कोशी


देवानगन्ज घटना: कहाँ छन् गोली लागेका नौ जना घाइते?

देवानगन्ज घटना: कहाँ छन् गोली लागेका नौ जना घाइते?

नेपालखबर
साउन १२, २०८३ मंगलबार १९:२४, विराटनगर

सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा डिजे बजाउने विषयमा भएको विवादपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर घाइते भएका ९ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। गोली लागेका घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था मध्यम रहेको छ।

झडपपछि प्रहरीको गोली प्रहारबाट घाइते भएका देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको पेटमा गोली लागेको छ गम्भीर अवस्थामा अस्पताल पुगेका उनको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ। उनको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

त्यसैगरी, विराट नर्सिङ होममा उपचाररत देवानगन्ज–३ का २१ वर्षीय रवीन्द्र मेहताको बायाँ तिघ्रामा गोली लागेको छ भने उनको अवस्था पनि गम्भीर भएपछि अहिले सुधार उन्मुख रहेको जनाएको छ।

अस्पतालको तथ्याङ्क अनुसार गोली लागेका अन्य घाइतेहरूमा देवानगन्ज–३ का सुनिलकुमार मेहताको बायाँ घुँडामा र अर्का सुनिलकुमार मेहताको बायाँ कुहिनोमा गोली लागेको छ। यस्तै देवानगन्ज–३ का अमित कुमार यादवको बायाँ हात र कोखमा गोली लागेको छ।

उनीहरूको विराट नर्सिङ होममा उपचार भइरहेको छ।

न्युरो अस्पतालमा उपचाररत अमलेश मेहताको बायाँ काँधमा, मिथिलेश मेहताको बायाँ कोखमा र मिथिलेश यादवको बायाँ कोखमा गोली लागेको छ। यी सबै घाइतेहरूको अवस्था मध्यम रहेको छ।

त्यस्तै नोबेल अस्पतालमा भर्ना भएका अर्का अमित कुमार यादवको कम्मरमा गोली लागेको छ र उनको अवस्था पनि मध्यम रहेको छ।

आइतबार राति साउने सोमबारको बोल बम यात्राका लागि सप्तकोसी नदीमा जल लिन जाने क्रममा युवाहरूले ठुलो आवाजमा डिजे बजाएपछि विवादको सुरुवात भएको थियो।

रातिको समयमा होहल्ला गरेको भन्दै अर्को समूहले विरोध गरेपछि दुवै पक्षबिच भनाभन र ठेलाठेल भएको थियो। त्यसपछि गाउँका दुवै पक्षका व्यक्तिहरू चिर्पट, ढुङ्गा, बाँस, लाठी र भालाजस्ता घरेलु हतियार बोकेर झडपमा उत्रेका थिए।

तनावग्रस्त स्थिति साम्य पार्न पुगेको प्रहरी टोलीमाथि नै दुवै पक्षबाट ढुंगामुढा प्रहार भएको थियो। स्थानीयको आक्रमणबाट इलाका प्रहरी कार्यालय देवानगन्जका इन्स्पेक्टर राकेश राईसहित नेपाल प्रहरीका ८ जना र सशस्त्र प्रहरीका डिएसपी सहित ५ जना घाइते भएका छन्। सुरक्षाकर्मीहरु उपचार पछि फर्किएका छन् । 

स्थिति नियन्त्रण बाहिर गएपछि प्रहरी र सशस्त्र प्रहरीले अश्रुग्यास र हवाई फायर गरेका थिए। उग्र भिड शान्त नभएपछि प्रहरीले चलाएको गोली लागेर देवानगन्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ।

गोली लागेर गम्भीर घाइते भएका मेहतालाई न्युरो अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए। घटनामा कुल २२ जना घाइते भएका छन्।

स्वास्थ्य मन्त्री अस्पतालमा
सुनसरीको देवानगन्जमा भएको हिंसात्मक घटनामा घाइते भई विराटनगरका विभिन्न अस्पतालमा उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता मङ्गलवार अस्पताल पुगेकी छन्।

मन्त्री मेहताले विराटनगरस्थित नोबेल शिक्षण अस्पताल, विराट मेडिकल कलेज शिक्षण अस्पताल र न्युरो अस्पताल पुगेर घाइतेहरूको उपचारका बारेमा जानकारी लिएकी हुन्।

उनले अस्पतालका चिकित्सक र प्रशासनसँग छुट्टाछुट्टै छलफल गर्दै उपचारमा कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिइन्। घाइते र उनीहरूका परिवारसँगको भेटका क्रममा मन्त्री मेहताले सरकार पीडितको उपचार र सुरक्षाप्रति संवेदनशील रहेको बताइन्। 

मन्त्री मेहताले घाइतेहरूको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूसँग विस्तृत विवरण लिँदै उपचार प्रक्रियालाई प्रभावकारी बनाउन र कुनै समस्या भए तत्काल मन्त्रालयमा जानकारी गराउन समेत आग्रह गरिन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad