कोशी


देवानगन्जका प्रहरी निरीक्षक पनि जिम्मेवारीबाट हटाइए

देवानगन्जका प्रहरी निरीक्षक पनि जिम्मेवारीबाट हटाइए

नेपालखबर
साउन १२, २०८३ मंगलबार १९:४७, विराटनगर

सुनसरीको देवानगन्जस्थित इलाका प्रहरी कार्यालयका प्रमुख एवं इन्स्पेक्टर राकेश राई पनि जिम्मेवारीबाट हटाइएका छन्।

राई देवानगन्ज गाउँपालिका-३, कप्तानगन्जमा आइतबार राति आक्रमणमा परेर घाइते भएका प्रहरी अधिकृत हुन्।

राईलाई मंगलबार जिम्मेवारीबाट हटाउँदै उनको ठाउँमा जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत इन्स्पेक्टर प्रकाश पराजुलीलाई पठाइएको डीएसपी चन्द्रबहादुर खड्काले बताए।

खड्काका अनुसार काजमा पठाइएका पराजुलीले मंगलबारनै इलाका प्रहरी कार्यालय देवानगन्जमा प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्। राईलाई भने देवानगन्जबाट सुनसरीको दुहबीस्थित नेपाल प्रहरी विशेष सुरक्षा गणमा खटाइएको छ।

कप्तानगन्जमा आइतबार राति दुई पक्षबीच विवाद र झडपको अवस्था उत्पन्न भएपछि राई प्रहरी टोली लिएर घटनास्थल पुगेका थिए।

त्यही क्रममा सम्झाइबुझाइ गर्दै गर्दा उत्तेजित भिडले ढुंगामुढा गर्दा उनको टाउकोमा चोट लागेको थियो। ढुंगाले टाउकोमा लागेर घाइते भएका उनको टाउकोमा पाँचवटा टाँका लगाइएको छ।

आफूमाथि एक्कासि ढुंगा प्रहार भएपछि इन्स्पेक्टर राईले साथमा भएको पेस्तोलबाट तीन राउण्ड हवाई फायर गरेका थिए। राईले हवाई फायर गर्नासाथ सशस्त्र प्रहरीले पनि गोली चलाउन थालेको थियो।

सशस्त्र प्रहरीको गोली लागेर देवानगन्ज गाउँपालिका-४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ। गोली लागेर अन्य नौ जना युवा घाइते भएका छन्।

सुरक्षाकर्मीसहित घाइते हुनेको संख्या २२ भन्दा बढी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad