हङकङबाट पानीटार चिनाउँदै ‘इलाम’

हङकङबाट पानीटार चिनाउँदै ‘इलाम’

नेपालखबर
जेठ १८, २०८३ सोमबार १६:३०, काठमाडौँ

इलाम समाज हङकङले संस्था २५औं वर्ष पुगेको अवसरमा ‘इलाम’ स्मारिकाको तेस्रो अंकलाई रजत जयन्ती विशेषांक बनाएको छ।

यो विशेषांकमा गृहजिल्लास्थित पानीटारलाई चिया पर्यटनको नयाँ गन्तव्यका रूपमा प्रमुख प्राथमिकताका साथ समेटिएको छ। उक्त चिया बगान जिल्ला सदरमुकामबाट पश्चिमी नगरपालिका देउमाई वडा नम्बर-३ मा अवस्थित छ।

हङकङमा स्मारिका विमोचन कार्यक्रमका सहभागीले कभर तस्बिर हेरेर यति सुन्दर यो कुन ठाउँ हो भनी जिज्ञासा राखेको समाजका अध्यक्ष वसन्त राई (विपिन) बताउँछन्। ‘उहाँहरूले सधैँ फिक्कल र अन्तु वरिपरि मात्र हेरिरहेकोमा अलिक फरक फोटो देख्नुभएछ’, सम्पादकसमेत रहेका राईले हालै काठमाडौँमा स्मारिका सार्वजनिक समारोहमा भने, ‘यति राम्रो अर्को पनि ठाउँ रहेछ है भन्नुभएपछि खुसी लाग्यो।’ फिक्कल र कन्यामभन्दा पनि सुन्दर अर्को ठाउँ रहेछ भनी प्रचार भएको उनले सुनाए।

सल्लाहकार सम्पादक सचित राईले काठमाडौँबाट पानीटारको कभर तस्बिर पाउन आफूले निकै मेहनत गर्नुपरेको सुनाए। ‘मलाई पछिल्लो समय पानीटारले तानिरहेकै थियो,’ उनले भने, ‘वसन्त दाइले यसपटक पानीटारलाई समेटौँ भन्नुभएपछि म त्यतैतिर तानिरहने भएँ। मलाई यसमा कभर स्टोरी चाहिन्छ भन्ने भएको थियो। त्यही हिसाबले कभर बनाउन मैले ठूलो मेहनत गरेको छु।’ यो ठाउँमा चिया पर्यटन प्रवर्धन गर्दा इलाम पूर्व र पश्चिम जोड्न सकिने उनको भनाइ थियो।

उनका अनुसार विशेषांकमा इलामका १३ प्रेरक युवाका अन्तर्वार्ता समेटिएको छ। ती युवामा प्रतिनिधि सभा सदस्यद्वय निश्कल राई र सुहाङ नेम्बाङसहित फुटबलर अञ्जिला तुम्बापो सुब्बा, २४ वर्षमा वडाध्यक्ष निर्वाचित उर्गेन बम्जन, गायक एकदेव लिम्बू, रंगकर्मी चेतन आङ्थुपो, उसुमा स्वर्ण पदक विजेता जुनी राई, लेखक तारा राई, फुटबलर नवयुग श्रेष्ठ, २२ वर्षमा वडाध्यक्ष निर्वाचित बबिन राई, पत्रकार/लेखक वसन्त बस्नेत, दी भ्वाइस अफ नेपालका विजेता विनोद राई र गायिका सुनीता थेगिम छन्।

यस्तै प्रतिनिधि सभा सदस्य राई, समाजका सल्लाहकार गणेश पराजुली, सल्लाहकार सम्पादक राई र प्रगतिशील लेखक संघका अध्यक्ष डा. देवी क्षेत्री दुलालका आलेख समेटिएका छन्। साहित्यतर्फ दीपा एवाई, डोम राना, बालिका बान्तावा, सुरेन्द्र योङ्याका सिर्जना संग्रहित छन्। यस्तै, हङकङमा इलामका प्रतिभादेखि संस्थाका मुख्य–मुख्य गतिविधिलगायत सामग्री छन्।

संस्थाका अध्यक्ष वसन्त राई (विपिन), वरिष्ठ पत्रकारहरू धर्म गौतम, विष्णु निष्ठुरी, विष्णुप्रसाद गौतम, गायक तथा संगीतकार गणेश पराजुली, गायक रोशन गुरुङ, इलाम कलाकार समाजका सचिव थिरज राईलगायतले हालै यो स्मारिका काठमाडौँमा सार्वजनिक गरेका हुन्।

यसअघि प्रतिनिधि सभा सदस्य निश्कल राई, लेखक/पत्रकार वसन्त बस्नेत र साहित्यकार प्रकाश थाम्सुहाङले इलाम जिल्ला सदरमुकाममा आयोजित इलाम साहित्य महोत्सवमा लोकार्पण गरेका थिए।  

समाजका अध्यक्ष राईले आफ्नो ठाउँ सम्झिने र सामाजिक कार्यमा जोडिने सन्दर्भमा एउटा माध्यम बनाउने भनेर इलाम समाज गठन गरिएको स्मरण गरे। यो संस्था गृहजिल्लाको विपद् पीडितलाई साथ–सहयोग, इलामका प्रतिभालाई प्रोत्साहन/सम्मानका साथै पर्यटन प्रवर्धनलगायत गतिविधिमा जोडिँदै आएको छ।

पुराना राजनीतिज्ञसमेत रहेका धर्म गौतमले विद्यार्थीकालमै राजनीतिक कारणले इलाम मात्र होइन देशै छाड्नुपरेको स्मरण गरे। ‘आफ्नो देश, आफ्नो जिल्ला जाऊँ लाग्दा पनि जान नपाइने, आउन नपाइने किनभने गर्धनै जाला कि भन्नेजस्तो अवस्था थियो’, उनले भने, ‘जन्मथलोसँग त्यसै पनि भावनात्मक सम्बन्ध हुने नै भयो। प्राकृतिक हिसाबले पनि अत्यन्तै सुन्दर ठाउँ इलाम। त्यसकारण इलामलाई नछोडूँजस्तो लाग्ने। के गर्न सकिन्छ इलामकै लागि गरौँ भन्ने हिसाबले इलाममा काम गर्‍यौं।’ २०६४/६५ सालतिर इलामको पर्यटन विकास गुरुयोजना बनाएको उनको भनाइ थियो। 

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षसमेत रहेका विष्णु निष्ठुरीले इलामेली सांगीतिक अवस्थाको चित्रण गर्दै अहिले त ‘एक्स्ट्रा’ काम गर्दा एआई भन्न थालिएको बताए।

सर्जक सबैले सावधान रहनुपर्ने परिस्थिति सिर्जना भएको उनको भनाइ थियो। गायकद्वय रोशन गुरुङ र थिरज राईले यो संस्थाले हङकङमा इलामेली प्रतिभालाई ‘प्लेटफर्म’ उपलब्ध गराएर परिचित गराउने कार्य गरिरहेको बताए।

समाजका अध्यक्ष राईले इलाम कलाकार समाजलाई उक्त कार्यक्रममा आर्थिक सहयोग प्रदान गरेका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .