र सुनसरीका सीमा नाकाबाट यस्ता व्यक्तिहरू पक्राउ पर्ने गरेका छन्। 

गाँजाको पक्राउ हुने दरलाई हेर्ने हो भने धरान आसपासमा बढी भएको देखिन्छ।  अधिकांश भारतीय व्यापारीहरूको मागको आधारमा तस्करी हुने गरेको प्रहरी अनुसन्धानमा खटिएका अधिकारी बताउँछन्।  

पक्राउ परेकाहरूले त्यस्ता व्यापारीहरू को हुन् भनेर खुलाउन मान्दैनन्। धरानका डिएसपी प्रकाश जवेगुले तस्करहरूले नक्कली सरकारी गाडीको नम्बर प्रयोग गरेर, रातिको समयमा,एम्बुलेन्स, ट्रकहरूमा, तरकारी बोक्ने गाडीसमेत प्रयोग हुने गरेको बताए। सूचनाको आधारमा, आकस्मिक जाँचको क्रममा गाँजा पक्राउ पर्ने गरेको उनको भनाइ छ।
 
सुनसरी प्रहरीका अनुसार सुनसरीबाट मात्रै  पछिल्लो ३ वर्षमा ठूलो परिमाणमा गाँजा बरामद भएको देखिन्छ। आर्थिक वर्ष २०७९।०८० मा २ हजार ४९ किलोग्राम बरामद गरेको थियो भने २०८०।०८१ मा ५ हजार १४ किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।  

त्यस्तै चालु आर्थिक वर्षको साउनदेखि माघ २६ सम्म २ हजार ९ सय ४७ किलोग्राम गाँजा बरामद भएको तथ्याङ्कमा देखिएको छ। सुनसरीबाट एक महिनामा एक ठाउँमा गोली चलेको छ भने ४ वटा गाडी नियन्त्रणमा लिइएको छ।

मङ्सिर १८ गते ६९० किला गाँजा नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनु परेको थियो। धरानको सर्दु पुलमा बा ९ च १७६८ नम्बरको कार, पानमारा जङ्गलबाट बा १५ च ७६३३ नम्बरको कार नियन्त्रणमा लिएको छ। 

त्यस्तै देवानगञ्जबाट भारतीय नम्बरको एचआर ७० इ ९५०२ नम्बरको स्कारपियो गाडी प्रहरीले नियन्त्रणमा लिएका हुन्। इटहरीको कान्छिचोकबाट बा २ च ३४६५ नम्बरको टाटा सफारी गाडिबाट गाँजा नियन्त्रणमा लिएको थियो। 

पुस १ गते पनि प्रहरीले ३६ किलो गाँजासहित एक भारतीय नम्बरको गाडी नियन्त्रणमा लिएको थियो। पुस र माघ महिनामा प्रहरीले १० वटा गाडीहरू गाँजा सहित सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ। 

निजी गाडीलाई सरकारी बनाएर तस्करी

गाँजा तस्करहरूको ठुलो सञ्जाल रहेको सूचना प्रहरमा पनि देखिन्छ। ट्याम्पो, ट्रक, सिटी सफारी, एम्बुलेन्स तथा कारहरूमा गाँजाको ओसारपसार भएको मात्र  छैन  निजी गाडीलाई सरकारी नम्बर हालेर पनि तस्करी भइरहेको प्रहरीको तथ्याङ्क छ। 

मङ्सिर १८ गते साँझ धनकुटाबाट धरान तर्फ आउँदै गरेको बा १ झ ५१२७ र बा १ झ ४६०५ नम्बरको सरकारी नम्बर प्लेट लगाएको दुई वटा गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। 

लागुऔषध गाँजाको तस्करी भइरहेको जानकारीका आधारमा धरान उप–महानगरपालिका १३ अमरहाट त्रिवेणी चौकबाट ती गाडीबाट ६९० किलो गाँजा बरामद भएको तथ्याङ्कमा देखिन्छ।

प्रहरीले मोरङमा मात्रै कात्तिकमा ११३ किलो, मङ्सिरमा ७५ किलो, पुसमा ३१५  किलो गरी ५०३ किलो गाँजा नियन्त्रणमा लिएको जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad