मोरङको विराटनगर महानगरपालिका–१८ भेडियारीस्थित पोखरीमा डुबेर एक युवक बेपत्ता भएका छन्। अवैध गाँजासहितको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार रहेका विराटनगर–१८ का मञ्जितकुमार यादव प्रहरीबाट बच्न भाग्ने क्रममा स्थानीय पोखरीमा डुबेर बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालले बुधबार बीआर ५० एएल ३६८७ नम्बरको मोटरसाइकललाई प्रहरी टोलीले रोक्न खोज्दा चालक मञ्जित मोटरसाइकल र अवैध सामान छाडेर भागेकोर पोखरीमा नै बेपत्ता भएको हुनसक्ने अनुमान गरिएको जानकारी दिए।
तीव्र गतिमा भाग्ने क्रममा उनी नजिकैको पोखरीमा पसेको र त्यसपछि बाहिर ननिस्किएर बेपत्ता भएको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दाले उनलाई पोखरीमा डुबेको देखेको बताएपछि प्रहरीले सोही आधारमा खोजी कार्यलाई तीव्र पारेको छ।
बेपत्ता यादवको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा परिचालन गरिएको छ भने भोलि बिहानैदेखि विशेष गोताखोरको टोली समेत सहभागी गराई खोजीलाई निरन्तरता दिइने एसपी कटुवालले बताए।
प्रहरीले सोही मोटरसाइकलको पछाडि सवार रहेका एक भारतीय नागरिकलाई भने अवैध गाँजासहित घटनास्थलबाटै नियन्त्रणमा लिन सफल भएको छ। पक्राउ पर्नेमा भारतको सुपौल जिल्ला गनौरा पञ्चायत–५ का ४१ वर्षीय शिवधर यादव रहेका छन्।
प्रहरीले उनको साथबाट ६ किलो १३० ग्राम प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। प्रहरीले बरामद गरेको गाँजा र मोटरसाइकलसहित पक्राउ परेका शिवधरलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर लागुऔषध ओसारपसार ऐन अन्तर्गत थप अनुसन्धान अघि बढाएको छ।
Shares

प्रतिक्रिया